आगलागीबाट विभिन्न धनमाल क्षति

काठमाडौं, २९ पुस
काठमाडौंको स्वयम्भू मन्दिर परिसरमा रहेको भजन मण्डपमा शुक्रबार आगलागी हुँदा भजन मण्डपका सामान, कुर्सी र हस्तकलाका सामान जलेर करीव २८ लाख ८७ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीय समेतको सहयोगमा आगो नियन्त्रणमा आएको छ ।
सोलुखुम्बु : दुधकोशी गाउँपालिका–६ स्थित दानबहादुर राईको घरमा शनिबार चुल्होबाट आगलागी हुँदा घर, भाडावर्तन, लत्ताकपडा, अन्नपात जलेर करीव ३ लाख ६५ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । प्रहरी चौकी वाकुको प्रहरी टोली र स्थानियबासीको सहयोगमा आगो नियन्त्रणमा आएको छ ।
तनहुँ : घिरिङ गाउँपालिका–४ बस्ने कृष्णबहादुर थापाको कच्ची घरमा शनिबार आगलागी हुँदा करीव २ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।
काभ्रे : बनेपा नगरपालिका–३ बस्ने राजाराम बजगाईको घरमा शुक्रबार आगलागी हुँदा लत्ताकपडा, अन्नपात लगायतका सरसामान जलेर करीव ५ लाख ७० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
भोजपुर : पौवादुङमा गाउँपालिका–५ सानोदुम्मा बस्ने ७२ वर्षीय दानबहादुर कटवालको कच्ची घरमा शुक्रबार आगलागी हुँदा घर, ३ चौपाय, भाँडावर्तन, अन्नपात जलेर करीव ३ लाख ९३ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।
यसैगरी भोजपुरकै ट्याम्के मयुम गाउँपालिका–३ बस्ने ५० वर्षीय हर्कबहादुर अधिकारीको भान्सामा शुक्रबार चुल्होबाट आगलागी हुँदा आगो निभाउने क्रममा निज अधिकारी जलेर घाइते भएकोले उपचारको लागि प्राथमिक स्वास्थ केन्द्र अन्नपुर्ण भोजपुर लगिएको र अबस्था बोल्न सक्ने रहेको छ । साथै आगलागीबाट भान्साघर, ११ वटा चौपाय, ८ कुखुरा जलेर करीव ५ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
तेह्रथुम : फेदाप गाउँपालिका–३ स्थित ढाडेरानी सामुदायिक बनमा शुक्रबार आगलागी हुँदा उक्त बन नजिकै रहेको लालबहादुर तामाङको घर, लत्ताकपडा, अन्नपात र भाँडाबर्तन जलेर करीव ९ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । प्रहरी चौकी पोक्लाबुङको प्रहरी टोली र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।
म्याग्दी : धवलागिरी गाउँपालिका–४ मुदी बस्ने अम्मरलाल पुनको कच्ची घरमा उनकै छोरीले चिया पकाउने क्रममा बिहीबार आगलागी हुँदा घर, गोठ र ३ चौपाय जलेर करीव ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।
महोत्तरी : बर्दिबास नगरपालिका–१ औरहीस्थित प्रमोद चौधरीको पन्चधुरा सेल्स एण्ड सप्लायर्स कपडा पसलमा शुक्रबार धुपबाट आगलागी हुँदा करीव १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ । ईलाका प्रहरी कार्यालय बर्दिबासको प्रहरी टोली, सशस्त्र प्रहरी बलको टोली र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।
धनुषा : औरही गाउँपालिका–३ कपटोल बस्ने गणेश मण्डलको घरमा खाना पकाउने क्रममा शुक्रबार आगलागी हुँदा गणेशको छोरा २८ वर्षीय सहन्सा मण्डल र उनको छोरा ३ वर्षीय सोनु मण्डल जलेर सामान्य घाइते भएकोले स्थानिय मेडिकलमा उपचार भइरहेको छ । आगलागीबाट काठपात, अन्नपात र लत्ताकपडा जलेर करीव ३ लाख ८० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । ईलाका प्रहरी कार्यालय औरहीको प्रहरी टोली र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।
सप्तरी : रुपनि गाउँपालिका–१ रायपुर बस्ने राजु यादवको गाईगोठमा शनिबार घुरबाट आगलागी हुँदा घर, गोठ, नगद, काठपात, अन्नपात, लत्ताकपडा गरी जम्मा करीव ५ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । प्रहरी टोली, बारुणयन्त्र र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।
यसैगरी सप्तरीकै बेल्हीचपेना गाउँपालिका–३ बस्ने ठकाई साहको गुहालीघरमा शनिबार घुरबाट आगलागी हुँदा गाईगोठ, काठपात, अन्नपात, लत्ताकपडा जलेर करीव २ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । ईलाका प्रहरी कार्यालय पातोको प्रहरी टोली र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।