सवारी दुर्घटनामा मृत्यु

काठमाडौं,३० पुस
स्याङ्जा : चापाकोट नगरपालिका–९ गहतरास्थित सडकमा लु.३ त २१४२ नम्बरको ट्याक्टरको ट्रलीबाट सोही ठाउँ बस्ने ३५ वर्षीय लभदिप शाही सडकमा खस्न गई शनिबार घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कपिलवस्तु : कपिलवस्तु नगरपालिका–२ स्थित भैरहवा–तौलिहवा सडकखण्डमा लु.३२ प ५८१४ नम्बरको मोटरसाइकल र लु.२ त २७२७ नम्बरको ट्याक्टर आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक रुपन्देही कमहरिया–४ बस्ने २५ वर्षीय रामबोध केवटको गम्भीर घाईते भएकाले उपचारको लागि जिल्ला अस्पताल लैजाने क्रममा शनिबार बाटोमै मृत्यु भएको छ । दुवै सवारी साधन र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दैलेख : दुल्लु नगरपालिका–४ शान्तिबजारस्थित सडकमा लु.१ च ९५०७ नम्बरको जिपले ठक्कर दिंदा सोही ठाउँ बस्ने नगेन्द्रबहादुर थापाको ५ वर्षीया छोरी करिश्मा थापा गम्भीर घाइते भएकीले दुल्लु अस्पत्ताल पठाएकोमा उपचारको क्रममा शनिबार मृत्यु भएको छ । जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिन्धुपाल्चोक : चौतारा साँगाचोकगढी नगरपालिका–५ स्थित सडकमा बा.४ ख २९६० नम्बरको गिट्टी लोड गरेको मिनि ट्रक सडकबाट करीब १ सय मिटर तल खसेर दुर्घटना हुँदा चालक र सहचालक गम्भीर घाईते भएकाले जिल्ला अस्पताल पठाएकोमा उपचारको क्रममा दुबै जनाको गएराति मृत्यु भएको छ ।
तनहुँ : ब्यास नगरपालिका–२ बुल्दीपुल स्थित पृथ्वी राजमार्गमा हाल नम्बर नखुलेको सवारी साधनले सोही ठाउँ बस्ने पैदलयात्री ४६ वर्षीय नारायण न्यौपानेलाई ठक्कर दिँदा गम्भीर घाइते भएकाले दमौली अस्पताल पठाएकोमा उपचारको क्रममा शनिबार मृत्यु भएको छ । ठक्कर दिने सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा स्थानिय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।