सवारी दुर्घटनामा मृत्यु तथा घाइते

काठमाडौं, २९ फागुन
चितवन : ईच्छाकामना गाउँपालिका–३ चुम्लिङटारस्थित पृथ्वी राजमार्गमा बा.१२ च ४६१५ नम्बरको कार सोमबार आफै अनियन्त्रित भई सडक छेउको नालीमा पल्टँदा कार चालक धादिङ थाक्रे गाउँपालिका–३ जुँगेखोला बस्ने २४ वर्षीय अनुप सिंह समेत ४ जना घाइते भएकोमा उपचारको लागि भरतपुरतर्फ लैजाने क्रममा सोही ठाउँ बस्ने २३ वर्षीय सरोज सुबेदीको बाटोमै मृत्यु भएको छ । घाइते ३ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
यसैगरी चितवन ईच्छाकामना गाउँपालिका–६ पाँचकिलोस्थित मुग्लिङ–नारायणघाट सडक खण्डमा केए ०१ एएच २५६९ नम्बरको खाली ग्याँसबुलेट सोमबार सडकबाट करीव २५ मिटर तल त्रिशुली नदीको किनारमा खस्न गई दुर्घटना हुँदा वुलेटका चालकको घटनास्थलमै मृत्यु भएको छ ।
सिराहा : लहान नगरपालिका–३ स्थित पूर्व–पश्चिम राजमार्ग छेउमा रोकी राखेको ना.४ ख ३५० नम्बरको बसमा अनटेष्ट लेखेको मोटरसाइकल सोमबार ठोक्किन जाँदा भएको दुर्घटनामा मोटरसाइकलमा सवार सप्तरी खड्ग नगरपालिका–४ बस्ने २३ वर्षीय टुरा सरदार र २४ वर्षीय नन्दी सरदारको घटनास्थलमै मृत्यु भएको छ । साथै सोही मोटरसाइकलमा सवार सप्तरी खड्ग नगरपालिका–४ बस्ने २२ वर्षीय सन्तोष सरदार र २१ वर्षीय श्याम चौधरी समेत गम्भीर घाइते भएकोले उपचारको लागि सप्तऋषी अस्पताल लहान लगिएकोमा थप उपचारको लागि न्यूरो अस्पताल बिराटनगर रिफर भएका छन् । दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा छन् । हाल फरार रहेका उक्त बसका चालकको खोजी भइरहेको छ ।
यसैगरी सिराहा लहान नगरपालिका–१२ स्थित भोटिया चोकमा हाल नम्बर नखुलेको सवारी साधनले ठक्कर दिई गम्भीर अवस्थामा फेला परेका हाल नाम, थर, वतन नखुलेका करीव ४० वर्षीय पुरुषको उपचारको लागि राउ स्मारक अस्पताल लहानतर्फ लैजानेक्रममा बाटोमै मृत्यु भएको छ । ठक्कर दिने सवारी साधन र चालकको खोजी कार्य भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।