सवारी दुर्घटनामा मृत्यु तथा घाइते

काठमाडौं, २९ फागुन
कपिलवस्तु : बाणगंगा नगरपालिका–२ बुङचीमा हाल नम्बर नखुलेको कारले मंगलबार ठक्कर दिँदा गम्भीर घाइते भएका पैदलयात्री नाम, थर, वतन नखुलेका करीव २० वर्षीय पुरुषको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको छ । ठक्कर दिने कार र चालकको खोजी भइरहेको छ ।
धनकुटा : साँगुरीगढी गाउँपालिका–६ स्थित कोशी राजमार्गमा ना.५ ख १९३६ नम्बरको ट्रक मंगलबार अनियन्त्रित भई दुर्घटना हुँदा सडक बिभागका कर्मचारी सोही ठाउँ बस्ने ४५ वर्षीय रामजीत राई र सोही ठाउँ बस्ने ५५ वर्षीय बीरबहादुर राईको घटनास्थलमै मृत्यु भएको छ । ट्रक चालक रामेछाप मन्थली–७ बस्ने ४५ वर्षीय दिपकुमार लामा समेत ५ जना घाइते भएकोले उपचारको लागि धरान बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपातर्फ पठाइएको छ ।
महोत्तरी : बर्दिबास नगरपालिका–१ स्थित सडकमा ना.१ क ७१९० नम्बरको जेसिबीले मंगलबार ठक्कर दिँदा गम्भीर घाइते भएका पैदलयात्री हाल नाम, थर, वतन नखुलेका करीव ७० वर्षीय पुरुषको जिल्ला अस्पताल सिन्धुलीमा उपचारको क्रममा मृत्यु भएको छ । जेसिबी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कंचनपुर : भिमदत्त नगरपालिका–६ बनगाउँमा अनटेष्ट लेखेको अटो मंगलबार बिजुलीको पोलमा ठोक्किदा भएको दुर्घटनामा गम्भीर घाइते भएका अटो चालक भिमदत्त नगरपालिका–१५ गोबरिया बस्ने दिपु खुनाको महाकाली अंचल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।