नक्कली नेपाली नोट सहित ६ जना पक्राउ

काठमाडौं, ३ जेठ
    महानगरिय प्रहरी परिसर काठमाडौंको प्रहरी टोलीले २ करोड ६० लाख ६३ हजार रुपैयाँ नक्कली नेपाली नोट सहित ६ जनालाई पक्राउ गरेको छ ।
    पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१ चारढुङ्गेस्थित प्रिनसेस मुभिज प्रालिका संचालक माधवराज वाग्ले, काठमाडौं कमलपोखरी बस्ने सुर्खेतका २४ वर्षीय महेन्द्र बोगटी, ललितपुर लुभु बस्ने सिन्धुलीका २४ वर्षीय सुजित तामाङ तथा १९ वर्षीय साजन तामाङ, नवज्योती प्रिटिङ प्रेसका संचालक काठमाडौं चावहिल बस्ने धादिङका ३६ वर्षीय प्रकाश सुवेदी र जय भोलेवावा प्रिटिङ प्रेसका संचालक भक्तपुर-८ का ३९ वर्षीय विकेश नापित रहेका छन् ।
    काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित सुमधुर क्याफे तथा खाजाघरबाट महेन्द्र बोगटीले खाजा खाएको बिल तिर्दा नक्कली नोट दिएको भन्ने खाजाघरका संचालकले प्रहरीलाई खबर गरे पश्चात महेन्द्रलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनको साथमा नेपाली नक्कली नोट १ लाख २० हजार बरामद भएको थियो ।      
    पक्राउ परेका महेन्द्रले दिएको सूचनाको आधारमा प्रहरीले सुजित तामाङ र साजन तामाङको कोठामा तलासी गर्दा नेपाली नक्कली नोट ७ लाख ४३ हजार  बरामद भएको हो । यसैक्रममा थप अनुसन्धान गर्दा माधवराज वाग्लेको कोठामा तलासी गर्दा १ हजार दरको नेपाली नक्कली नोट २ करोड ५२ लाख बरामद  भएको हो ।
    साथै काठमाडौं महानगरपालिका बगवजारस्थित नवज्योति प्रिटिङ प्रेसका संचालक प्रकाश सुवेदीले जय भोलेवावा प्रिटिङ प्रेसका संचालक विकेश नापितलाई छाप्न दिएको र उक्त नक्कली नोट विकेशको छापाखानावाट नै छापिएको  खुल्न आएको छ ।
    साथै नक्कली नोट बनाउन प्रयोग गरिएको प्लेट ४ थान नवज्योति प्रिटिङ प्रेसका संचालक प्रकाश सुवेदीको छापाखानाबाट  प्रहरीले बरामद गरेको छ ।
    घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।