पूर्व प्रहरी महानिरीक्षक प्रकाश अर्याल तथा पूर्व वरिष्ठ प्रहरी अधिकृतहरुको सम्मान तथा विदाई कार्यक्रम सम्पन्न

काठमाडौं, २५ साउन
    नेपाल प्रहरीबाट सेवानिबृत्त भएका पूर्व प्रहरी महानिरीक्षक प्रकाश अर्याल, पूर्व प्रहरी अतिरिक्त प्रहरी महानिरीक्षकहरु तथा पूर्व वरिष्ठ प्रहरी अधिकृतहरु लगायत नेपाल प्रहरी श्रीमती संघका पूर्व पदाधिकारीहरुको नेपाल पुलिस क्लव भृकुटीमण्डपमा शुक्रबार आयोजित बिशेष समारोहबीच सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न भएको छ ।
    सो अवसरमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल तथा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती प्रमिला खनालले पूर्व प्रहरी महानिरीक्षक अर्याल, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षकहरु, पूर्व प्रहरी नायव महानिरीक्षकहरु, पूर्व प्रहरी वरिष्ठ उपरीक्षकहरु लगायत सो संघका पूर्व पदाधिकारीहरुलाई सम्मान गर्नुको साथै मायाको चिनो प्रदान गरी विदाई गर्नुभएको हो ।
    सम्मान तथा बिदाई समारोहलाई सम्बोधन गर्दै पूर्व प्रहरी महानिरीक्षक प्रकाश अर्यालले लामो व्यावसायिक यात्राबाट बिश्राम लिई सेवानिवृत्त भएपछिको यस क्षणमा कार्यक्रमको आयोजना गरी आफूहरुलाई हार्दिकतापुर्वक सम्मान दिएकोमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र नेपाल प्रहरी संगठनप्रति हार्दिक आभार प्रकट गर्नुभयो । प्रहरी कार्य विगतको भन्दा निकै चुनौतीपूर्ण बन्दै गएको तथा प्रहरी संगठन आगामी दिनमा सबै प्रकारका चुनौतीको सामना गर्न सफल र सक्षम हुनेमा विश्वस्त रहेको चर्चा गर्दै उहाँले व्यक्तिगत हित भन्दा संगठनको विकास एवं हितप्रति संगठनका सवै सदस्यहरु अग्रसर हुनुपर्नेमा जोड दिनुभयो ।
    समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्ने क्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले तीन दशक लामो अवधिसम्म अविछिन्न रुपमा संगठनमार्फत नेपाल र नेपाली जनताका हितका खातिर आफ्नो जीवनको उर्वर समय, उर्जा तथा सिर्जनशीलता अर्पण गर्नुभएका अग्रजहरुको सम्मानस्वरुप विदाई गर्न पाउँदा खुशी लागेको उल्लेख गर्दै नेपाल प्रहरी संगठनको प्रमुखको हैसियतमा देश र नागरिकको सेवा तथा संगठनको श्रीबृद्धिमा उहाँहरूले पुर्या एको योगदानका लागि हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो ।
    पूर्व प्रहरी महानिरीक्षक अर्यालले संगठनलाई बलियो बनाई नागरिकको सेवा वृद्धिका लागि सेवानिबृत्त प्रहरीहरुसँग एक आपसमा समन्वय एवं भाइचाराको सम्बन्धलाई अझ बलियो बनाउँदै लैजानेमा आफू विश्वस्त रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले संगठनको सुदृढिकरणमा सेवानिबृत्त हुनुभएका प्रहरीहरुको अमूल्य सुझाव एवं मार्गनिर्देशनको अपेक्षा समेत रहेको बताउनुभयो । बिदाई हुने पूर्व प्रहरी महानिरीक्षक अर्याल तथा पूर्व वरिष्ठ अधिकृतहरु लगायत नेपाल प्रहरी श्रीमती संघका पूर्व पदाधिकारीहरुको सुखद पारिवारिक भविष्य र सुस्वाथ्यको कामना समेत उहाँले गर्नुभयो ।
    समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेल, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू समेतको उपस्थिति रहेको थियो ।