यात्रुबस दुर्घटनामा ५ जनाको मृत्यु तथा ४९ जना घाइते

काठमाडौं, २६ असोज
    सिन्धुली र नुवाकोटमा शुक्रबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु तथा ४९ जना घाइते भएका छन् । दुर्घटनामध्ये सिन्धुलीमा ३ जना र नुवाकोटमा २ जनाको मृत्यु भएको छ ।
सिन्धुली सुनकोशी गाउँपालिका-५ मुलकोटस्थित सडकमा सिन्धुली मरिमबाट काठमाडौंतर्फ जाँदै गरेको ना.६ ख ९१२ नम्बरको यात्रुबाहक बस शुक्रबार आफै अनियन्त्रित भई सडकबाट अन्दाजी ५ सय मिटर तल खसेर दुर्घटना हुँदा बसमा सवार सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-८ बस्ने २८ वर्षीय रबि खड्काको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका चालक सहित अन्य ६ जनालाई उपचारको लागि धुलिखेल अस्पतालतर्फ लगिएकोमा उपचारको क्रममा २ जनाको मृत्यु भएको छ ।
नुवाकोट सूर्यगढी गाउँपालिका-५ कल्लेरी भन्ने ठाउँमा मसेरीबाट ढिकुरेतर्फ जाँदै गरेको बा.१ ख ६३५६ नम्बरको यात्रुबाहक बस सडकबाट अन्दाजी १ सय मिटर तल खसी दुर्घटना हुँदा बसमा सवारमध्ये नुवाकोट पन्चकन्या गाउँपालिका-४ थप्रेक बस्ने २८ वर्षीया मिनु तामाङको घटनास्थलमै र हाल वतन नखुलेका अन्दाजी ५६ वर्षीय बलराम तिवारीलाई उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएकामध्ये ३२ जनालाई जिल्ला अस्पताल त्रिशुली, ३ जनालाई सिटी हस्पिटल नुवाकोट र १० जनालाई काठमाडौंतर्फ उपचारको लागि पठाइएको छ ।
    दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।