आगलागीबाट मृत्यु तथा धनमाल क्षती

काठमाडौं, २२ कात्तिक
       सर्लाहीमा आगलागीबाट जलेर १ जनाको मृत्यु भएको छ । साथै सर्लाही, सुनसरी, बारा, पर्सा, उदयपुर, रौतहट, भक्तपुर, काठमाडौं र धनकुटा, बझाङ, खोटाङ र म्याग्दीमा आगलागी हुँदा विभिन्न धनमाल जलेर क्षति भएको छ ।
    सर्लाही ब्रम्हपुरी गाउँपालिका-७ नोकेलवास्थित रामलाल रायको पार्किङ गरी राखेको बी.आर ०६ प २०१८ नम्बरको बोलेरो गाडीमा बुधबार बेलुका आगलागी हुँदा गाडीमा सुतिरहेका उनका १२ वर्षीय छोरा धनिकलाल रायको मृत्यु भएको   छ । आगलागीबाट गाडी जलेर नष्ट भई करिब ५ लाख रुपैयाँ बराबरको धनमाल समेत क्षति भएको छ ।
    यसैगरी सर्लाही हरिपुर्वा नगरपालिका-४ बस्ने राम बिश्वास पण्डित र ईन्दल महतोको ईश्वरपुर नगरपालिका-१५ स्थित उखु खेतमा बिहीबार दिउसो आगलागी हुँदा पण्डितको १८ कठ्ठा र महतोको १२ कठ्ठा जग्गामा लगाएको उखु जलेर करिब ७ लाख रुपैयाँ बराबरको धनमाल  क्षति भएको छ ।  
    साथै सर्लाही गोडैता नगरपालिका बस्ने भरोसी महत्तोको घरमा बुधबार साँझ  मैनबत्तीबाट आगलागी हुँदा घर, भाडावर्तन, अन्नपात लगायत जलेर करिब ७ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
    सुनसरी ईटहरी उपमहानगरपालिका-६ स्थित बिनोद पराजुलीको घरमा बुधबार दिउसो बिजुली सर्ट भई आगलागी हुँदा घर तथा उक्त घरमा रेखा पराजुलीले संचालन गरेको सप्तकोशी कलर ल्याब, सोही ठाउँ बस्ने नेत्रप्रसाद भट्टराईले संचालन गरेको ईलोक्ट्रोनिक पसल, गणेश लुइटेलको घर र किड्स कलेक्सन, तथा सोही घरमा झापा दमक बस्ने महानन्द गुरागाईले संचालन गरेको र्‍यापिड ल्याङवेज एण्ड कम्प्युटर सेन्टर, सोही ठाउँ बस्ने ज्ञानेन्द्र कोईरालाले संचालन गरेको प्रिन्टरको पसल र बिपिन मगरले संचालन गरेको दिप गेट वे मेन पावर समेत जलेर करिब ३ करोड ८८ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको  छ ।  
     बारा कलैया उपमहानगरपालिका-१२ धर्मनगर बस्ने राधा किसुन महतोको घरमा खाना पकाउने क्रममा बुधबार साँझ  आगलागी हुँदा घर र टेण्टका सामानहरु समेत जलेर करिब ६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
    यसैगरी बारा कलैया उपमहानगरपालिका-१३ फलवरीया बस्ने बहादुर साहको घरमा बुधबार साँझ पुजा गर्न बालेको दियोबाट आगलागी हुँदा घर र नगद ५० हजार रुपैयाँ समेत जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
    यसैगरी बारा स्वर्ण गाउँपालिका-१ बगही बस्ने अकल राउतको कच्ची घरमा बुधबार साँझ पुजाको लागि बालेको दियोबाट आगलागी हुँदा घर र सामान जलेर करिब १० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।                    
 यसैगरी बारा बारागढी गाउँपालिका-२ विसनपुर्वा बजारमा रहेको अरुण मेडिकलमा बुधबार साँझ करेन्ट सर्ट भई आगलागी हुँदा करिब ५ लाख ४५ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
    पर्सा वीरगंज महानगरपालिका-१३ स्थित श्यामशरण शर्माको घरमा सोही ठाँउ बस्ने दिपनारायण ठाकुरले संचालन गरेको नौदिप होटलमा बुधबार बेलुका आगलागी हुँदा होटल र घर जली करिब ८ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
    उदयपुर चौदन्डीगढी नगरपालिका-७ हाङबजार बस्ने कृष्णबहादुर बिकको घरमा बुधबार साँझ दिपावलीमा बालिएको बत्तीबाट आगलागी हुँदा घर, अन्नपात, लत्ताकपडा, भडावर्तन लगायत जलेर करिब १२ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
    रौतहट परोहा नगरपालिका-८ बस्ने बिगु ठाकुर सोही ठाउँ बस्ने सिकिन्दर ठाकुर, बिजय ठाकुर र बिरेन्द्र ठाकुरको घरमा बुधबार बेलुका दिपावलीको बत्तीबाट आगलागी हुँदा ४ जनाको गरी करिब २० लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको      छ ।
    साथै रौतहट दुर्गाभगवती गाउँपालिका-२ स्थित सम्भु साहको ग्यारेज, कपाल काटने पसल, साउन्ड सर्भिस र घरमा बुधबार बेलुका दिपावलीको बत्तीले आगलागी हुँदा करिब १० लाख रुपैयाँ मूल्य बराबरको धनमाल क्षति भएको छ ।  
    भक्तपुर मध्यपुरठिमी नगरपालिका-१ लोकन्थली डेरा गरी बस्ने दोलखा वैतेश्वर गाउँपालिका-३ का २५ वर्षीय विनोद ढुङ्गेलको कोठामा बुधबार बेलुका करेण्ट सर्ट भई आगलागी हुँदा करिब १२ लाख ८५ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
    काठमाडौं महानगरपालिका-९ पुरानो बानेश्वरमा खोटाङ हलेसीका ३० वर्षीय शंकर कटुवालले संचालन गरेको न्यु राधा स्टोरमा लक्ष्मीपुजा गरेको दियोबाट आगलागी हुँदा स्टोरमा रहेको खाद्यान्न र मदिरा लगायत जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।  
    धनकुटा नगरपालिका-१ सिजाली गाँउ बस्ने गोर्खबहादुर राईको घरमा बुधबार बेलुका आगलागी हुँदा अन्नपात, लत्ताकपडा, भाडाबर्तन, सुन ३ तोला र नगद ५० हजार रुपैयाँ समेत जलेर करिब ७ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।      
    बझाङ बडीगार्ड गाउँपालिका-१० क्याल्जीङ बस्ने जगबहादुर बिकको घरमा बुधबार बेलुका तिहारको लागि रोटी पकाउने क्रममा आगलागी हुँदा करिब ५ लाख ५५ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
    खोटाङ रावाबेशी गाउँपालिका-१ कुभिण्डे बस्ने टिकाबहादुर मगरको घरमा बुधबार साँझ लक्ष्मीपुजा गर्ने क्रममा आगलागी हुँदा लत्ताकपडा, अन्नपात, भाडावर्तन लगायत जलेर करिब ५ लाख ८० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
    म्याग्दी मंगला गाउँपालिका-३ बंराजाखर्क बस्ने रुद्रबहादुर रोकाको घरमा बुधबार बेलुका लक्ष्मीपुजा गरी बालेको दियोबाट आगलागी हुँदा नगद ७० हजार रुपैयाँ  र अन्य सामानहरु जलेर करिब ११ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ ।
    नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीयबासी र दमकलको समेत सहयोगमा आगो नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।