गोरखा नगरपालिकाको बजार क्षेत्रमा सिसि क्यामेरा जडान

गोरखा, २० मङ्सिर
गोरखा नगरपालिकाको बजार क्षेत्रमा ३९ वटा सिसि क्यामेरा जडान गरिएको छ । जडान गरिएका सिसि क्यामेराहरुलाई  मङ्सिर १७ गते एक कार्यक्रमकाबीच जिल्ला प्रहरी कार्यालय गोरखालाई हस्तान्तरण गरिएको थियो ।
सामुदायिक सेवा केन्द्र गोरखाको आयोजनामा जिल्ला समन्वय समिति गोरखाका प्रमुख अशोककुमार गुरुङको प्रमुख आतित्थ्यता सम्पन्न भएको उक्त कार्यक्रममा बजार क्षेत्रभित्र जडान भएका उक्त सिसि क्यामेराको उद्‌घाटन गरी जडान गरिएको हो ।
गोरखास्थित विभिन्न वित्तिय संघसंस्था, टोल विकास संस्था र अन्य साझेदारी संस्थाहरुको सहयोगमा गोरखा नगरपालिकाका वडा नम्बर ६, ७, ८ को बजार क्षेत्रमा २४ लाख ६० हजारको लागतमा ती सिसि क्यामेरा जडान गरिएको हो ।
जडान गरिएका सिसि क्यामेरा सामुदायिक सेवा केन्द्र गोरखाद्वारा गोरखा नगरपालिकालाई र गोरखा नगरपालिकाद्वारा जिल्ला प्रहरी कार्यालय गोरखालाई हस्तान्तरण गरिएको हो । सिसि क्यामेरा जडानमा सहयोग गर्ने सम्पूर्ण संघसंस्था एवं व्यक्तिहरुलाई कार्यक्रममा प्रशंसापत्र समेत प्रदान गरिएको थियो ।
सोही सामुदायिक सेवा केन्द्रका अध्यक्ष अच्यूतलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा गोरखाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई, गोरखा नगरपालिकाका प्रमुख राजनराज पन्त, ४ नं. प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक दानसिंह बोहोरा, स्थानिय जनप्रतिनिधिहरु, आमनागरिक र संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।