आगलागीबाट मृत्यु तथा धनमाल नष्ट

काठमाडौं,७ माघ
    कैलालीमा आगलागीबाट १ जनाको मृत्यु भएको छ । साथै तेह्रथुममा आगलागीबाट करिब ६ लाख ८० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
    कैलाली धनगढी उपमहानगरपालिका-२ बस्ने ८५ वर्षीया चन्द्रादेवी जैशीको आफ्नै घरको आगँनमा बालेको आगो ताप्ने क्रममा जलेर  मृत्यु भएको छ । शनिबार बिहान कपडामा आगो सल्कन जाँदा गम्भीर घाइते भएकी जैशीलाई स्थानीय अस्पताल हुँदै थप उपचारको लागि कीर्तिपुर मोडेल अस्पताल लैजाने क्रममा आइतबार राति बाटोमै मृत्यु भएको हो ।
    तेह्रथुम आठराई गाउँपालिका-७ स्थितथोक्लुङ बस्ने हस्तबहादुर तामाङको घरमा सोमबार बिहान आगलागी हुँदा घरभित्र रहेको सरसमान जलेर करिब ६ लाख ८० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
    स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।