अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, २८ माघ
    सर्लाही र पर्साबाट अवैध लागूऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
    सर्लाही, लालबन्दी नगरपालिका-१३ सेतीभिर बस्ने २८ वर्षीय हर्कबहादुर ब्लोनलाई अवैध लागूऔषध गाँजा करिब ५ केजी सहित आइतबार दिउसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पत्थरकोटबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध घरमा लुकाईछिपाई राखेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
     पर्सा, बिरगंज नगरपालिका-१६ शंकराचार्य गेटस्थितबाट लागूऔषध चरेश सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरी टोलीले भारततर्फ जाँदै गरेका पैदलयात्री भारत कलकत्ता घर भएको ३८ वर्षीय मोहमद सकिललाई लागूऔषध चरेश ४ केजी र भारत घर भएको २६ वर्षीय मोहमद विशाललाई  लागूऔषध चरेश ६ केजी सहित फेला पारी पक्राउ गरेको हो ।
    यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।