लागूऔषध सहित पक्राउ

काठमाडौं, २८ माघ
    मोरङ विराटनगर महानगरपालिका-१० स्थित सन्सारी माईस्थानबाट  सिन्धुली मरिण गाउँपालिका-४ बस्ने २४ वर्षीय सुरेश माझी र सप्तरी हनुमान नगर कंकालिनी नगरपालिका-१ बस्ने २७ वर्षीय विसुनप्रताप साहलाई नियन्त्रित मनोद्विपक पदार्थ नाइट्राजेपाम ३ हजार ट्याब्लेट सहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।  
    यसैगरी मोरङ विराटनगर महानगरपालिका-१५ स्थित भन्सार कार्यालयको १ नम्बर ढाटबाट तेह्रथुम लालीगुराँस नगरपालिका-२ बस्ने २६ वर्षीय राम गुरुङ र सोही ठाउँ बस्ने २७ वर्षीय पुष्पबहादुर खड्कालाई नियन्त्रित लागूऔषध डाईजेल्याव १८ एम्पुल, फेनारगन १८ एम्पुल, लुपिजेसिक १८ एम्पुल, एभिल ६ एम्पुल, नाईट्रोसन र स्पास्मो प्रोक्सिभन २८ ट्याब्लेट सहित आइतबार प्रहरीले पक्राउ गरेको छ ।  लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यसैगरी मोरङ सुनवर्षी नगरपालिका-१ गिरदलिया बस्ने ५५ वर्षीय रेसुवा मियालाई नियन्त्रित लागूऔषध एस्कफ नामक १ सय एमएल को ८ वटा र स्पास पोक्रन पलस १० पत्ता सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी अमरदहबाट खटिएको प्रहरीले उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
बारा जितपुर सिमरा उपमहानगरपालिका-७ लालकापुलबाट पर्सा, पर्सागढी नगरपालिका-८ बस्ने ३२ वर्षीय शिवकुमार महतो समेत ३ जनालाई अवैध लागूऔषध गाँजा करिब ८ केजी सहित सोमबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।
 ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले ना.६० प ५७६८ नम्बरको  मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।