लुटपाट गरेको अभियोगमा तीन जना पक्राउ

काठमाडौं, ३१ वैशाख २०७७
  काठमाडौंबाट मकवानपुरतर्फ जाँदै गरेको प्रदेश ३-०१-२३ च-११०९ नम्बरको एम्बुलेन्सबाट धनमाल लुटपाट गरेको अभियोगमा ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं चन्द्रागिरि नगरपालिका-४ बस्ने २४ वर्षीय सरोज कामी (वि.सी), ३१ वर्षीय राम भगत शाही र २७ वर्षीय शिव शाही रहेका छन् ।
चन्द्रागिरि नगरपालिका-४ पानिघाटस्थित जंगलमा उनीहरुले उक्त एम्बुलेन्स जबरजस्ती रोकी चालकसँग रहेको धनमाल  लुटपाट गरेको सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
साथै निजहरूले गणेशमान मार्गमा पर्ने चित्लाङ सडकमा तरकारी ढुवानी गर्ने बा.४ ख ९९० नम्बर तथा ग.१च ७६३३ नम्बरको गाडीमा सवार चालकहरूलाई समेत आफूहरू सादा पोशाकका प्रहरी हुँ भनी कुटपिट तथा लुटपाट गरेको अनुसन्धानबाट खुल्न आएको  छ । उनीहरुको साथबाट घटनामा प्रयोग भएको प्रदेश ३-०२-००३ प  ४७७७ र बा.७१ प ६९४५ नम्बरका २ मोटरसाइकल, लुटपाट गरेको नगद ३३ हजार ८ सय ९५ रुपैयाँ र मोबाइल ६ थान प्रहरीले बरामद गरेको छ ।
पक्राउ परेका व्यक्तिहरू उपर चोरी तथा डाँका सम्बन्धि कसुर अन्तर्गत थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।