विभिन्न जातका काठ सहित ४ जना पक्राउ

स्याङजा, २०७७ असार १५ गते
    जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले विभिन्न स्थानबाट खयर तथा सालको काठ सहित ४ जनालाई पक्राउ गरेको छ ।
    पक्राउ पर्नेहरुमा कालिगण्डकी गाउँपालिका-७ आँधिमुहान बस्ने ४५ वर्षीय डोल प्रसाद भट्टराई, चापाकोट नगरपालिका-८ क्वामी बस्ने टोपलाल न्यौपाने, सोही नगरपालिका-२ बस्ने ३७ वर्षीय शिब प्रसाद रेग्मी र चापाकोट नगरपालिका-२ रानिसेरा बस्ने ४० वर्षीय मोहन भन्ने टिकाराम श्रेष्ठ रहेका छन् ।
पक्राउ परेकामध्ये डोल प्रसाद भट्टराईलाई अवैध खयरको काठ ३ सय गोलिया, टोपलाल न्यौपानेलाई उनकै फर्निचर उद्योगबाट ४४ थान गोलिया सालको काठ र उक्त काठ ल्याउने शिब प्रसाद रेग्मी समेतलाई तथा टिकाराम श्रेष्ठलाई सुकेको सालको गोलिया १० थान, सालको चिरान काठ १० थान र बोक्रा सहितको सालको काठ २३ थान गोलिया सहित पक्राउ गरेको हो । डोल प्रसाद भट्टराई, टोपलाल न्यौपाने र शिब प्रसाद रेग्मीलाई शुक्रबार तथा टिकाराम श्रेष्ठलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।
बरामद भएको काठ सहित डोल प्रसाद भट्टराई, टोपलाल न्यौपाने र शिब प्रसाद रेग्मीलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय स्याङजा तथा टिकाराम श्रेष्ठलाई सब डिभिजन बन कार्यालय चापाकोटमा बुझाइएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।