अवैध लागूऔषध सहित पक्राउ

 काठमाडौं, २०७७ साउन १८ गते
    मकवानपुर, थाहा नगरपालिका-९ चित्लाङबाट करिब ३ केजी ८ ग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ सहित ३ जनालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-७ महादेव खर्क बस्ने ३० वर्षीय शुभराज घलान, सोही ठाउँस्थित छाप टोल बस्ने ३३ वर्षीय नारायण सिंह घलान र प्रदेश नम्बर-३ ०३००१ ह ०२५९ नम्बरको अटो चालक रहेका छन् । ईलाका प्रहरी कार्यालय चित्लाङबाट खटिएको प्रहरीले उक्त अटोमा शंका लागि जाँच गर्दा अटोमा सवार शुभराज र नारायणले झोलामा लुकाई छिपाई ल्याउँदै गरेको उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
    यसैगरी मकवानपुर, थाहा नगरपालिका-९ चित्लाङबाट करिब ९ केजी ९ सय ग्राम अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ आइतबार बिहान प्रहरीले बरामद गरेको छ । सो स्थानमा ईलाका प्रहरी कार्यालय चित्लाङबाट खटिएको प्रहरीलाई देखेर २ जना मानिसहरूले आफूसँग भएको झोला फालेर भागेपछि जाँच गर्दा उक्त लागूऔषध प्रहरीले बरामद गरेको हो । हाल फरार व्यक्तिहरुको प्रहरीले खोजी गरिरहेको छ ।
मोरङ, कटहरी गाउँपालिका-१ सिङगिया खोला नजिकबाट करिब ३ केजी अवैध लागूऔषध गाँजा सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा को.२५ प ८०७४ नम्बरको मोटरसाइकल चालक सुनसरी धरान उपमहानगरपालिका-१५ बस्ने ३४ वर्षीय आशिष राई र मोटरसाइकलमा सवार सोही उपमहानगरपालिका-१६ बस्ने २२ वर्षीय संजिव राई रहेका छन् । वडा प्रहरी कार्यालय (ख) हाटखोलाबाट खटिएको प्रहरीले उनीहरुले बोकेको झोला जाँच गर्ने क्रममा लुकाई छिपाई ल्याएको उक्त लागूऔषध गाँजा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
    यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।