अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, २०७७ कात्तिक २ गते
    सप्तरी, अग्निसाईर कृष्णासवरन गाउँपालिका-५ बकधुवास्थित सडकबाट ५० ग्राम ब्राउनसुगर जस्तो देखिने वस्तु सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा तिलाठी कोईलाडी गाउँपालिका-७ बस्ने १९ वर्षीय निरज शर्मा र सोही ठाउँ बस्ने २७ बर्षीय भरत शर्मा रहेका छन् । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले स.७ प १८६५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त बस्तु सहित फेला पारी मोटरसाइकल चालक निरज र मोटरसाइकलमा सवार भरतलाई पक्राउ गरेको हो ।
    सुर्खेत, गुर्भाकोट नगरपालिका-८ भेडावारीस्थित पुल मुनीबाट १ सय २० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ भेडावारी बस्ने २६ वर्षीय रत्न परियारलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । शंकास्पद अवस्थामा बसिरहेको अवस्थामा उनलाई ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त पदार्थ सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
    सिन्धुली, सुनकोशी गाउँपालिका-१ दुम्जाबाट नियन्त्रित लागूऔषध १ हजार ५ सय ट्याब्लेट नाईट्राभेट, ८ सय २५ पिस डाइजेपाम, ९ सय २६ एम्पुल नुर्फिन र ८ सय ६ पिस फेनारगन ईन्जेक्सन सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रौतहट चन्द्रपुर नगरपालिका-३ बस्ने ३१ वर्षीय राजेश राम र सोही ठाउँ बस्ने २९ वर्षीय राम अयोध्या राम रहेका छन् । प्रहरी चौकी कुशेश्वर दुम्जाबाट  खटिएको प्रहरीले बर्दिवासबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ६८१७ नम्बरको सुमो गाडीमा सवार उनीहरुलाई जाँच गर्दा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
    कास्की, पोखरा महानगरपालिका-२६ बिजयपुरबाट नियन्त्रित लागूऔषध ६० एम्पुल डाईजेपाम, ६० एम्पुल फेनारगन र ६० एम्पुल नुर्फिन सहित सोही ठाउँ बस्ने पोखरा महानगरपालिका-२४ घर भएका २९ वर्षीय प्रभात सुबेदीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय हंशपुर शिसुवाबाट खटिएको प्रहरीले उक्त लागूऔषध बोकी हिँडिरहेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो ।
    यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।