अवैध लागूऔषध सहित पक्राउ

कञ्चनपुर, २०७७ पुस २९ गते
  भिमदत्त नगरपालिका-१८ स्थित ५ नम्बर गल्लीबाट १४ ग्राम ४ सय २० मिलीग्राम अवैध लागूऔषध खैरो हेरोईन सहित सोही ठाउँ बस्ने बैतडी दशरथ चन्द नगरपालिका-४ घर भएका २५ वर्षीय नरेश दमाईलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले नरेशलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी कञ्चनपुर बेदकोट नगरपालिका-७ लालपुरस्थित सडकबाट ३ ग्राम २ सय ४० मिलीग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-९ बस्ने ३० वर्षीय भीम बहादुर बिष्ट र २७ वर्षीय हिक्मत देउवा रहेका छन् । म.१ ह १२४३ नम्बरको अटोलाई क्षेत्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा अटोमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।