मानव बेचबिखन कार्यमा संलग्न अभियुक्त पक्राउ

काठमाडौं, २०७७ फागुन ११ गते
 मानव बेचबिखन कार्यमा संलग्न अभियुक्त काठमाडौं चक्रपथ डेरा गरी बस्ने मोरङ कटहरी गाउँपालिका-४ घर भएका ३५ वर्षीय राम कुमार चौधरीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
महिलालाई फकाई प्रलोभनमा पारी श्रीलंका पुर्‍याउने कार्यमा संलग्न रहेका चौधरीलाई प्रहरी प्रधान कार्यालय मानव बेचबिखन अनुसन्धान व्यूरोबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-७ चाबहिल स्तुपा क्षेत्रमा लुकीछिपी बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।
आफ्नै छिमेकी चन्द्र प्रकाश राईले विदेशमा मानिस पठाउने र आकर्षक तलव हुने भन्दै चौधरीलाई फोन सम्पर्क गराइ १२ जना महिलाहरु दुवई जान तयार भएपछि उनीहरूले पीडितहरुलाई धुलाबारीबाट भारतको सिलगुढीस्थित सबिन शाहको कोठामा पुर्‍याई १७ दिन राखेर श्रीलंका पुर्‍याएका थिए । श्रीलंकामा उनीहरुलाई अलिआक्स भन्ने मानिसलाई भेट गराई उनको अपार्टमेन्टमा लगेको र २ महिना बन्धक बनाएपछि पीडितहरुले आफूलाई नेपाल फर्काउ अन्यथा प्रहरीलाई खवर गर्छौ भनेपछी श्रीलंकामा रहेका अलिआक्सले राहदानी दिएका थिए ।
पीडितहरु नेपाल आई २०७३ साउन २३ गते जाहेरी दिएकोमा संलग्नमध्ये चन्द्र प्रकाश राई र सबिन शाह पहिला नै पक्राउ परिसकेको र सबिन शाह हाल पुर्पक्षको लागि थुनामा रहेका छन् ।
चौधरी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप भई थप अनुसन्धान कार्य जारी रहेको उक्त ब्यूरोले जनाएको छ ।