जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं, २०७८ जेठ २८ गते
  भोजपुर, आफ्नै १५ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुर नगरपालिका बस्ने ३५ वर्षीय पुरुषलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । उनले एक वर्ष अगाडिदेखि नै ललाई फकाई डर त्रास समेत देखाई आफ्नै घरमा पटक-पटक जबरजस्ती करणी गर्दै आएको तथा बैशाख २२ गते राति घरमा कोही नभएको मौका छोपी जबरजस्ती करणी गरेको भन्ने जाहेरी दरखास्त प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले ती पुरुषलाई पक्राउ गरेको हो ।
रुपन्देही, ३८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सैनामैना नगरपालिका-२ उछीटिया बस्ने २६ वर्षीय छेत्र बहादुर थापालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सैनामैना नगरपालिका-२ स्थित सैनामैना सामुदायिक वनमा बाख्रा चाराउन गएकी ती महिलालाई जंगलमा च्याउ खोज्न गएका छेत्र बहादुरले जबरजस्ती करणी गरेको तथा सैनामैना नगरपालिका-२ सोरौली बस्ने २१ वर्षीय सन्तोष रानाले जबरजस्ती करणीको प्रयास गरेको भन्ने जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो ।
बर्दिया, २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-५ बालापुर बस्ने १९ वर्षीय रुपेश थारुलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । रुपेशले ती महिलालाई जेठ ५ गते स्थानीय पथ्थर कुलोमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बानियाँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।