अवैध लागूऔषध सहित पक्राउ

काठमाडौं, २०७८ साउन ६ गते
 बाँके, नेपालगंज उपमहानगरपालिका-१५ बस्ने ६१ वर्षीय गुन्नु कबडिया र सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई २ ग्राम १ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ, श्रोत नखुलेको नगद ५ लाख १५ हजार ५ सय रुपैयाँ र २ थान मोबाइल सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय नेपालगंज र लागूऔषध नियन्त्रण व्यूरो नेपालगंजबाट खटिएको प्रहरीले उनीहरुको घर कोठा तलासी गर्दा उक्त लागूऔषध र नगद फेला पारी पक्राउ गरेको हो । उनीहरु उपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
मकवानपुर, मनहरी गाउँपालिका-८ सिमपानीस्थित सडकबाट ८१ केजी ३ सय ५० ग्राम अवैध लागूऔषध गाँजा सहित राक्सिराङ गाउँपालिका-४ बस्ने ४२ वर्षीय बाबुराम नेगीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा रोकी राखेको ना.८ ख ८२८४ नम्बरको ट्रकलाई ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले जाँच गर्दा ट्रक पछाडी ढालामा लुकाई राखेको उक्त परिमाणको लागूऔषध फेला पारी ट्रक चालक नेगीलाई प्रहरीले पक्राउ गरेको हो ।
यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-२ बनसखण्डीबाट करिब १ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने सोही उपमहानगरपालिका-१ घर भएका २७ वर्षीय समिर लामा भन्ने राम बहादुर तामाङ र सोही उपमहानगरपालिका-५ मनकामना चोक बस्ने २६ वर्षीय दिप लामा रहेका छन् । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय हेटौंडा र प्रहरी चौकी भुटनदेवीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
उदयपुर, त्रियुगा नगरपालिका-३ त्रियुगा पुल नजिकबाट ७ सय ४० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने २१ वर्षीय कृष्ण चौधरी लगायत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
कैलाली, भजनी नगरपालिका-१ स्थित महोन्याल सामुदायिक वनबाट ५ ग्राम अवैध लागूऔषध खैरो हेरोइन सहित सोही नगरपालिका-७ चर्रा बस्ने ३० वर्षीय दिनेश चमारलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-३ भन्सार नजिकबाट नियन्त्रित लागूऔषध नाइट्रोभेट ३० ट्याब्लेट र स्पास १६ ट्याब्लेट सहित कन्चनपुर पुनर्बास नगरपालिका-११ बस्ने २२ वर्षीय केशर राईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका व्यक्ति उपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
सुनसरी, धरान उपमहानगरपालिका-८ तिनकुनेबाट नियन्त्रित लागूऔषध स्पास १ हजार ५ सय ट्याब्लेट र ट्रामोल १ हजार ५ सय ट्याब्लेट सहित सोही उपमहानगरपालिका-१६ बस्ने १९ वर्षीय कुमार तामाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट तिनकुनेबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।