सूचना सुरक्षा प्रशिक्षण कार्यक्रम

काठमाडौं, २८ असार
    प्रहरी प्रधान कार्यालय संचार निर्देशनालयमा असार २३ गतेबाट संचालित नयां संचार प्रविधि तथा सूचना सुरक्षा सम्बन्धि OJT (On the Job Training ) प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
    दुई भागमा विभाजन गरिएको उक्त कार्यक्रमको पहिलो २ दिन  Federation of Computer Association Nepal र Internet Society Nepal Chapter को सहयोगमा प्रहरी प्रधान कार्यालय संचार निर्देशनालय र केन्द्रीय अनुसन्धान व्यूरोको सहकार्यमा संचालन गरिएको हो । दोस्रो २ दिनको प्रशिक्षण कार्यक्रम संचार निर्देशनालयको आयोजनामा Society of Electronics & Communication Engineers (SECEN) र  Federation of Computer Association Nepal  को सहयोगमा सम्पन्न भएको थियो ।
    विशेष गरी प्रविधिको बढ्दो प्रयोगको विद्यमान समयमा संचार नेटवर्क तथा सूचना व्यवस्थापनमा आउन सक्ने संभावित जोखिमहरुको पहिचान, मुल्याङ्कन र निराकरण गर्ने सम्बन्धमा प्रशिक्षण गरिएको थियो । यसका साथै विद्युतिय अपराध तथा हाल नेपालमा यसको अवस्था लगायत प्रचलित ऐन, कानुनका सम्बन्धमा सम्बन्धित क्षेत्रका विज्ञहरुबाट प्रशिक्षण प्रदान गरिएको थियो ।
    कार्यक्रम समापनको अवसरमा संचार निर्देशनालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डा.राजिव सुब्बाले प्रविधिमय वर्तमान समयमा प्रविधिको सही तथा सुरक्षित प्रयोगको लागी यस्ता कार्यक्रम प्रभावकारी हुने तथा भविष्यमा पनि यस्ता कार्यक्रम संचालनको लागि विभिन्न संघ संस्थाहरु संग सहकार्य गर्न सकिने बताउदै  कार्यक्रममा सिकेका कुरा व्यवहारमा उतार्न प्रशिक्षार्थीहरुलाई निर्देशन दिनुभयो । उहाँले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र समेत प्रदान गर्नुभयो ।
    कार्यक्रममा CAN Federation का अध्यक्ष विनोद ढकाल र  ISOC Nepal Chapter  का अध्यक्ष वावुराम अर्याल समेतको सहभागिता रहेको थियो ।
    उक्त प्रशिक्षण कार्यक्रममा ४८ जना प्रहरी अधिकृतहरुको सहभागिता रहेको थियो ।