मृत अवस्थामा फेला

काठमाडौँ, १७ साउन
    धनुषा : खोलामा डुबी बेपत्ता भएका जनकपुर उपमहानगरपालिका–२ बस्ने ६० बर्षीय रामा मुखियाको शव  फेला परेको छ ।   साउन १५ गते जलाद खोला सफा गर्ने क्रममा डुबेर बेपत्ता भएका उनको शव सोमबार सोही उपमहानगरपालिका–४ कुवाटोलमा खोलाको बीच झाडीमा अड्किएको अवस्थामा फेला पारिएको थियो ।
    ओखलढुंगा : साउन ९ गतेदेखि बेपत्ता भएका बरुणेश्वर–६ बस्ने ४४ बर्षीय रामबहादुर राईको शव सोमबार बिगुटार–९ स्थित पोक्चिङखोला र सल्ली खोलाको दोभानमा सडीगलीसकेको अवस्थामा फेला परेको छ । उनीसंगै घरबाट हिडेर बेपत्ता भएका उनका ९ बर्षीय छोरा श्रीजंग राईको प्रहरीले खोजतलास गरिरहेको छ ।
    गुल्मी : साउन १५ गते आफन्तको घरमा जाने क्रममा बेपत्ता भएकी नेटा गाविस–५ बस्ने ८५ बर्षीया जसा सिरीसको शव सोमबार मुसिकोट–४ मालुङ्गा स्थित मौरीभिरमा रहेको निस्ती खोलाको किनारमा सडीगलेको अवस्थामा फेला परेको छ ।
    सुनसरी : महेन्द्रनगर–६ कोशी नदीको भंगालोको छेउमा सोमबार अंदाजी १९ बर्षीया महिला मृत अवस्थामा फेला परेकी छिन् । उनको नाम,थर,वतन खुल्न सकेको छैन ।
    यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।