सवारी दुर्घटनामा मृत्यु तथा घाइते

काठमाडौँ, २८ पुस
    बाग्लुङ : बोहोरागाउँ–८ कालाखेत स्थित मध्यपहाडी लोक मार्गमा ना.४ ख ९२२० नम्बरको बसको ढोकाबाट बुधबार देविस्थान–५ बस्ने १८ बर्षीय पदम सिंजाली खस्न जाँदा गम्भीर घाइते भएकोले उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङ लगिएकोमा मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
    धादिङ : बुढाथुम–५ स्थित ग्रामिण सडक खण्डमा ग.१ त १११४ नम्बरको ट्याक्टर बुधबार अनियन्त्रित भई दुर्घटना हुदाँ चालक सोही ठाउँ बस्ने २१ बर्षीय पुर्ण नेपाली र ट्याक्टरमा सवार गोरखा मानबु–८ धुनचेत वस्ने १९ बर्षीय कुमार गुरुङ घाइते भएकोले उपचारको लागी स्थानिय मेडिकल पठाइएकोमा उपचारको क्रममा कुमार गुरुङको मृत्यु भएको छ ।
    दाङ : हेकुली–१ बैवाङ भन्ने स्थानमा लु.२ त ४१०३ नम्बरको ट्याक्टर बुधबार पल्टेर दुर्घटना हुँदा हेकुली– १ बस्ने १४ बर्षीय अक्षकुमार थारु सहित ६ जना घाइते भएकोले उपचारको लागी राप्ति अञ्चल अस्पताल तुल्सीपुर पठाइएकोमा उपचारको क्रममा अक्ष कुमार थारुको मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
    रामेछाप : पकरबास–६ स्थित ढुङ्गेल गाउँको सडक खण्डमा बा.४ ख १७५५ नम्बरको मिनि ट्रक बुधबार अनियन्त्रित भई सडकबाट अन्दाजी २ सय मिटर तल खसेर दुर्घटना हुदाँ ट्रक चालक भिरपानी–१ सित्खा बस्ने २० बर्षीय दिनेश माझी र १९ बर्षीय कुमार माझीको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा सह चालक २० बर्षीय  जुगल मगर घाइते भएकोले उपचारको लागि तामाकोशी अस्पतालमा पठाइएको छ ।