इन्टरपोलको २३ औं एसिया क्षेत्रीय सम्मेलन सम्बन्धी पत्रकार सम्मेलन

काठमाडौँ, २८ पुस
    काठमाडौँको हायत होटलमा आगामी माघ ५ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने इन्टरपोलको २३ औँ एसिया क्षेत्रीय सम्मेलन सम्बन्धी बिहीवार प्रहरी प्रधान कार्यालय नक्सालमा पत्रकार सम्मेलन गरियो ।
    पत्रकार सम्मेलनमा प्रहरी प्रधान कार्यालय,अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले इन्टरपोलको २३ औँ एसिया क्षेत्रीय सम्मेलन सम्बन्धी प्रस्तुतीकरण मार्फत संचारकर्मीहरुलाई जानकारी दिनुभयो ।
     उक्त अवसरमा उहाँले सम्मेलनको उद्देश्य तथा सम्मेलनमा छलफल गरिने एजेन्डाहरुको बारेमा जानकारी दिनुभएको थियो ।
    विभिन्न ५२ सदस्य र ३ सव-व्यूरो गरी ५५ मुलुकका करीव २ सय ५० जना भन्दा माथि कानून कार्यान्वयन निकायका उच्च अधिकृतहरु सहभागी रहने सम्मेलनमा मानव बेचविखन, बालबालिका विरुद्ध हुने अपराध, सीमा सुरक्षा तथा व्यवस्थापन, सीमावर्ती अपराधहरु, आतंकवाद, साइबर अपराध, वन्यजन्तु सम्बन्धी अपराधका विषयमा छलफल हुने समेत उहाँले जानकारी दिुभयो ।