अवैध लागूऔषध सहित पक्राउ
२०७८-१२-१४
- A
- A-
- A+
काठमाडौं,काठमाडौं महानगरपालिका-१४ कलंकीबाट करिब ४३ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ र २ थान डिजिटल तराजु सहित कलंकी बस्ने भारत लखनउ घर भएका १८ वर्षीय किशोर सहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त पदार्थ, नगद २ लाख ४५ हजार रुपैयाँ, प्याकिङ गर्न प्रयोग गरिने प्लास्टिकहरु र बा.७६ प ६४९२ नम्बरको मोटरसाइकल सहित फेला पारी पक्राउ गरेको हो ।
चितवन, राप्ती नगरपालिका-११ गाल्दक बस्ने सानुभाई चेपाङको घरबाट करिब १ सय किलोग्राम अवैध लागूऔषध गाँजा आइतबार राति प्रहरीले बरामद गरेको छ । उनको घरमा लागूऔषध लुकाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी बरामद गरेको हो । उनकै घरमा रहेका १८ वर्षीय किशोरलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गर्नुका साथै हाल फरार चेपाङको प्रहरीले खोजी गरिरहेको छ ।
मकवानपुर, मनहरी गाउँपालिका-६ लोथर खोलाको बगरबाट करिब १ सय किलो अवैध लागूऔषध गाँजा सहित सोही गाउँपालिका सुगौरा बस्ने ५३ वर्षीय बुद्धि बहादुर थिङ समेत ४ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरी र प्रहरी चौकी सुनाचुरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा ४ वटा बोरामा बोकी ल्याउँदै गरेको उक्त गाँजा सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
यसैगरी मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१ चौकिटोलबाट करिब १ सय ६५ किलो ८ सय ग्राम अवैध लागूऔषध गाँजा सहित सोही उपमहानगरपालिका-१३ पदमपोखरी बस्ने २८ वर्षीय अरबिन्द नेपालीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । भैसेबाट हेटौंडातर्फ आउँदै गरेको प्र ३-०१-०२३ च ५६४० नम्बरको गाडीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी चौकीटोलबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त गाँजा सहित फेला पारी गाडी चालक अरबिन्दलाई पक्राउ गरेको हो ।
कैलाली, टीकापुर नगरपालिका-१ ब्लक नम्बर २३ नजिकबाट करिब १ ग्राम ६ सय ७० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित भजनी नगरपालिका-७ बस्ने ३१ वर्षीय टंक शाहीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । से.४ प ७७११ नम्बरको मोटरसाइकलमा सवार उनलाई ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।