प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

मोटर ट्रान्सपोर्ट अफिसर तालिम सुरू

२०७९-०२-१२

  • A
  • A-
  • A+
Share

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा चौथो समूहको मोटर ट्रान्सपोर्ट अफिसर तालिम सुरु भएको छ । सोही महाशाखाका प्रहरी उपरीक्षक ई. दिनेश केसीले बिहीबार आयोजित कार्यक्रममा उक्त तालिम उद्‌घाटन गर्नुभयो ।

कार्यक्रममा प्रहरी नायव उपरीक्षक ई.कमलेन्द्रलाल कर्णले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै ३५ दिन कार्य अवधिको उक्त तालिममा प्रहरी वरिष्ठ नायव निरीक्षक १ जना, प्रहरी नायव निरीक्षक ४ जना र प्रहरी सहायक निरीक्षक १७ जना गरी जम्मा २२ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिनुभयो ।

नेपाल प्रहरीले प्रयोग गर्दै आएका सवारी साधनको उचित मर्मत सम्भार, रेखदेख, नियन्त्रण, परिचालन, व्यवस्थापन लगायत सो सँग सम्बन्धित समस्याहरूलाई सरल एवम् सहज रूपमा समाधान गर्नका लागि दक्ष जनशक्ति विकास गर्ने तालिमको उद्देश्य रहेको छ । 




सम्बन्धित समाचार
हराएका २० वटा दुईपाङग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण
२०८०-१२-१३

काठमाडौं, विभिन्न मितिमा हराएका २० वटा दुईपाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले मंगलबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच सोही कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले १८ वटा मोटरसाइकल र २ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभएको हो । उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा, केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा पेप्सीकोला, कपन, बौद्ध, गौशाला, सुन्धारा, माछापोखरी, स्वयम्भू, चापागाउँ, बुङ्गमती लगायतका स्थानबाट हराएका सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो । चालु आर्थिक वर्षको हालसम्म ट्राफिक प्रहरीले आज बुझाइएका २० वटा सहित २ सय ८५ वटा सवारी साधन सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ । अवैध रूपमा नेपाल भित्रिएका १७ वटा सवारी साधनलाई भने भन्सार कार्यालयमा बुझाइएको प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले सोही कार्यक्रममा जानकारी दिनुभयो । चालु आर्थिक वर्षको हालसम्म चोरीका २४ वटा दुईपाङ्ग्रे सवारी साधन सहित संलग्न २९ जनालाई पनि कारवाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ । सवारी साधन चोरी तथा हराउनबाट जोगाउन आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत  सुरक्षा साइरनहरु जडान गरी सवारी साधन चोरी तथा हराउनबाट रोक्न विभिन्न उपायहरु अवलम्वन गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ । सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।

सकारात्मक सोँच तथा तनाव व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
२०८०-१२-१२

प्यूठान, प्यूठान जिल्लास्थित सुरक्षाकर्मीहरूलाई लक्षित ‘सकारात्मक सोँच तथा तनाव व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम’ आइतबार सम्पन्न भएको छ ।  जिल्ला प्रहरी कार्यालय प्यूठानको आयोजना, जिल्ला प्रशासन कार्यालय प्यूठानको समन्वय तथा कर्ण सकारात्मक कोषको प्राविधिक सहयोगमा मल्लरानी गाउँपालिका-४ खलङ्गास्थित जिल्ला समन्वय समितिको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कर्ण सकारात्मक कोषका संरक्षक कर्ण शाक्यले किताबी ज्ञान भन्दा जिवनको भोगाइ र अनुभवबाट सिप आर्जन गर्नुपर्ने चर्चा गर्नुभयो । कुनै पनि काम उद्देश्य सहित गर्नुपर्ने, सकारात्मक र अटल सोच राख्नुपर्ने, पद र अधिकारको सदुपयोग गर्नुपर्ने एवम् समय व्यस्थापनमा बिशेष जोड दिनुपर्ने विचार व्यक्त गर्दै उहाँले संकिर्ण सोँचको अन्त्य गरी प्रहरी जीवनलाई व्यवसायिक बनाउनु पर्दछ र सधैँ सकारात्मक सोँच राखी काम गर्नुपर्ने बताउनुभयो । सो अवसरमा कार्यक्रमका अध्यक्ष एवंम् प्यूठान जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले हाम्रो जिम्मेवारीले पनि  हामीलाई तनावको अवस्थामा पुर्‍याउने हुनाले तनाव व्यवस्थापन आफैबाट सकारात्मक सोँचका साथ सुरु गर्नुपर्ने बताउनुभयो । जिल्ला प्रहरी कार्यालय प्यूठानका कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक इश्‍वर थापाले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमको औचित्य बारेमा जानकारी दिनुभएको उक्त कार्यक्रममा कर्ण सकारात्मक कोषका प्रमुख सल्लाहकार जोस बहादुर निरौलाले तनावको परिभाषा, यसका प्रकार, लक्षण र समाधान, नकारात्मक तनावले पुर्‍याउने क्षतिको सम्बन्धमा जानकारी दिँदै तनाव व्यवस्थापनको व्यवहारिक अभ्यास समेत गराउनु भएको थियो ।कार्यक्रममा जिल्लास्थित सुरक्षा निकाय एवम् विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो ।

३० जना प्रहरी कर्मचारीहरूलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान
२०८०-१२-१२

काठमाडौं, नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीले ३० जना प्रहरी कर्मचारीहरूलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही कार्यालयमा ३३औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो । उक्त तालिम समापनका अवसरमा सोमबार आयोजित कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डम्बर बहादुर बिकले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो । कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक हरिकृष्ण केसीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै माघ १५ गतेदेखि संचालित उक्त तालिममा प्रहरी निरीक्षक १ जना, प्रहरी नायव निरीक्षक १ जना, प्रहरी सहायक निरीक्षक २ जना, प्रहरी सहायक हवल्दार ३ जना र प्रहरी जवान २३ जना गरी जम्मा ३० जना प्रशिक्षार्थीहरूले सफलतापूर्वक तालिम हासिल गरेको जानकारी दिनुभयो ।  

मस्तिष्कघात सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
२०८०-१२-०९

 काठमाडौं, नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालयमा उपेन्द्र देवकोटा फाउण्डेसनको आयोजनामा मस्तिष्कघात सम्बन्धी सचेतना कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।   कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक डा.आशा सिंहले प्रहरी कर्मचारीहरूको स्वास्थ्य सेवाप्रति प्रहरी अस्पतालको दायित्व रहेको र प्रहरी कर्मचारीहरूको स्वास्थ्यलाई प्राथमिकतामा राखेर प्रहरी अस्पतालले विभिन्न प्रहरी युनिटहरूमा स्वास्थ्य जाँच सम्बन्धी कार्यक्रम संचालन समेत गरेको उल्लेख गर्नुभयो ।   उपेन्द्र देवकोटा फाउण्डेसनका प्रमुख कार्यकारी अधिकृत मिलन गुरूङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा सोही फाउण्डेसनका डा. धनश्याम खेरल, डा. सुवास फुयाँल र डा. सुरज थुलुङले मस्तिष्कघात सम्बन्धी प्रस्तुतिकरण गर्नुका साथै उपस्थित प्रहरी अधिकृतहरूबाट उठेका जिज्ञासाहरूको निरूपण समेत गर्नुभयो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत एवम् जवानहरूको उपस्थिति रहेको थियो ।      

सवारी चालक (हेभी) उन्नत तालिम शुरू
२०८०-१२-०१

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा २७ औं समूहको सवारी चालक (हेभी) उन्नत तालिम संचालन भएको छ ।उक्त तालिमको सोही महाशाखाका प्रहरी नायव उपरीक्षक अनुप श्रेष्ठले महाशाखामा बिहीबार आयोजित कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो । प्रहरी निरीक्षक ई. अञ्जन राज खरेलले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै १६ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी हवल्दार ४ जना, प्रहरी सहायक हवल्दार १८ जना र प्रहरी जवान ८ जना गरी जम्मा ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो । 

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा उत्कृष्ट महिला प्रहरी कर्मचारी सम्मानित
२०८०-११-२४

काठमाडौं, नेपाल प्रहरी श्रीमती संघले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा उत्कृष्ट महिला प्रहरी कर्मचारीहरूलाई सम्मान समेत गरेको छ ।नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरले संघको कार्यालय भृकुटिमण्डपमा बिहीबार आयोजित कार्यक्रमबिच उत्कृष्ट महिला प्रहरी कर्मचारीहरू प्रहरी सहायक हवल्दार सविता कार्की र प्रहरी जवान रविना तामाङलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।   सो अवसरमा संघकी अध्यक्ष कुँवरले यस कार्यक्रमबाट महिला प्रहरी कर्मचारीहरूलाई सकारात्मक उर्जा प्राप्त हुनुका साथै आफ्नो पेशाप्रति अझ व्यवसायिक, कर्तव्यनिष्ट भई सेवामा लाग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा संघकी पदाधिकारीहरू, महिला प्रहरी कर्मचारी तथा परिवार, प्रहरी अधिकृत लगायतको उपस्थिति रहेको थियो ।