अवैध लागूऔषध सहित पक्राउ
२०७९-०३-१९
- A
- A-
- A+
कास्की, पोखरा महानगरपालिका-३० पावर हाउसबाट करिब १ किलो अवैध लागूऔषध गाँजा सहित म्याग्दी मालिका गाउँपालिका-६ दर्बाङ बस्ने ३८ वर्षीय गंगा पुर्जालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग.१ ख ३५२५ नम्बरको हाईसलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा हाइसमा सवार उनको झोलाबाट उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
मकवानपुर, राक्सिराङ गाउँपालिका-५ कुत्तासिङबाट करिब ३ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित पर्सा पकाहामैनपुर गाउँपालिका-८ बस्ने ४८ वर्षीय मधु प्रसाद चौहानलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । चैनपुरबाट मनहरीतर्फ आउँदै पैदल आउँदै गरेका उनलाई ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा झोलामा लुकाई ल्याएको उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
बाँके, बैजनाथ गाउँपालिका-१ हात्तीसारको मोडबाट करिब ३ किलो ५ ग्राम अवैध लागूऔषध अफिम जस्तो देखिने धुलो पदार्थ सहित जाजरकोट नलगाड नगरपालिका-३ बस्ने २५ वर्षीय गोपाल रोकायलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । भे.७ प ८६७७ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार गोपालको झोलामा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । साथै मोटरसाइकल सहित फरार मोटरसाइकल चालक जाजरकोट नलगाडा नगरपालिका-३ बस्ने २५ वर्षीय मेख राज बिष्टको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।