अवैध लागूऔषध सहित पक्राउ
२०७८-०६-२३
- A
- A-
- A+
काठमाडौं, सर्लाही, मलंगवा नगरपालिका-५ भाडसरबाट करिब २ केजी ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित सोही नगरपालिका-८ बस्ने २४ वर्षीय प्रिन्स कुमार सिंहलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । नेपालबाट भारततर्फ जाँदै गरेको डीएल ४ एसबिसी ३१०८ नम्बरको मोटरसाइकलमा सवार प्रिन्सलाई प्रहरी चौकी भाडसरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी सर्लाही, लालबन्दी नगरपालिका-१७ टिकुलियाबाट करिब ३५ केजी ५ सय ग्राम अवैध लागूऔषध गाँजा शुक्रबार दिउँसो प्रहरीले बरामद गरेको छ । सोही ठाउँ बस्ने संजय नायक र उनकी श्रीमती अमलेश देवी नायकले आफ्नै घरमा लागूऔषध गाँजा लुकाई राखेको छ भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले घर तलासी गर्दा करिब १ केजी ३ सय ग्राम र नजिकैको खेतबाट करिब ३४ केजी २ सय ग्राम गरी उक्त परिमाणको लागूऔषध फेला पारी बरामद गरेको हो । हाल फरार रहेका संजय र अमलेश देवीको प्रहरीले खोजी गरिरहेको छ ।
स्याङ्जा, पुतलीबजार नगरपालिका-४ नागडाँडाबाट नियन्त्रित लागूऔषध १ सय ८४ एम्पुल डाईजेपाम, १ सय ८४ एम्पुल फेनारगन र १ सय ८४ एम्पुल नुफिन सहित फेदीखोला गाउँपालिका-२ बस्ने ३४ वर्षीय बिक्रम गुरुङ लगायत ३ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र प्रहरी चौकी फेदीखोलाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
कपिलवस्तु, मायादेवी गाउँपालिका-१ पकडिचोकबाट १५ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ सहित शुद्दोधन गाउँपालिका-२ नन्दनगर बस्ने २५ वर्षीय नियाज अहमद मुसलमानलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । युपी ५५ एसी ०२३५ नम्बरको मोटरसाइकलमा सवार नियाजलाई ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
बारा, जितपुरसिमरा उपमहानगरपालिका-७ जितपुरबाट नियन्त्रित लागूऔषध ६ सय एम्पुल डाईजेपाम, ६ सय एम्पुल नुफिन र ६ सय एम्पुल फेनारगन सहित २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत मोतिहारी पूर्विचम्पारण बिहार बस्ने २९ वर्षीय मुना कुमार र ३५ वर्षीय मुनिला राउत रहेका छन् । वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको ना.६ ख ६३७७ नम्बरको बसलाई ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा बसमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका-१५ स्थित सायरा होटलबाट नियन्त्रित लागूऔषध १५ बोतल डाईलेक्स डिसि, ४२ एम्पुल नाईट्राभेट, २४ एम्पुल स्पास्मो प्रोक्सिभोन, ३४ एम्पुल स्पास ट्र्यानकोन प्लस र २ सय ४० ग्राम अवैध लागूऔषध गाँजा सहित होटल संचालक जहदा गाउँपालिका-७ घर भएका २८ वर्षीय रमेश साहलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । उक्त होटलमा लागूऔषधको कारोबार हुँदैछ भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
यसैगरी मोरङ, केराबारी गाउँपालिका-७ डागीबाट १.९ ग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित सोही गाउँपालिका-६ बस्ने ३० वर्षीय बिशाल लिम्बुलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।