अवैध लागूऔषध सहित पक्राउ
२०७९-०४-२६
- A
- A-
- A+
झापा, भद्रपुर नगरपालिका-३ झोलुङगे पुलबाट करिब ३ ग्राम ८ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित भारत घर भएका ४२ वर्षीय निखिल विश्वासलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी झापा, बिर्तामोड नगरपालिका-२ चारपाने डेरा गरी बस्ने ३६ वर्षीय बद्री राजबंशीलाई करिब ३ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त टोलीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
यसैगरी झापा, दमक नगरपालिका-९ ईटाभट्टास्थित बाटो छेउमा करिब २५ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ र नगद १० हजार रूपैयाँ सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गौरादह नगरपालिका-१ बस्ने ३३ वर्षीय भिम बहादुर श्रेष्ठ र ३२ वर्षीय मोहन सिलवाल रहेका छन् । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ र नगद सहित फेला पारी पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको को.२९ प २२३४ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।