आसरा सुधार केन्द्रको २४औं वार्षिक साधारणसभा सम्पन्न
२०७९-०४-३१
- A
- A-
- A+
काठमाडौं, आसरा सुधार केन्द्रकी अध्यक्ष श्रीमती कुसुमलता सिंहको उपस्थितिमा आसरा केन्द्र रानिबारीको २४औं वार्षिक साधारणसभा सोही केन्द्रमा मंगलबार आयोजित कार्यक्रमबीच सम्पन्न भएको छ ।
सो अवसरमा केन्द्रकी अध्यक्ष सिंहले सीमित स्रोत र साधनका बाबजुद पनि विगत २५ वर्षदेखि हालसम्म ५ हजार ६ सय ४५ जना पुरुष तथा महिला लागूऔषध प्रयोगकर्ताहरूलाई उपचारात्मक विधि अपनाई सुधारात्मक बाटोमार्फत् समाजमा पुनर्स्थापना गराउने कार्यमा केन्द्रले योगदान पुर्याएको बताउनुभयो । कल्याणकारी र परोपकारी सेवाभावका साथ जनचेतनामूलक कार्यक्रमहरूलाई अझ प्रभावकारी रूपमा सञ्चालन गरी सेवा प्रवाहमा संख्यात्मक मात्र नभई गुणात्मक रुपमा सुधार गर्न केन्द्र कटिबद्ध रहेको उहाँले बताउनुभयो ।
उक्त केन्द्रकी सचिव रूपा थापाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको सो कार्यक्रममा केन्द्रकी कोषाध्यक्ष नबिना कार्कीले आ.व. २०७८/०७९ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षक उमेश राज जोशी, आसरा सुधार केन्द्रका कार्यकारिणी समितिका पदाधिकारीहरु, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु, केन्द्रका सल्लाहकारहरू लगायत प्रहरी अधिकृतहरूको समेत उपस्थिति रहेको थियो ।