अवैध लागूऔषध सहित छुट्टाछुट्टै स्थानबाट पाँच जना पक्राउ
२०७९-०५-२४
- A
- A-
- A+
झापा, बिर्तामोड नगरपालिका-३ स्थितबाट १ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही नगरपालिका-५ डेरा गरी बस्ने १९ वर्षीय कालु दासलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-२ सन्तोषी टोलबाट १ ग्राम ४ सय मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने २६ वर्षीय हरिश कार्कीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
पर्सा, ठोरी गाउँपालिका-२ स्थित सितागुफा नजिक सडकबाट एकसय एमएलको ४ सय ७४ बोतल कोडिवेल कफसिरप लागूऔषध सहित सोही गाउँपालिका-२ बस्ने ३० वर्षीय रबिन्द्र कुमार साहलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरीले भारतको भिखनाबाट नेपालतर्फ जुटको बोरा टाउकोमा बोकी आउँदै गरेका साहलाई जाँच गर्ने क्रममा जुटको बोराभित्र उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका-१५ स्थित एकनम्बर ढाटबाट ४ सय ९० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ सहित सुनसरी धरान उपमहानगरपालिका-१३ बस्ने ३१ वर्षीय रणबिर बज्राचार्यलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई लागूऔषध ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
सिरहा, सिरहा नगरपालिका-१७ कमला बाँधबाट नियन्त्रित लागूऔषध नाइट्रोभेट २६ ट्याबलेट, डाईजेल्याब ३ एम्पुल, सिरिन्ज १ थान, फलामको तरवार १ थान र फलामको फर्सा १ थान सहित कल्याणपुर नगरपालिका-२ बस्ने १९ वर्षीय पप्पु भन्ने सुमन मण्डललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका साईकलयात्री मण्डललाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।