प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आत्महत्या न्यूनीकरण सम्बन्धी विशेष सचेतना कार्यक्रम सम्पन्न

२०७९-०६-०२

  • A
  • A-
  • A+
Share

काठमाडौं, गृहमन्त्री बालकृष्ण खाणको प्रमुख आतिथ्यमा आत्महत्या न्यूनीकरण सम्बन्धी विशेष सचेतना कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आइतबार सम्पन्न भएको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयको तत्वावधानमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा आयोजित उक्त कार्यक्रमको शुरुमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृहमन्त्रालयका पदाधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरू, विभिन्न विद्यालयका शिक्षक तथा शिक्षिका, विद्यार्थीहरु एवम् सरोकारवाला निकायहरुका प्रतिनिधिहरुको सहभागितामा समुदाय-प्रहरी साझेदारीअन्तर्गत आत्महत्या रोकथाम तथा न्यूनीकरणसम्बन्धी विभिन्न जनचेतनामूलक पर्चा, पम्प्लेटसहितको प्रभातफेरि प्रदर्शनीमार्गबाट शुभारम्भ भई पदमोदय मोड, पुतलीसडक, कमलादी हुँदै उक्त प्रतिष्ठानमा आएर कार्यक्रममा परिणत भएको थियो ।

गृहमन्त्री खाणले पानसमा दीप प्रज्वलन तथा गमलामा जल सिंचन गरी उद्‍घाटन भएको उक्त कार्यक्रममा समाजमा कुनै पनि नेपालीको अकालमा मृत्यु नहोस् भन्नेतर्फ नेपाल सरकार सजग र प्रतिवद्ध रहेको बताउनुभयो । साथै उहाँले राज्यको पहिलो दायित्व नै आम नागरिकको जीवन रक्षा गर्ने भएको उल्लेख गर्दै वर्तमान सरकार नागरिकको जीवन रक्षाको लागि प्रतिवद्ध रहेको एवम् नेपाल प्रहरीले जन धनको रक्षा, शान्ति सुरक्षाको लागि प्रतिवद्धतापूर्वक बलिदानीपूर्ण कार्य गरिरहेको बताउनुभयो ।

राष्ट्रका कर्णधार युवा भाइबहिनीहरूको सहभागिताले प्रतिबद्धता र सचेतना थपेको चर्चा गर्दै गृहमन्त्री खाणले भन्नुभयो, “यो कार्यक्रमको माध्यमबाट देशभरिकै आम नागरिकहरू कसैले पनि आत्महत्याको बाटो नरोज्नुहोस् । जीवन महत्वपूर्ण छ, जीवनको जन्म र सृष्टि राम्रा कार्यका लागि भएको छ, आफ्नो जीवनलाई अझै महत्वपूर्ण बनाऊँ, आफ्नो क्षमतालाई अभिबृद्धि गराऊँ, अरुलाई सहयोग गर्ने काम गरौँ ।” सहभागी युवाहरूले समाजमा सचेतना जगाउन तथा नेपालमा आत्महत्याको घटनालाई न्यूनीकरण गर्ने र रोक्ने प्रतिवद्धता गर्न उहाँले आग्रह गर्नुभयो । नागरिक सुरक्षा र हितका लागि सुरक्षा निकायहरूको क्षमता अभिवृद्धि, आधुनीकिकरण, साधन स्रोतको समुचित प्रबन्ध गर्नेतर्फ नेपाल सरकार प्रतिवद्ध रहेको र यसमा समस्त जनप्रतिनिधिहरूले पनि साथ दिने विश्चास उहाँले व्यक्त गर्नुभयो । 

कार्यक्रममा महान्यायाधिवक्ता खम्मबहादुर खातीले नेपालमा आत्महत्या बढ्दो अवस्थामा रहेको र आत्महत्या हुनुका कारण तथा समस्याहरू पहिचान गरेर त्यस्ता घटनाहरू न्यूनीकरण गर्न सबै सरोकारवाला निकायहरुको समन्वय आवश्यक रहेको बताउनुभयो । आत्महत्या रोकथाम तथा न्यूनीकरणको लागि विभिन्न सचेतना कार्यक्रम अत्यन्तै महत्वपूर्ण हुने चर्चा गर्दै उहाँले यसका लागि सामुदायिक क्रियाकलापमा सहभागिता, सकारात्मक सोंच, काउन्सिलिङ लगायतका कार्यहरूमा जोड दिनुपर्ने बताउनुभयो । 

उक्त अवसरमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आत्महत्याको मुख्य कारकको रूपमा डिप्रेसन पनि भएको उल्लेख गर्दै आफ्नो कमजोरी तथा असफलतालाई नकारात्मक सोच्न नहुने र असफलताले नै सफलताको मार्ग प्रशस्त गर्ने भएकोले सकारात्मक सोंचका साथ अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो । 

कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नागरिकको जीवन रक्षा गर्ने नेपाल प्रहरीको मूल दायित्व बोध गरी नेपाल प्रहरीको कार्ययोजना, २०७९ अन्तर्गत आत्महत्या न्यूनीकरण कार्यक्रम अनुरूप देशभर आत्महत्या दरलाई न्यूनीकरण गर्न आम नागरिकलाई सुसूचित गराउने उद्देश्य एवम् नेपाल प्रहरीको एकल प्रयासमा आत्महत्या रोकथाममा उल्लेखनीय सफलता हासिल गर्न नसकिने भएकोले सरोकारवाला निकायहरूको बृहत् सहभागितामा यो कार्यक्रम संचालन गरिएको बताउनुभयो  । 

आत्महत्या पछाडि व्यक्तिको मानसिकतासँगै सामाजिक, आर्थिक र व्यक्तिगत कारणहरू हुने सक्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक सिंहले समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपाल प्रहरीले आत्महत्या रोकथामलाई सदैव प्राथमिकतामा राख्दै आएको बताउनुभयो । आत्महत्याको कारणहरू पहिल्याउँदै सम्बन्धित सरोकारवालाहरू सक्रिय भई आ-आफ्नो भूमिका अनुरूप उपयुक्त र प्रभावकारी हस्तक्षेप गर्न सकेमा आत्महत्याको दरमा कमी आउने विश्वास उहाँले व्यक्त गर्नुभयो । 

कार्यक्रममा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य, गृहमन्त्रालयका सहसचिव गोविन्द प्रसाद रिजाल, काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले आ-आफ्नो मन्तव्य व्यक्त गर्दै आत्महत्या रोकथाम तथा न्यूनीकरणमा नेपाल सरकार र सम्वद्ध सबै निकाय एवम् संघसंस्थाबीच हातेमालो गरी अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभयो ।  

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रविन्द्र बहादुर धानुकले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल प्रहरी अस्पतालका मनोचिकित्सक प्रहरी उपरीक्षक डा. आशिस दत्तले आत्महत्या रोकथाम तथा न्यूनिकरण सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । 

कार्यक्रममा सामुदायिक सेवा केन्द्रहरूको तर्फबाट सामुदायिक सेवा केन्द्र गोंगबुका अध्यक्ष राकेश सिंह, विद्यालयकोतर्फबाट अरनिको ईन्टरनेश्नल सेकेण्डरी स्कुल एण्ड कलेज ताल्छिखेलका किरण जंग बिष्टले आत्महत्या न्यूनीकरणमा सचेतना कार्यक्रमको महत्व बारेमा आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभयो ।

कार्यक्रममा गृहमन्त्रालयका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृतहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, नागरिक समाज, संचारकर्मीहरु, विद्यार्थी एवम् आमन्त्रित महानुभावहरुको समेत उपस्थिति रहेको थियो ।  

विश्वभर बढ्दो आत्महत्याको दरलाई न्यूनीकरण गर्न सर्वपक्षीय सहभागितामा आमनागरिकलाई सुसूचित गराउने उद्देश्यले सन् २०२१ देखि सन् २०२३ सम्मको लागि तय गरिएको विश्व आत्महत्या रोकथाम दिवस सम्बन्धी अन्तर्राष्ट्रिय नारा ‘कर्म मार्फत आशाको सृजना गरौं’ भन्ने मूल नाराका साथ उक्त कार्यक्रमको आयोजना गरिएको हो । साथै सातै प्रदेशको राजधानीमा प्रदेश स्तरीय र सबै जिल्ला र सदरमुकामहरूमा समेत समुदाय-प्रहरी साझेदारीको ब्यानरमा विभिन्न कार्यक्रमको आयोजना गरी आत्महत्या न्यूनीकरण सम्बन्धी सचेतना कार्यक्रम संचालन गरिएको छ । 


सम्बन्धित समाचार
केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालद्वारा सञ्चारकर्मीहरूसँग साक्षात्कार
२०८०-१२-१५

काठमाडौं, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालले नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार सञ्चारकर्मीहरूसँग साक्षात्कार गर्नुभएको छ । साक्षात्कारको क्रममा उहाँले सञ्चारकर्मीहरूसँग समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया समेत गर्नुभयो ।कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ढकालले २०७९ चैत १० गतेदेखि २०८० फागुन मसान्तसम्म विगत एक वर्षमा नेपाल प्रहरीबाट सम्पादित प्रमुख कार्य तथा उपलब्धीहरू सम्बन्धी प्रस्तुतीकरण गर्नुभयो । सो क्रममा उहाँले मानवस्रोत विकास तथा व्यवस्थापनतर्फ प्रहरी जनशक्ति, नियुक्ति, बढुवा, सरूवा, एक वर्षको अवधिको अपराध अनुसन्धान तथ्याङ्क प्रस्तुतीकरण गर्नुको साथै तथ्याङ्क विश्‍लेषण समेत गर्नुभयो । सो अवधिमा भएका गम्भीर प्रकृति एवम् राष्ट्रिय चर्चामा आएका अपराध घटनाहरूको सफल अनुसन्धान, अन्तर्राष्ट्रिय समन्वय तथा सहायता, प्रहरी कार्य, सुरक्षा तथा राजस्व संकलन, बन्द हड्ताल/विरोधका गतिविधि, अवैध/वेवारिसे हातहतियार नष्ट, प्रहरी प्रशासन, मनोबल तथा कल्याण, प्रहरी कल्याणकारी कार्यक्रम, नेपाल प्रहरी श्रीमती संघबाट सम्पादित कार्यक्रमहरू, प्रदेश प्रहरी कार्यालयका अभियानहरू, नीति तथा योजना कार्यान्वयनको अवस्था, प्रहरी समायोजन एवम् उपलब्धी/भावी योजना सम्बन्धी उपस्थित सञ्चारकर्मीहरूलाई उहाँले विस्तृत रूपमा जानकारी दिनुभयो । प्रहरी नायव महानिरीक्षक ढकालले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको निरूपण गर्दै नेपाल प्रहरीको कार्ययोजना, २०८० लागू गरी कार्ययोजनाबाट अपराध रोकथाम, नियन्त्रण एवम् अनुसन्धान गर्ने, सम्बन्धित अन्य सरोकारवाला निकायहरूसँग समन्वय गर्ने, प्रविधिलाई जोड दिने लगायतका विषयलाई प्राथमिकतामा राखेर नेपाल प्रहरीले कार्य गर्दै आइरहेको बताउनुभयो । कार्ययोजना तथा प्रदेश प्रमुखहरूले प्रहरी महानिरीक्षकज्यूसँग गरेको कार्यसम्पादन सम्झौता नै प्रहरी अधिकृतहरूको मूल्याङ्कनको कडि भएको र उक्त सम्झौता बमोजिम सम्पन्न भएका कार्यहरू सन्तोषजनक रहेको र आगामी दिनमा विस्तार गर्दै लैजाने उल्लेख गर्दै प्रहरी नायव महानिरीक्षक ढकालले भन्नुभयो, “प्रहरी महानिरीक्षकज्यूबाट पनि विशेष गरी सम्पूर्ण कामहरूको अतिरिक्त प्रहरी शुद्धिकरण हुनुपर्छ, इमानदार हुनुपर्छ, व्यावसायिक हुनुपर्छ, निष्ठावान हुनुपर्छ तबमात्रै हामीले नागरिकलाई उचित सेवा दिन सक्छौं, नागरिकलाई सुशासन दिन सक्छौं, नागरिकलाई शान्ति सुरक्षाको अनुभूति दिन सक्छौं भन्ने मान्यतामै हाम्रो नेतृत्व र संगठन अगाडि बढिराखेको छ ।”   प्रहरी नायव महानिरीक्षक ढकालले जबरजस्ती करणी एवम् आत्महत्या जस्तो अपराध परिवारमै, चिनजानकै व्यक्तिबाट धेरै हुने गरेको तथ्याङ्कले देखाएको बताउँदै जबरजस्ती करणी एवम् महिलाप्रति हुने दुर्व्यवहार न्यूनीकरण गर्नका लागि प्रहरीले विभिन्न अभियानहरू नै संचालन गरेको बताउनुभयो । आत्महत्या रोक्नको लागि सचेतनाको अतिरिक्त स्थानीय विज्ञहरू एवम् नागरिकसँग समन्वय परामर्श दिने कार्य समेत भएको उल्लेख गर्दै आत्महत्या न्यूनीकरण गर्न प्रहरीले मात्रै सम्भव नहुने हुँदा परिवारबाट अभिभावकत्वको साथै समाजका अगुवा एवम् अन्य संघसस्था/निकाय तथा स्थानीय तह समेतले समन्वय गर्दै महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने उहाँले बताउनुभयो । गस्ती पेट्रोलिङलाई बढाउने, प्रहरीको उपस्थिति बढाउने लगायत सचेतना अभियान फैलाउने काम समेत तीव्र गतिमा भइरहेको उहाँले चर्चा गर्नुभयो ।  प्रहरी नायव महानिरीक्षक ढकालले जनसंख्या, शहरीकरण, जनघनत्व आर्थिक क्रियाकलापहरू अन्यको तुलनामा जहाँ धेरै हुन्छ त्यहाँ अपराधका घटनाहरू पनि बढि हुने उल्लेख गर्दै अपराध किन सिर्जना भइरहेको छ, अपराधका घटना किन हुन्छन् भन्ने सन्दर्भमा पनि प्रहरी संगठनले चासो राख्दै तथ्य संकलन र अनुसन्धान गर्ने नीति लिएको बताउनुभयो । स्थानीय तह लगायत सरोकारवाला निकाय अनुसन्धान भई सुझाव प्राप्त भएमा त्यस्ता सुझावबाट अपराध रोकथाम गर्न सहयोग पुग्ने विचार व्यक्त     गर्नुभयो । अहिलेको अवस्थामा राष्ट्रकै समस्याको रूपमा देखा परेको युवावर्गहरू विदेश जाने परिपाटीको असर नेपाल प्रहरीमा पनि रहेको हुँदा नेपाल प्रहरीमा भर्नाको लागि स्थानीय युवाहरूलाई आकर्षित गर्न मातहत प्रहरी कार्यालयहरूमा विभिन्न कार्यक्रमहरू संचालन गरी प्रयास गरिरहेको उहाँले उल्लेख गर्नुभयो । संगठनको हितको लागि सञ्चारकर्मीहरूबाट प्राप्त उपयोगी राय सुझावप्रति आभार व्यक्त गर्दै प्रहरी र सञ्चारकर्मीहरू बिच सहकार्य र समन्वयलाई अझ राम्रो र प्रगाढ बनाउँदै समाजलाई सुरक्षित, शान्त बनाउने अभियानमा एकसाथ हिँड्न सकौं भन्ने कामना समेत उहाँले व्यक्त गर्नुभयो । विभिन्न समसामयिक विषयमा सञ्चारकर्मीहरूसँग छलफल तथा अन्तरक्रिया गरिएको उक्त कार्यक्रममा विभिन्न संचारमाध्यमका सञ्चारकर्मीहरु तथा प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।  

हराएका २० वटा दुईपाङग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण
२०८०-१२-१३

काठमाडौं, विभिन्न मितिमा हराएका २० वटा दुईपाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले मंगलबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच सोही कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले १८ वटा मोटरसाइकल र २ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभएको हो । उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा, केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा पेप्सीकोला, कपन, बौद्ध, गौशाला, सुन्धारा, माछापोखरी, स्वयम्भू, चापागाउँ, बुङ्गमती लगायतका स्थानबाट हराएका सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो । चालु आर्थिक वर्षको हालसम्म ट्राफिक प्रहरीले आज बुझाइएका २० वटा सहित २ सय ८५ वटा सवारी साधन सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ । अवैध रूपमा नेपाल भित्रिएका १७ वटा सवारी साधनलाई भने भन्सार कार्यालयमा बुझाइएको प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले सोही कार्यक्रममा जानकारी दिनुभयो । चालु आर्थिक वर्षको हालसम्म चोरीका २४ वटा दुईपाङ्ग्रे सवारी साधन सहित संलग्न २९ जनालाई पनि कारवाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ । सवारी साधन चोरी तथा हराउनबाट जोगाउन आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत  सुरक्षा साइरनहरु जडान गरी सवारी साधन चोरी तथा हराउनबाट रोक्न विभिन्न उपायहरु अवलम्वन गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ । सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।

३० जना प्रहरी कर्मचारीहरूलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान
२०८०-१२-१२

काठमाडौं, नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय सामाखुशीले ३० जना प्रहरी कर्मचारीहरूलाई विपद् व्यवस्थापन आधारभूत तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही कार्यालयमा ३३औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो । उक्त तालिम समापनका अवसरमा सोमबार आयोजित कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डम्बर बहादुर बिकले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो । कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक हरिकृष्ण केसीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै माघ १५ गतेदेखि संचालित उक्त तालिममा प्रहरी निरीक्षक १ जना, प्रहरी नायव निरीक्षक १ जना, प्रहरी सहायक निरीक्षक २ जना, प्रहरी सहायक हवल्दार ३ जना र प्रहरी जवान २३ जना गरी जम्मा ३० जना प्रशिक्षार्थीहरूले सफलतापूर्वक तालिम हासिल गरेको जानकारी दिनुभयो ।  

सकारात्मक सोँच तथा तनाव व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
२०८०-१२-१२

प्यूठान, प्यूठान जिल्लास्थित सुरक्षाकर्मीहरूलाई लक्षित ‘सकारात्मक सोँच तथा तनाव व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम’ आइतबार सम्पन्न भएको छ ।  जिल्ला प्रहरी कार्यालय प्यूठानको आयोजना, जिल्ला प्रशासन कार्यालय प्यूठानको समन्वय तथा कर्ण सकारात्मक कोषको प्राविधिक सहयोगमा मल्लरानी गाउँपालिका-४ खलङ्गास्थित जिल्ला समन्वय समितिको सभाहलमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा कर्ण सकारात्मक कोषका संरक्षक कर्ण शाक्यले किताबी ज्ञान भन्दा जिवनको भोगाइ र अनुभवबाट सिप आर्जन गर्नुपर्ने चर्चा गर्नुभयो । कुनै पनि काम उद्देश्य सहित गर्नुपर्ने, सकारात्मक र अटल सोच राख्नुपर्ने, पद र अधिकारको सदुपयोग गर्नुपर्ने एवम् समय व्यस्थापनमा बिशेष जोड दिनुपर्ने विचार व्यक्त गर्दै उहाँले संकिर्ण सोँचको अन्त्य गरी प्रहरी जीवनलाई व्यवसायिक बनाउनु पर्दछ र सधैँ सकारात्मक सोँच राखी काम गर्नुपर्ने बताउनुभयो । सो अवसरमा कार्यक्रमका अध्यक्ष एवंम् प्यूठान जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले हाम्रो जिम्मेवारीले पनि  हामीलाई तनावको अवस्थामा पुर्‍याउने हुनाले तनाव व्यवस्थापन आफैबाट सकारात्मक सोँचका साथ सुरु गर्नुपर्ने बताउनुभयो । जिल्ला प्रहरी कार्यालय प्यूठानका कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक इश्‍वर थापाले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यक्रमको औचित्य बारेमा जानकारी दिनुभएको उक्त कार्यक्रममा कर्ण सकारात्मक कोषका प्रमुख सल्लाहकार जोस बहादुर निरौलाले तनावको परिभाषा, यसका प्रकार, लक्षण र समाधान, नकारात्मक तनावले पुर्‍याउने क्षतिको सम्बन्धमा जानकारी दिँदै तनाव व्यवस्थापनको व्यवहारिक अभ्यास समेत गराउनु भएको थियो ।कार्यक्रममा जिल्लास्थित सुरक्षा निकाय एवम् विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो ।

मस्तिष्कघात सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न
२०८०-१२-०९

 काठमाडौं, नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालयमा उपेन्द्र देवकोटा फाउण्डेसनको आयोजनामा मस्तिष्कघात सम्बन्धी सचेतना कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।   कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक डा.आशा सिंहले प्रहरी कर्मचारीहरूको स्वास्थ्य सेवाप्रति प्रहरी अस्पतालको दायित्व रहेको र प्रहरी कर्मचारीहरूको स्वास्थ्यलाई प्राथमिकतामा राखेर प्रहरी अस्पतालले विभिन्न प्रहरी युनिटहरूमा स्वास्थ्य जाँच सम्बन्धी कार्यक्रम संचालन समेत गरेको उल्लेख गर्नुभयो ।   उपेन्द्र देवकोटा फाउण्डेसनका प्रमुख कार्यकारी अधिकृत मिलन गुरूङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा सोही फाउण्डेसनका डा. धनश्याम खेरल, डा. सुवास फुयाँल र डा. सुरज थुलुङले मस्तिष्कघात सम्बन्धी प्रस्तुतिकरण गर्नुका साथै उपस्थित प्रहरी अधिकृतहरूबाट उठेका जिज्ञासाहरूको निरूपण समेत गर्नुभयो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत एवम् जवानहरूको उपस्थिति रहेको थियो ।      

सवारी चालक (हेभी) उन्नत तालिम शुरू
२०८०-१२-०१

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा २७ औं समूहको सवारी चालक (हेभी) उन्नत तालिम संचालन भएको छ ।उक्त तालिमको सोही महाशाखाका प्रहरी नायव उपरीक्षक अनुप श्रेष्ठले महाशाखामा बिहीबार आयोजित कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो । प्रहरी निरीक्षक ई. अञ्जन राज खरेलले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै १६ कार्यदिन अवधिको उक्त तालिममा प्रहरी हवल्दार ४ जना, प्रहरी सहायक हवल्दार १८ जना र प्रहरी जवान ८ जना गरी जम्मा ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।