नियन्त्रित लागूऔषध सहित ६ जना पक्राउ
२०७९-०९-२५
- A
- A-
- A+
धनुषा, बिदेह नगरपालिका-१ मैनाथपुर नाकाबाट नियन्त्रित लागूऔषध डाइजेपाम ७५ एम्पुल, फेनारगन ७० एम्पुल, आइपिपिएल इन्जेक्सन ७५ वटा सहित २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सबैला नगरपालिका-४ मखनाहा बस्ने ३४ वर्षीय खलिल राइन र गणेशमान चारनाथ नगरपालिका-४ बस्ने २७ वर्षीय महमद कमरे आलम रहेका छन् । प्रहरी चौकी ठाडीझिझाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.२-०२-००४ प ६३१५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा ज्याकेटभित्र राखी ल्याएको उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकलमा सवार उनीहरुलाई पक्राउ गरेको हो ।
नवलपरासी(पश्चिम), सुनवल नगरपालिका-१२ भुमही चोकबाट नियन्त्रित लागूऔषध फेनारागन २१ एम्पुल, डाईजेपाम २१ एम्पुल, नुर्फिन ३१ एम्पुल सहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङ घोराही उपमहानगरपालिका-१५ शान्तिटोल बस्ने २७ वर्षीय सनम पुन मगर र सोही ठाउँ बस्ने २१ वर्षीय विराट केसी रहेका छन् । सुनवल नगरपालिका-१२ भुमहीस्थीत एक होटलमा बसेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय नवलपरासी(पश्चिम), ईलाका प्रहरी कार्यालय सुनवल र अस्थाई प्रहरी पोष्ट भुमहीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चौकबाट नियन्त्रित लागूऔषध लुपिजेशिक ४ एम्पुल, एभिल ४ एम्पुल, डाइजेपाम ४ एम्पुल, फेनारगन ४ एम्पुल र नाइट्राजेपाम १० चक्की सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लेटाङ नगरपालिका-२ बस्ने २४ वर्षीय हेमन लिम्बु र सोही नगरपालिका-३ बस्ने २५ वर्षीय सुजन लिम्बु रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।