प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

साइबर अपराधमा कानूनी प्रणाली र डिजिटल फरेन्सिक सम्बन्धि क्षमता अभिवृद्धि कार्यशाला गोष्ठी शुरु

२०७९-०९-२८

  • A
  • A-
  • A+
Share

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय साइबार व्यूरो भोटाहिटी र KOICA (Korea International cooperation Agency) को संयुक्त आयोजनामा साइबर अपराधमा कानूनी प्रणाली र डिजिटल फरेन्सिक सम्बन्धि दुई दिवसीय दोस्रो क्षमता अभिवृद्धि  कार्यशाला गोष्ठी काठमाडौंमा बिहीबार शुरू भएको छ । 

गोष्ठी शुभारम्भ गर्दै साइबर व्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले साइबर अपराधमा भएका अपराधका ढाँचा, साइबर अपराधमा प्रयोग भएका विभिन्न प्रविधि र अन्तर्राष्ट्रियस्तरमा साइबर अपराध नियन्त्रणमा भएका प्रयासहरू लगायतका विषयमा गोष्ठीमा छलफल तथा अन्तरक्रिया हुने भएकोले सहभागी प्रहरी कर्मचारीहरूले गोष्ठीबाट बढी भन्दा बढी फाइदा लिनुपर्ने बताउनुभयो ।

उक्त अवसरमा KOICA नेपालका प्रोजेक्ट मेनेजर प्रो.Gibum kim ले कोइका परियोजना सम्बन्धमा विषयमा जानकारी दिँदै कार्यशाला गोष्ठीमार्फत सहभागीहरूले साइबर अपराध अनुसन्धान र डिजिटल फरेन्सिकको बारेमा नयाँ जानकारी हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो । साथै साइबर अपराध अनुसन्धान र डिजिटल फरेन्सिकको क्षेत्रमा भएको अनुभव समेत गोष्ठीमा आदानप्रदान गरिने उहाँले बताउनुभयो । 

गोष्ठीमा कोरियास्थित विश्वविद्यालयका प्रोफेसरहरूले Introduction of  Criminal Justice and role of prosecutors in Korea, International legal framework on cyber crime, Trasnborder access to the cloud data and jurisdiction, Artificial intelligence in digital Forensics र Cyber Security threats and the police’s response लगायतका विषयमा प्रशिक्षण गराउने कार्यक्रम रहेको छ । मानवअधिकार, डिजिटल फरेन्सिक एन्ड इन्टरनेशनल कन्भेन्सन सम्बन्धी जानकारी प्रदान गरी साइबर अपराधविरुद्ध नेपाल प्रहरीको क्षमतालाई सुदृढ गर्ने उद्देश्यले उक्त कार्यशाला गोष्ठी आयोजना गरिएको उक्त अवसरमा जानकारी दिइयो ।

शुक्रबार सम्पन्न हुने उक्त गोष्ठीमा KOICA नेपालका प्रतिनिधिहरू, नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्यूरो, साइबर व्यूरो, सूचना प्रविधि निर्देशनालय, डिजिटल फरेन्सिक ल्याब र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी अधिकृतहरूको सहभागिता रहेको छ । 



सम्बन्धित समाचार
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-१२-०८

 बर्दिया, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी बाँसगढी नगरपालिका-६ बस्ने अमर सिंह थारुलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत बर्दियाको २०७९ कात्तिक २९ गतेको फैसालाले कर्तव्य ज्यान मुद्दामा १२ वर्ष कैद, १ लाख रुपैयाँ जरिवाना र २५ हजार रुपैयाँ क्षतिपुर्ति सजाय ठहर भई फरार भएका उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले बाँसगढी नगरपालिका-६ मोतिपुरबाट पक्राउ गरेको हो ।उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बर्दियामा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय बर्दिया पठाइएको छ ।   

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०७९-१२-०८

काठमाडौं, नेपाल सरकार मन्त्रिपरिषद्को २०७९ चैत ६ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनु भएका ५ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ ।प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएका बसन्त बहादुर कुँवर, टेक प्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । समारोहमा प्रहरी महानिरीक्षक सिंहले पदोन्नति भएका प्रहरी अधिकृतहरुको व्यक्तिगत, पारिवारिक र व्यावसायिक जीवनको सफलताको शुभकामना दिँदै पदोन्नति भएका मध्यबाटै संगठन प्रमुख हुने भएकोले आगामी दिन संगठन प्रमुखको रुपमा प्राप्त हुने जिम्मेवारी बहन गर्नका लागि तयार रहन निर्देशन दिनुभयो ।   प्रहरी महानिरीक्षक सिंहले लामो समयपछि पदोन्नति सुचारू भएकोमा नेपाल सरकारप्रति आभार व्यक्त गर्दै संगठनको उच्च तहमा रहने प्रहरी अधिकृतहरुलाई चौतर्फी रुपमा चुनौतीको सामना गर्नु पर्ने भएकोले उक्त चुनौती  र जिम्मेवारीलाई कुशलता पूर्वक निर्वाह गर्नुपर्ने बताउनुभयो । प्रहरी महानिरीक्षक सिंहले संगठनको नेतृत्वसँगै नेपाल प्रहरीलाई कसरी गतिशिल र चलायमान बनाउन सकिन्छ भन्ने बारेमा योजना बनाउनु पर्ने बताउँदै संगठनको आगामी नेतृत्व अव्बल व्यक्तिको हातमा जाने विश्वाससमेत व्यक्त गर्नुभयो ।  उक्त अवसरमा पदोन्नति हुनुभएका प्रहरी अतिरिक्त महानिरीक्षकहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी महानिरीक्षकलगायत बढुवा प्रकियामा सहभागी सम्पूर्णप्रति आभार व्यक्त गर्दै पदोन्नतिसँगै गहन जिम्मेवारीको बढोत्तरी हुने हुँदा प्राप्त जिम्मेवारी कुशलतापूर्वक बहन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । संगठनप्रति बफादार रहि संगठनको श्रीवृद्धि गर्न दृढ संकल्पित रहने बताउनु हुँदै उहाँले समग्र सुरक्षा र अपराध अनुसन्धानको जिम्मेवारी बोकेको प्रहरी संगठनमा संगठनप्रति व्यवसायिक र निष्ठावान रहि जिम्मेवारी बहन गर्ने कार्यमा सबैको सत्प्रयास अपरिहार्य रहेको विचार व्यक्त गर्नुभयो । समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरुको उपस्थिति रहेको थियो ।

अवैध लागूऔषधसहित ११ जना पक्राउ
२०७९-१२-०८

 मकवानपुर, थाहा नगरपालिका-८ चौतराबाट अवैध लागूऔषध गाँजा करिब ४५ केजीसहित सोही ठाउँ बस्ने ५७ वर्षीय लाल बहादुर घलानलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनले आफ्नै घरमा लागूऔषध गाँजा विक्री वितरण गरेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले तलासी गर्दा उनको घरबाट उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । साथै उनकै भाइ शेर बहादुरको घरबाट करिब ६३ केजी अवैध लागूऔषध गाँजा पारी प्रहरीले बरामद गरेको छ । हाल फरार शेर बहादुरको प्रहरीले खोजी गरिरहेको  छ ।   दाङ, गढवा गाउँपालिका-४ स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब १० ग्रामसहित घोराही उपमहानगरपालिका-१५ बस्ने १९ वर्षीय त्रिशक्ति बर्तौलासमेत ५ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ रहेको खाली घरमा लागूऔषध सेवन गरिरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले घर तलासी गर्ने क्रममा उक्त लागूऔषध फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्राम ६८ मिलिग्रामसहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही महानगरपालिका-११ बस्ने २० वर्षीय बिनायक शर्मा र २३ वर्षीय अमर कुमार साह रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको को.८ प ७६२ नम्बरको मोटरसाइकललाई लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब १ ग्राम ५० मिलिग्रामसहित  २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुनसरी धरान उपमहानगरपालिका-१६ बस्ने २१ वर्षीय मोहन श्रेष्ठ र तेह्रथुम लालीगुँरास नगरपालिका-७ बस्ने २८ वर्षीय राजेन्द्र भण्डारी रहेका छन् ।  लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीले शंका लागि भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरुलाई जाँच गर्ने क्रममा उक्त लागूऔषसहित फेला पारी पक्राउ गरेको हो । काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ४ सय ६३ ट्याव्लेटसहित सर्लाही लालबन्दी नगरपालिका-१५ बस्ने २४ वर्षीय संजय कुमार स्याङतानलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले ना.५ ख ७९४३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषधसहित ९ जना पक्राउ
२०७९-१२-०८

 झापा, दमक नगरपालिका-१ हवल्दार चोकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित मंलगबार राति ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २८ वर्षीय मुना राई, २४ वर्षीय संन्जय राई,  सोही नगरपालिका-९ बस्ने २८ वर्षीय रविन धिमाल र १९ वर्षीय निशान नेपाली रहेका छन् । चोकमा लागूऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमक र प्रहरी पोष्ट फागुनन्दबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुले उक्त पदार्थ निशान नेपालीबाट खरिद गरी ल्याएको भने अनुसन्धानको क्रममा खुल्न आएपश्चात निशानलाई समेत प्रहरीले पक्राउ गरेको हो । धादिङ, गजुरी नगरपालिका-६ आदमघाटबाट अवैध लागूऔषध गाँजा करिब ४ केजीसहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रुपन्देही ओमसतिया  गाउँपालिका-४ बस्ने १९ वर्षीय मोहमद सरिफ खान र रुहणी गाउँपालिका-१ बस्ने २३ वर्षीय ईरफान खान रहेका छन् । अस्थायी प्रहरी पोष्ट आदमघाटबाट खटिएको प्रहरीले पैदल हिडीरहेका उनीहरुलाई शंका लागी जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको छ ।  मोरङ, कानेपोखरी गाउँपालिका-५ भौसावारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय ६० मिलीग्रामसहित उर्लाबारी नगरपालिका-२ बस्ने २९ वर्षीय मिलन ढकाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले मे. ८ प ९५०७  नम्बरको मोटरसाइकलमा सवार उनलाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । मकवानपुर, हेटौडा उपमहानगरपालिका-३ लेवटबाट अवैध लागूऔषध गाँजा करिब ४ केजीसहित सोही उपमहानगरपालिका-११ थानाभर्‍याङ बस्ने २४ वर्षीय पासाङ दोर्जेललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लेवटबाट खटिएको प्रहरीले ना.२८ प २८४७ नम्बरको मोटरसाइकलमा सवार दोर्जेललाई उक्त लागूऔषधसहित पक्राउ गरेको   हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । सिरहा,  धनगढीमाई नगरपालिका-८ कसहा बस्ने ७४ वर्षीय चौधरी महतोलाई अवैध लागूऔषध गाँजा ५ केजी ३ सय ग्रामसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । आफ्नै घरमा लुकाई छिपाई गाँजा विक्री वितरण गरेको भन्ने विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो सिरहा, ईलाका प्रहरी कार्यालय धनगढी र अस्थाई प्रहरी पोष्ट कसहाबाट संयुक्त रुपमा खटिएको प्रहरीले तलासी गर्ने क्रममा उनकै सुत्ने कोठाबाट उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।