छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषध सहित नौ जना पक्राउ
२०७९-११-०३
- A
- A-
- A+
कैलाली, गोदावरी नगरपालिका-१ बस्ने २४ वर्षीय सुमन थापालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ३ सय ९० मिलिग्राम सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनको घरबाट उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-१० खप्तड इँटाभट्टा नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ सय ५० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१५ बस्ने २३ वर्षीय हुकुम राना र उनकै श्रीमती २३ वर्षीया निलु चौधरी रहेका छन् । अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरीले सु.प.प्र.०१-००९प २५८३ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
चितवन, भरतपुर महानगरपालिका-९ पारस बसपार्कबाट अवैध लागूऔषध गाँजा करिब ४ केजी सहित सोही महानगरपालिका-१३ बस्ने २८ वर्षीय सन्तोष गुरुङलाई गएराति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी नारायणगढबाट खटिएको प्रहरीले ना.२१ प १७२७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक गुरुङलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
मोरङ, सुन्दरहरैचा नगरपालिका-१० खोर्साने चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ २ ग्राम २८ मिलिग्राम सहित सोही ठाउँ बस्ने २८ वर्षीय सुरज थापा मागरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित
फास्टफुड संचालन गरी बस्ने मगरले लागूऔषध बिक्री वितरण गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय विराटचोकबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
जुम्ला, चन्दननाथ नगरपालिका-७ बाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम र नगद २६ हजार १ सय रुपैयाँ सहित सोही नगरपालिका-९ उमखोला बस्ने १९ वर्षीय कविन्द्र रावललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले क.१ ज ४८ नम्बरको ईको भ्यानमा बसिरहेका उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
नवलपरासी (पूर्व), मध्यबिन्दु नगरपालिका-१५ बडर खोलास्थितबाट फेनारगन १ सय १० एम्पुल, डाईजेपाम १ सय १० एम्पुल समेतका नियन्त्रित लागूऔषध सहित नवलपरासी (पश्चिम) सरावल गाउँपालिका-४ बस्ने १८ वर्षीय किशोर समेत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) बाट खटिएको प्रहरीले लु.१ ख ८५९६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
धनकुटा, साँगुरीगढी गाउँपालिका-६ कोलबोटेबाट अवैध लागूऔषध गाँजा करिब ७० केजी मंगलबार साँझ प्रहरीले बरामद गरेको छ । ईलाका प्ररही कार्यालय भेडेटारबाट खटिएको गस्ती प्रहरीलाई देख्नासाथ मोटरसाइकलहरु राखी भेलाजम्मा भई बसेका करिब ७ जना मानिसहरु जंगलतर्फ भागेपश्चात उनीहरुलाई खोजी गर्ने क्रममा उक्त स्थानदेखि करिब ५० मिटर तल जंगलमा बोरा तथा जेब्रा झोलामा लुकाई छिपाई राखेका उक्त लागूऔषध र ४ थान मोटरसाइकल फेला पारी प्रहरीले बरामद गरेको हो । हाल फरार व्यक्तिहरुको खोजी भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।