अवैध लागूऔषधसहित पक्राउ
२०८०-०१-१५
- A
- A-
- A+
काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ३ सय ३० ट्याबलेटसहित रामेछाप मन्थली नगरपालिका-२ बस्ने १९ वर्षीय बिष्णु बस्नेतलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोबाट संयुक्त रूपमा खटिएको टोलीले धरानदेखि काठमाडौंतर्फ आउँदै गरेको ना.७ ख ९३६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
धादिङ, गजुरी गाउँपालिका-१ गजुरी बजारबाट अवैध लागूऔषध गाँजा ९ केजी ८ सय ७५ ग्रामसहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा निलकण्ठ नगरपालिका-६ बस्ने २७ वर्षीय प्रकाश पोख्रेल र गजुरी गाउँपालिका-६ बस्ने ३६ वर्षीय ओम बहादुर मगर रहेका छन् । ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले काठमाडौंबाट भैरहवातर्फ जाँदै गरेको लु.१ ख ९९१७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार प्रकाशको साथबाट ४ केजी २ सय ग्राम र ओम बहादुरको साथबाट ५ केजी ६ सय ७५ ग्राम गाँजा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम ७० ट्याब्लेट, लुपिजेसिक २ एम्पुल, एभिल २ एम्पुल, फेनारगन २ एम्पुल र डाइजेपाम २ एम्पुलसहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-३ बस्ने १९ वर्षीय सुनिल राई र सोही ठाउँ बस्ने २० वर्षीय प्रदिप लिम्बु रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।