अवैध लागूऔषधसहित पक्राउ
२०८०-०२-०१
- A
- A-
- A+
बर्दिया, गुलरिया नगरपालिका-९ गोडियनपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय ६० मिलिग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुलरिया नगरपालिका-९ टेपरी बस्ने ३० वर्षीय अवदेश यादव र भारत घर भएका २३ वर्षीय दिपक कुमार पासवान रहेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दिया र ईलाका प्रहरी कार्यालय मथुराबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपि ४० आर ३४१५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ९ ग्रामसहित सोही उपमहानगरपालिका-४ देवाफुलबारी बस्ने २८ वर्षीय साद्दव खाँनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंजबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
मोरङ, सुनवर्षी नगरपालिका-८ सिक्टीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ सय ९० मिलिग्रामसहित २ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत घर भएका २२ वर्षीय निर्मल कुमार सिंह र १९ वर्षीय धिरज कुमार सिंह रहेका छन् । प्रहरी सिक्टीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३८ एस ०३८३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
कैलाली, टीकापुर नगरपालिका-१ सतघरुवा बस्ने २८ वर्षीय प्रकाश चौधरीसमेत ३ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ८० मिलिग्रामसहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । चौधरीको घरमा लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी कैलाली, टीकापुर नगरपालिका-१ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ सय ९० मिलिग्रामसहित सोही नगरपालिका-१ ज्योतीनगर डेरा गरी बस्ने अछाम विनायक पञ्चदेवल नगरपालिका-७ पुल्यतोला घर भएका १८ वर्षीय किशोरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।