७० जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान
२०८०-०२-०८
- A
- A-
- A+
काठमाडौं, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ७० जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सो कार्यालयमा संचालित ट्राफिक नियन्त्रण तालिम १४७औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा सोमबार आयोजित तालिम समापन कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो ।
उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक पोखरेलले सेवा प्रवाहको क्रममा आफ्नो बोली, बचन र व्यवहारलाई अझ उत्कृष्ट बनाउनुपर्ने उल्लेख गर्दै तालिमबाट प्राप्त व्यावसायिक सीप एवम् क्षमतालाई संगठनको उद्देश्य अनुरूप काम गर्न प्रशिक्षार्थीहरुलाई निर्देशन दिनुभयो ।
कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक सुनिल मल्लले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत चैत १४ गतेदेखि संचालित उक्त तालिममा प्रहरी हवल्दार ३ जना, प्रहरी सहायक हवल्दार २० जना र प्रहरी जवान ४७ जना गरी कुल ७० जना प्रशिक्षार्थीहरुले तालिम हासिल गरेको जानकारी दिनुभयो ।