अवैध लागूऔषध सहित पक्राउ
२०७८-०७-२४
- A
- A-
- A+
मकवानपुर, मनहरी गाउँपालिका-९ जयसिंहस्थित सडकबाट १ सय २२ केजी अवैध लागूऔषध गाँजा सहित राक्सीराङ गाउँपालिका-२ बस्ने ४२ वर्षीय नर बहादुर मुक्तानलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उक्त सडक किनारामा मुक्तानलाई शंकास्पद सामानको सुरक्षा गरी बसिरहेको अवस्थामा फेला पारी जाँच गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । उनी उपर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
कास्की, पोखरा महानगरपालिका-८ सिमलचौरबाट नियन्त्रित लागूऔषध डाईजेपाम ७४ एम्पुल, ब्रुफिनुर्फिन ७० एम्पुल र फेनेरागन ७२ एम्पुल सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका-९ नयाँबजार बस्ने लमजुङ दोर्दी गाउँपालिका-७ घर भएकी ३१ वर्षीया प्रेमा गुरुङ र गुल्मी मालिका गाउँपालिका-२ घर भएकी ३१ वर्षीया कोपिला अर्याल रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले शंकास्पद अवस्थामा फेला पारी जाँच गर्दा उनीहरुको साथबाट उक्त परिमाणको लागूऔषध फेला पारी पक्राउ गरेको हो । उनीहरु उपर कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी मुद्दामा ८ दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
मोरङ, उर्लाबारी नगरपालिका-३ मंगलबारे धिमाल टोलबाट करिब १ ग्राम ४ सय ३० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर र नगद ५० हजार ४ सय रुपैयाँ सहित सोही ठाउँ बस्ने २३ वर्षीय सबिन लिम्बुलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।