प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

हतियार चोरी गरेको अभियोगमा दुई जना पक्राउ

२०८०-०४-२२

  • A
  • A-
  • A+
Share

काठमाडौं, कागेश्वर मनोहरा नगरपालिका-१ गागलफेदी बस्ने प्रहरी नायव निरीक्षक प्रभाकर खड्काको घरबाट पेस्तोल १ थान, म्याग्जिन १ थान र सोको गोली ७ राउण्ड चोरी गरेको घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सिन्धुली गोलन्जार गाउँपालिका-४ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-५ नारायणटार डेरा गरी बस्ने २४ वर्षीय मेघ बहादुर तामाङ र सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका-४ घर भई काठमाडौं तारकेश्वर नगरपालिका फुटुङ डेरा गरी बस्ने २४ वर्षीय बासुदेव थामी रहेका छन् । 

प्रहरी नायव निरीक्षक खड्काको घरबाट गत असार ३१ गते राति उक्त हतियार चोरी भएको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले खोजी तथा अनुसन्धानको क्रममा तामाङको डेरा कोठाबाट  उक्त हतियार, मोबाइल ५ थान र नगद ६० हजार रुपैयाँसहित तामाङलाई पक्राउ गरेको र थप अनुसन्धानको क्रममा उनकै भान्जा पर्ने थामीले उक्त हतियार राख्न दिएको खुल्न आएपछि थामीलाई समेत तारकेश्वर फुटुङबाट पक्राउ गरेको हो । 

उनीहरूउपर चोरी सम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरी वृत्त बौद्धबाट आवश्यक अनुसन्धान भइरहेको छ ।


सम्बन्धित समाचार
चोरी गरेका सामानसहित छ जना किशोर पक्राउ
२०८०-०५-३१

बारा, चोरीका विभिन्न समानहरुसहित महागढीमाई नगरपालिका-५ बगडमपुर बस्ने १३ वर्षीय, १२ वर्षीय ३ जना, १० वर्षीय र भारत पूर्वी चम्पारण बस्ने १४ वर्षीय गरी ६ जना किशोरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।  महागढीमाई नगरपालिका-५ बगडमपुर बस्ने नरेन्द्र जैसवालको घरमा शनिबार दिउँसो चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ  प्रहरी चौकी गंजभवानिपुरबाट खटिएको प्रहरीले खोजी तथा अनुसन्धानको क्रममा उनीहरुलाई सिक्री १ थान, सिक्का १४ थान, ढीका १ थान, औठी १ थान, बिन्दिया १४ थान, लकेट २ थान, कानको रिङ ४ थान, फुली ४ थान, क्यामेरा १ थान, मोबाईल १ थान, पित्तलको कचौरा १ थान र  पाएल १३ थान लुकाइ राखेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।  

चोरी गरेको अभियोगमा पक्राउ
२०८०-०५-२९

कास्की, चोरी गरेको अभियोगमा नगद २ हजार नेपाली रुपैयाँ र ७ हजार ३ सय ९० बंगलादेशी टाकासहित पोखरा महानगरपालिका-२८ देउमारी बस्ने १९ वर्षीय विशाल जिसी समेत ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँस्थित बंगलादेशी नागरिकको जेसिसि रिसोर्टको कोठाबाट नगद ७५ हजार नेपाली रुपैयाँ, ३० हजार बंगलादेशी टाका र २ सय अमेरिकी डलर चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय शिशुवाबाट खोजी तथा अनुसन्धानमा खटिएको प्रहरीले उनीहरुलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

चोरी मुद्दाका फरार प्रतिवादी ७ वर्षपछि पक्राउ
२०८०-०४-२३

काठमाडौं, चोरी मुद्दाका फरार प्रतिवादी सल्यान कुमाख गाउँपालिका-४ वस्नेतज्यूला घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-६ बौद्ध नयाँबस्ती बस्ने २९ वर्षीय जीवन बुढाथोकीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला अदालत काठमाडौंको २०७३ माघ ७ गतेको फैसलाले रहजनी चोरी मुद्दामा २ महिना कैद र २ लाख १४ हजार २६ रूपैयाँ जरिवाना ठहर भएकोमा २५ दिन कैद भुक्तान गरी सकेको तथा जरिवाना र बाँकी कैद १ महिना ५ दिन भुक्तान गर्ने बाँकी रही फरार रहेका उनलाई कठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं चावहिलबाट पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत काठमाडौं बबरमहलमा उपस्थित गराइएको छ ।   

मूर्ती चोरी गरेको अभियोगमा १ जना पक्राउ
२०७९-१२-०५

काठमाडौं महानगरपालिका-१५ स्वयम्भू नयाँबस्तीमा रहेको शिवशक्ति धाम मन्दिरबाट सत्य शक्ति देवी लेखिएको ढुंगाको मुर्ती चोरी गरेको अभियोगमा सोही महानगरपालिका-१७ ढल्कु पोडेटोल बस्ने दोलखा भिमसेनथान घर भएकी तेस्रो लिङ्गी २८ वर्षीया कुमारी तामाङलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  गत माघ १६ गते उक्त मूर्ती चोरी भएको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले तामाङको कोठा तलासी गर्ने क्रममा सो मन्दिरबाट चोरी भएको सत्य शक्ति देवी लेखिएको ढुंगाको मुर्ती १ थान,  विभिन्न देवी देवताको आकृती भएको ढुंगाको मूर्ती २४ थान, धातुको मूर्ती २९ थान र धातुको त्रिशुल १ थान फेला पारी उनलाई पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

बृद्धा महिलाहरुलाई ललाई फकाई सुनका गहना चोरी गर्ने पक्राउ
२०७९-०९-०१

कास्की, बृद्धा महिलाहरूलाई ललाई फकाई २७ लाख २ हजार ५८ रूपैयाँ मूल्य बराबरको सुनका गहना चोरी गरेको अभियोगमा पर्वत मोदी गाउँपालिका-६ घर भई कास्की पोखरा महानगरपालिका-४ गणेश टोल बस्ने ३४ वर्षीया टीका श्रेष्ठलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । ‌पोखरा बजारका विभिन्न स्थानका घरमा परिवारका सदस्यहरू नभएको मौका पारी बृद्धा महिलालाई ललाई फकाई गरी भुलाई बृद्धाहरूले घाँटी तथा कानमा लगाएका र घर कोठामा राखेका विभिन्न गहना र नगद रुपैयाँहरू चोरी गरेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय राम बजारबाट खटिएको प्रहरीले चोरी कार्यमा संलग्न श्रेष्ठलाई चोरी भएका धनमाल मध्ये तिलहरि १ थान, औंठी १ थान, फूली १ थान, सिक्री, वाला, औँठी, मोबाइलको साथै चोरी गर्दा लगाएको कपडा सहित पक्राउ गरेको हो ।  उनी उपर जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धि मुद्दामा ५ दिन म्याद थप गरी प्रहरीले आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाएको छ ।

चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ
२०७९-०२-१८

  रोल्पा, चोरीमा संलग्न रहेको अभियोगमा दाङ घोराही उपमहानगरपालिका-१२ हापुर बस्ने १८ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।   रुन्टिगढी गाउँपालिका-५ हापखोलास्थित विवाहमा आएका ती किशोरले सोही विवाहमा आएकी एक महिलाको  घाँटीमा लाएको तिलहरी चुडाई लिएको र दुलहाले चार्जमा राखेको रेडमी कम्पनीको मोबाइल समेत लिई भागेको भन्ने खबर प्राप्त हुनासाथ उनको खोजी गर्ने क्रममा प्रहरी चौकी दुईखोली दाङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । साथै सोधपुछको लागि ती किशोरको मामालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।