अवैध लागूऔषध सहित विभिन्न स्थानबाट आठ जना पक्राउ
२०८१-०८-२८
- A
- A-
- A+
काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित बल्खु पुलमुनीबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ हजार ४ सय ४० ट्याब्लेट, नाईट्राभेट ४ ट्याब्लेट र नगद ५ हजार ५ सय रूपैयाँ सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रे पाँचखाल नगरपालिका घर भई काठमाडौं काँडाघारी बस्ने २३ वर्षीय राजन खड्का र काभ्रे नमोबुद्द नगरपालिका-९ घर भई काठमाडौं थली बस्ने ३० वर्षीय कार्साङ लामा रहेका छन् । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको बा.प्र.०२-०२० प ५०३३ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।
कञ्चनपुर, भिमदत्त नगरपालिका-१८ कटानबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ सय १९ मिलिग्राम सहित सोही ठाउँ बस्ने ४० वर्षीय बिनोद जोशीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, भजनी नगरपालिका-३ मोरीयाघाटबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३० ट्याब्लेट र एभिल १५ ट्याब्लेट सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टिकापुर नगरपालिका अस्नेरी बस्ने ३० वर्षीय नबराज बिक र लम्कीचुहा नगरपालिका-१ भुरूवा बस्ने २९ वर्षीय इमान रावल रहेका छन् । इलाका प्रहरी कार्यालय सूर्यपुर भजनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, भजनी नगरपालिका-३ मोरीयाघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम सहित लम्कीचुहा नगरपालिका-९ प्रतापपुर बस्ने ३५ वर्षीय साजिश चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सूर्यपुर भजनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको से.४ प ५९७८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-८ सिद्धकालीचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६९ ट्याब्लेट र स्पासरेष्ट ४८ ट्याब्लेट सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीय निपेन श्रेष्ठ र २० वर्षीय देवराज धामी रहेका छन् । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।