प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलगायत वरिष्ठ प्रहरी अधिकृतहरुको बिदाइ
२०७९-१२-१०

काठमाडौं, तीस वर्ष सेवा अवधि पूरा गरी सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु तथा प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहबीच बिदाइ गरिएको छ । उहाँहरुलाई नवनियुक्त प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले शुभकामनासहित हार्दिक बिदाइ गर्नुभएको हो । बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले तीन दशक लामो प्रहरी सेवाको व्यावसायिक यात्राबाट औपचारिक बिश्राम लिई निवृत्त हुन लाग्दा भव्य बिदाइ कार्यक्रमको आयोजना गरी आफूलाई हार्दिकतापूर्वक सम्मान दिनुभएकोमा नेपाल प्रहरी संगठन परिवार र नवनियुक्त प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरप्रति हार्दिक आभार प्रकट गर्नुभयो । प्रहरी महानिरीक्षक सिंहले नवनियुक्त प्रहरी महानिरीक्षक ज्यादै व्यावसायिक, कर्तव्यनिष्ठ र दूरदर्शी व्यक्तित्व रहेको चर्चा गर्दै आफ्नो कार्यकालमा उहाँले संगठनलाई थप नयाँ उचाई दिने विश्वास व्यक्त गर्नुभयो । संगठनमा देखिएका यावत् बाह्य तथा आन्तरिक चुनौतिहरूलाई चिरेर जानुपर्ने सुझाव दिँदै संगठनको यश वृद्धिका लागि नवनियुक्त प्रहरी महानिरीक्षकलाई रचनात्मक सहयोग गर्न सबै प्रहरी कर्मचारीलाई उहाँले निर्देशन समेत दिनुभयो । प्रहरी महानिरीक्षक सिंहले आफ्नो नेतृत्व कार्यकालमा सहयोग पुर्‍याउने सबै सकल दर्जाका प्रहरी अधिकृत तथा जवानहरू प्रति आभार समेत प्रकट गर्नुभयो ।  समारोहमा प्रहरी महानिरीक्षक सिंहले आफ्नो कार्यकालमा सम्पादन भएका उल्लेखनीय कार्यहरू एवम् प्रहरी संगठनमा हाल सञ्चालनमा रहेका महत्वपूर्ण कार्यहरू समेटिएर तयार गरिएको कार्य सम्पादन प्रतिवेदन नवनियुक्त प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई हस्तान्तरण गर्नुभयो । साथै नवनियुक्त प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलगायत वरिष्ठ प्रहरी अधिकृतहरूलाई कृतज्ञताको चिनो प्रदान गर्नुभयो । उक्त अवसरमा नवनियुक्त प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सेवानिवृत्त हुन लाग्नुभएका वरिष्ठ प्रहरी अधिकृतलाई राष्ट्र, नागरिक र संगठनप्रति पुर्‍याउनु भएको अमूल्य योगदानका लागि नेपाल प्रहरीको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो । संगठनको दिशानिर्देश गर्ने सम्बन्धमा प्रहरी महानिरीक्षक सिंहबाट बिदाइ सम्बोधनको क्रममा व्यक्त गर्नुभएका शब्द र त्यसका भावनाहरूलाई हृदयङ्गम गरी संगठनलाई मन, वचन र कर्मले नेतृत्व प्रदान गर्ने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो । सामूहिक नेतृत्वको अवधारणा अनुरूप एकढिक्का भई सबैले अपनत्व ग्रहण गर्नसक्ने संगठनको निर्माणलाई पहिलो प्राथमिकतामा राख्ने उहाँले उल्लेख गर्नुभयो ।  प्रणालीगत र पद्दतीगत विकासले संगठनको सुदृढिकरण सुनिश्चित भई बाह्‍य हस्तक्षेप निरुत्साहित हुने बताउँदै नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरले संगठनमा विगतमा प्रारम्भ भएका असल अभ्यासको निरन्तरता आफ्नो नेतृत्वकालको प्रस्थान विन्दु रहने बताउनुभयो  । प्रहरी संगठनमार्फत आफ्नो सम्पूर्ण उर्जा तथा सिर्जनशीलता देश र नागरिकका लागि समर्पित गरेर बिदाइ हुन लाग्नु भएका वरिष्ठ अधिकृतहरू प्रति नेपाल प्रहरी र तमाम सदस्यहरू सदैव कृतज्ञ रहने बताउँदै नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी संगठनको हितका सवालमा सेवा निवृत्त वरिष्ठ अधिकृतबाट जिवनपर्यन्त अमूल्य सुझाव एवं मार्गदर्शन प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।  समारोहमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती कुसुमलता सिंहलाई समेत बिदाइ गरियो । उहाँलाई श्रीमती लक्ष्मी कुँवर पराजुलीले सम्मान गर्नुभयो ।    प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहसँगै सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी वरिष्ठ अधिकृतहरुमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु सहकुल बहादुर थापा, उत्तम राज सुवेदी र दिवेश लोहनी, प्रहरी नायब महानिरीक्षकहरू नल प्रसाद उपाध्याय, मोहन कुमार आचार्य र मसाउद आलम खाँ तथा प्रहरी वरिष्ठ उपरीक्षकद्वय उमाशंकर पन्जियार र जनक राज पाण्डे रहनुभएको छ । उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृत तथा जवानहरुले समेत सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलगायत प्रहरी वरिष्ठ अधिकृतहरुलाई शुभकामनासहित हार्दिक बिदाइ गर्नुभएको थियो ।

अवैध लागूऔषधसहित पक्राउ
२०७९-१२-१०

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध गाँजा करिब १ सय ४४ केजीसहित कैलाश गाउँपालिका-९ नामटार बस्ने ३० वर्षीय शुबचन्द्र भोम्जनलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले चितवनबाट पूर्व राजबिराजतर्फ जाँदै गरेको ना.६ ख ३०२१ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा लुकाई छिपाई ल्याएको उक्त परिमाणको लागूऔषध फेला पारी ट्रक चालक भोम्जनलाई पक्राउ गरेको हो । कञ्चनपुर, भिमदत्त नगरपालिका-६ ऐठपुर शिवटोल डेरा गरी बस्ने डडेलधुरा आलिताल गाउँपालिका-५ घर भएकी २२ वर्षीया सिमा थापा मगर र २२ वर्षीय राजु बोहरालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ७ मिलिग्रामसहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा नेपाल प्रदेश प्रहरी कार्यालय लागूऔषध नियन्त्रण सेल महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।  सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका-१३ छतौनि बस्ने ४१ वर्षीय भोला यादवलाई अवैध लागूऔषध गाँजा करिब ६ केजीसहित गएराति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय हनुमाननगर र बिओपी  पोष्ट बर्साईन टिकुलियाबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।  झापा, मेचिनगर नगरपालिका-६ स्थित मेचिपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय मिलिग्रामसहित सोही नगरपालिका-७ राधा कृष्ण टोल बस्ने ५० वर्षीया जमुना राजवंशीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेकी उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।  सर्लाही, पर्सा गाउँपालिका-३ नारायणपुरबाट अवैध लागूऔषध गाँजा ९ केजी ७ सय ग्राम बिहीबार राति प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी नारायणपुरबाट खटिएको गस्ति टोलीलाई देख्नासाथ अपरिचित व्यक्तिले बोरा फाली फरार भएपश्चात बोरा तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला परेको हो । हाल फरार व्यक्तिको प्रहरीले खोजी गरिरहेको छ ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।   

७२ जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान
२०७९-१२-०९

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ७२ जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सो कार्यालयमा संचालित ट्राफिक नियन्त्रण तालिम १४६औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।  सोही कार्यालयमा बिहीबार आयोजित तालिम समापन कार्यक्रममा कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक मिरा चौधरीले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त अवसरमा प्रहरी नायब महानिरीक्षक चौधरीले आफ्नो आचरण र व्यवहारमा सुधार गर्दै संगठनको छवि तथा गरिमा उच्च हुने गरी जनअपेक्षा अनुरूप काम गर्न प्रशिक्षार्थीहरुलाई निर्देशन दिनुभयो ।  कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक अनिल कुमार उप्रेतीले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत माघ १० गतेदेखि संचालित उक्त तालिममा प्रहरी सहायक हवल्दार १६ जना र प्रहरी जवान ५६ जना गरी जम्मा ६९ जना प्रशिक्षार्थीहरुले तालिम हासिल गरेको जानकारी दिनुभयो ।

अवैध लागूऔषधसहित पक्राउ
२०७९-१२-०९

झापा, मेचीनगर नगरपालिका-६ मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ४ ग्रामसहित भारत घर भएका ३४ वर्षीय ताहिर हुसैनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । कैलाली, भजनी नगरपालिका-५ मिलनपुरबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३ ग्राम ५ मिलिग्रामसहित घोडाघोडी नगरपालिका-८ बस्ने २१ वर्षीय लक्ष्मण शाहीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले से.२ प ८५७१ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकल चालक शाहीलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।  नवलपरासी (पूर्व), कावासोती नगरपालिका-१६ चालिस किलो जंगलस्थित सडकबाट नियन्त्रित लागूऔषध डाईजेपाम ४३ एम्पुल, नुर्फिन ४३ एम्पुल र फेनारगन ४३ एम्पुलसहित कास्की पोखरा महानगरपालिका-३१ बस्ने ३० वर्षीय बिकास गुरुङ समेत ३ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) बाट खटिएको प्रहरीले ना.७ ख २७४१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।  सुनसरी, धरान उपमहानगरपालिका-४ आँपगाछीस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ३ सय केजी बिहीबार बिहान प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उक्त स्थानमा जिजे ०१ एचक्यू २४६१ नम्बरको स्कारपियो गाडी रोकी राखेको अवस्थामा फेला पारी शंका लागि गाडी जाँच गर्दा झोलामा प्याक गरी राखेको अवस्थामा उक्त परिमाणको लागूऔषध फेला पारेको हो । प्रहरीले हाल फरार व्यक्तिहरूको खोजी गरिरहेको छ ।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०७९-१२-०८

काठमाडौं, नेपाल सरकार मन्त्रिपरिषद्को २०७९ चैत ६ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनु भएका ५ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ ।प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएका बसन्त बहादुर कुँवर, टेक प्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । समारोहमा प्रहरी महानिरीक्षक सिंहले पदोन्नति भएका प्रहरी अधिकृतहरुको व्यक्तिगत, पारिवारिक र व्यावसायिक जीवनको सफलताको शुभकामना दिँदै पदोन्नति भएका मध्यबाटै संगठन प्रमुख हुने भएकोले आगामी दिन संगठन प्रमुखको रुपमा प्राप्त हुने जिम्मेवारी बहन गर्नका लागि तयार रहन निर्देशन दिनुभयो ।   प्रहरी महानिरीक्षक सिंहले लामो समयपछि पदोन्नति सुचारू भएकोमा नेपाल सरकारप्रति आभार व्यक्त गर्दै संगठनको उच्च तहमा रहने प्रहरी अधिकृतहरुलाई चौतर्फी रुपमा चुनौतीको सामना गर्नु पर्ने भएकोले उक्त चुनौती  र जिम्मेवारीलाई कुशलता पूर्वक निर्वाह गर्नुपर्ने बताउनुभयो । प्रहरी महानिरीक्षक सिंहले संगठनको नेतृत्वसँगै नेपाल प्रहरीलाई कसरी गतिशिल र चलायमान बनाउन सकिन्छ भन्ने बारेमा योजना बनाउनु पर्ने बताउँदै संगठनको आगामी नेतृत्व अव्बल व्यक्तिको हातमा जाने विश्वाससमेत व्यक्त गर्नुभयो ।  उक्त अवसरमा पदोन्नति हुनुभएका प्रहरी अतिरिक्त महानिरीक्षकहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी महानिरीक्षकलगायत बढुवा प्रकियामा सहभागी सम्पूर्णप्रति आभार व्यक्त गर्दै पदोन्नतिसँगै गहन जिम्मेवारीको बढोत्तरी हुने हुँदा प्राप्त जिम्मेवारी कुशलतापूर्वक बहन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । संगठनप्रति बफादार रहि संगठनको श्रीवृद्धि गर्न दृढ संकल्पित रहने बताउनु हुँदै उहाँले समग्र सुरक्षा र अपराध अनुसन्धानको जिम्मेवारी बोकेको प्रहरी संगठनमा संगठनप्रति व्यवसायिक र निष्ठावान रहि जिम्मेवारी बहन गर्ने कार्यमा सबैको सत्प्रयास अपरिहार्य रहेको विचार व्यक्त गर्नुभयो । समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरुको उपस्थिति रहेको थियो ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-१२-०८

 बर्दिया, कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी बाँसगढी नगरपालिका-६ बस्ने अमर सिंह थारुलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत बर्दियाको २०७९ कात्तिक २९ गतेको फैसालाले कर्तव्य ज्यान मुद्दामा १२ वर्ष कैद, १ लाख रुपैयाँ जरिवाना र २५ हजार रुपैयाँ क्षतिपुर्ति सजाय ठहर भई फरार भएका उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले बाँसगढी नगरपालिका-६ मोतिपुरबाट पक्राउ गरेको हो ।उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बर्दियामा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय बर्दिया पठाइएको छ ।   

अवैध लागूऔषधसहित ११ जना पक्राउ
२०७९-१२-०८

 मकवानपुर, थाहा नगरपालिका-८ चौतराबाट अवैध लागूऔषध गाँजा करिब ४५ केजीसहित सोही ठाउँ बस्ने ५७ वर्षीय लाल बहादुर घलानलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनले आफ्नै घरमा लागूऔषध गाँजा विक्री वितरण गरेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीले तलासी गर्दा उनको घरबाट उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो । साथै उनकै भाइ शेर बहादुरको घरबाट करिब ६३ केजी अवैध लागूऔषध गाँजा पारी प्रहरीले बरामद गरेको छ । हाल फरार शेर बहादुरको प्रहरीले खोजी गरिरहेको  छ ।   दाङ, गढवा गाउँपालिका-४ स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब १० ग्रामसहित घोराही उपमहानगरपालिका-१५ बस्ने १९ वर्षीय त्रिशक्ति बर्तौलासमेत ५ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ रहेको खाली घरमा लागूऔषध सेवन गरिरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले घर तलासी गर्ने क्रममा उक्त लागूऔषध फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्राम ६८ मिलिग्रामसहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही महानगरपालिका-११ बस्ने २० वर्षीय बिनायक शर्मा र २३ वर्षीय अमर कुमार साह रहेका छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको को.८ प ७६२ नम्बरको मोटरसाइकललाई लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब १ ग्राम ५० मिलिग्रामसहित  २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुनसरी धरान उपमहानगरपालिका-१६ बस्ने २१ वर्षीय मोहन श्रेष्ठ र तेह्रथुम लालीगुँरास नगरपालिका-७ बस्ने २८ वर्षीय राजेन्द्र भण्डारी रहेका छन् ।  लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीले शंका लागि भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरुलाई जाँच गर्ने क्रममा उक्त लागूऔषसहित फेला पारी पक्राउ गरेको हो । काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ४ सय ६३ ट्याव्लेटसहित सर्लाही लालबन्दी नगरपालिका-१५ बस्ने २४ वर्षीय संजय कुमार स्याङतानलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले ना.५ ख ७९४३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषधसहित ९ जना पक्राउ
२०७९-१२-०८

 झापा, दमक नगरपालिका-१ हवल्दार चोकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित मंलगबार राति ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २८ वर्षीय मुना राई, २४ वर्षीय संन्जय राई,  सोही नगरपालिका-९ बस्ने २८ वर्षीय रविन धिमाल र १९ वर्षीय निशान नेपाली रहेका छन् । चोकमा लागूऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमक र प्रहरी पोष्ट फागुनन्दबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुले उक्त पदार्थ निशान नेपालीबाट खरिद गरी ल्याएको भने अनुसन्धानको क्रममा खुल्न आएपश्चात निशानलाई समेत प्रहरीले पक्राउ गरेको हो । धादिङ, गजुरी नगरपालिका-६ आदमघाटबाट अवैध लागूऔषध गाँजा करिब ४ केजीसहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रुपन्देही ओमसतिया  गाउँपालिका-४ बस्ने १९ वर्षीय मोहमद सरिफ खान र रुहणी गाउँपालिका-१ बस्ने २३ वर्षीय ईरफान खान रहेका छन् । अस्थायी प्रहरी पोष्ट आदमघाटबाट खटिएको प्रहरीले पैदल हिडीरहेका उनीहरुलाई शंका लागी जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको छ ।  मोरङ, कानेपोखरी गाउँपालिका-५ भौसावारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय ६० मिलीग्रामसहित उर्लाबारी नगरपालिका-२ बस्ने २९ वर्षीय मिलन ढकाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले मे. ८ प ९५०७  नम्बरको मोटरसाइकलमा सवार उनलाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । मकवानपुर, हेटौडा उपमहानगरपालिका-३ लेवटबाट अवैध लागूऔषध गाँजा करिब ४ केजीसहित सोही उपमहानगरपालिका-११ थानाभर्‍याङ बस्ने २४ वर्षीय पासाङ दोर्जेललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी लेवटबाट खटिएको प्रहरीले ना.२८ प २८४७ नम्बरको मोटरसाइकलमा सवार दोर्जेललाई उक्त लागूऔषधसहित पक्राउ गरेको   हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । सिरहा,  धनगढीमाई नगरपालिका-८ कसहा बस्ने ७४ वर्षीय चौधरी महतोलाई अवैध लागूऔषध गाँजा ५ केजी ३ सय ग्रामसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । आफ्नै घरमा लुकाई छिपाई गाँजा विक्री वितरण गरेको भन्ने विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो सिरहा, ईलाका प्रहरी कार्यालय धनगढी र अस्थाई प्रहरी पोष्ट कसहाबाट संयुक्त रुपमा खटिएको प्रहरीले तलासी गर्ने क्रममा उनकै सुत्ने कोठाबाट उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषधसहित पक्राउ
२०७९-१२-०७

सुनसरी, धरान उपमहानगरपालिका-२० स्थित सडकबाट अवैध लागूऔषध गाँजा ३१ केजीसहित धनकुटा सागुरीगढी गाउँपालिका-९ घर भएका २५ वर्षीय जितेन राईलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले प्रदेश १-०२-०५१ प २३०५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । यसैगरी धरान उपमहानगरपालिका-११ बस्ने ४७ वर्षीया विष्णु माया राईको घरबाट लुकाई छिपाई राखेको अवैध लागूऔषध गाँजा ३१ केजी फेला पारी राईलाई ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले मंगलबार बिहान पक्राउ गरेको छ ।  झापा, बिर्तामोड नगरपालिका-३ बिर्ताबजारबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम ८ सय मिलिग्राम र नगद ६ हजार ७ सय ५० रुपैयाँसहित सोही नगरपालिका-२ बस्ने २६ वर्षीय दयालाल राजबंशीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बनधमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

नेपाल प्रहरी-भक्तविर सिंह तुलाधर फाउण्डेसन छात्रवृत्ति अक्षयकोष स्थापना सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
२०७९-१२-०६

काठमाडौं,  नेपाल प्रहरी र भक्तविर सिंह तुलाधर फाउण्डेसनबीच ‘नेपाल प्रहरी-भक्तविर सिंह तुलाधर फाउण्डेसन छात्रवृत्ति अक्षय कोष’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमबीच हस्ताक्षर भएको छ । सो अवसरमा भक्तविर सिंह तुलाधर फाउण्डेसनका अध्यक्ष राजेशवीर सिंह तुलाधरले अक्षय कोष स्थापनाका लागि २५ लाख रुपैयाँको चेक प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलाई हस्तान्तरण गर्नुका साथै समझदारीपत्र आदान प्रदानसमेत गर्नुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले सम्झौताको लागि भक्तविर सिंह तुलाधर फाउण्डेसनलाई धन्यवाद दिँदै सम्झौताले तल्लो दर्जाका प्रहरी कर्मचारीहरूको कार्यदक्षता र मनोबलमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो । भक्तविर सिंह तुलाधर फाउण्डेसनले सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गर्दै प्रहरी महानिरीक्षक सिंहले आगामी दिनमासमेत नेपाल प्रहरी र भक्तविर सिंह तुलाधर फाउण्डेसनबीच आपसी सहयोग आदान प्रदान हुने उल्लेख गर्नुभयो । उक्त अवसरमा भक्तविर सिंह तुलाधर फाउण्डेसनका अध्यक्ष राजेशवीर सिंह तुलाधरले सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रहरीलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो । साथै आगामी दिनमा समेत नेपाल प्रहरीसँगको सहकार्यलाई निरन्तरता दिने उहाँले उल्लेख गर्नुभयो । सम्झौता अनुसार नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाले तोकेको नेपाल पुलिस स्कुलहरूमा अध्ययन गर्ने बहालवाला, अवकाश प्राप्त र अमर/शहीद एवम् अशक्त प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दार दर्जासम्मका उत्कृष्ट अंक प्राप्त गर्ने प्रहरी कर्मचारीका सन्ततीहरूलाई कम्तीमा २ जना जेहेन्दार विद्यार्थीलाई वार्षिक शुल्क, परीक्षा शुल्क, स्टेशनरी र आवासीय सुविधा भएको स्कुलमा आवास र खाना खर्च तथा आवासीय सुविधा नभएको स्कुलमा गाडी भाडासमेत निरन्तर उपलब्ध हुनेछ । छात्रवृत्ति प्रदान गर्नको लागि कम्तीमा २५ लाख रूपैयाँ भक्तविर सिंह तुलाधर फाउण्डेसनले प्रहरी कल्याण कोषको नाममा ‘नेपाल प्रहरी- भक्तविर सिंह तुलाधर फाउण्डेसन छात्रवृत्ति अक्षय कोष’ को स्थापना गर्ने र उक्त खाता संचालन तथा व्यवस्थापन प्रहरी कल्याण कोषले गर्नेछ । आगामी शैक्षिक सत्र २०८० वैशाखदेखि लागू हुने यो सम्झौता अनुसार नेपाल पुलिस स्कुलका कक्षा ४ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूलाई उपलब्ध हुने र नेपाल पुलिस स्कुलहरूले विद्यार्थीहरूको समयानुकूल शुल्क परिमार्जन भई बृद्धि भएको अवस्थामा छात्रवृत्ति अक्षय कोषबाट प्राप्त हुने ब्याज आम्दानी रकमबाट अपुग भएमा आपसी समन्वय र सहमतीमा समस्या समाधान गरिनेसमेत समझदारीपत्रमा उल्लेख गरिएको छ । उक्त समझदारीपत्रमा नेपाल प्रहरीको तर्फबाट नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक केदार ढकाल र भक्तविर सिंह तुलाधर फाउण्डेसनको तर्फबाट फाउण्डेशनका अध्यक्ष राजेशवीर सिंह तुलाधरले हस्ताक्षर गर्नुभएको थियो । उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू एवं वरिष्ठ प्रहरी अधिकृतहरू लगायत भक्तविर सिंह तुलाधर फाउण्डेसनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०७९-१२-०६

काठमाडौं,  बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी दोलखा भिमेश्वर नगरपालिका-१ चरिकोट घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१३ माईक्रोपार्क बस्ने ४४ वर्षीय रमेश कुमार श्रेष्ठलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  उच्च अदालत पाटनको २०७९ पुस २९ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा १० दिन कैद र १३ लाख ५० हजार रूपैयाँ जरिवाना सजाय ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले काठमाडौं कोटेश्वरबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको छ । 

अवैध लागुऔषधसहित २ जना पक्राउ
२०७९-१२-०५

धादिङ, बेनिघाट रोराङ गाउँपालिका-९ माझिमटारबाट अवैध लागूऔषध गाँजा करिब २ केजीसहित कास्की पोखरा महानगरपालिका-११ बस्ने ३० वर्षीय कृष्ण नेपालीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जोगिमाराबाट खटिएको प्रहरीले बा.२ ख १४१० नम्बरको माईक्रोलाई जाँच गर्ने क्रममा माईक्रोमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट नियन्त्रित लागूऔषध लुपिजेशिक १८ एम्पुल, एभिल १८  एम्पुल, डाईजेपाम १८ एम्पुल र फेनारगन १८ एम्पुलसहित झापा दमक नगरपालिका-७ बस्ने २७ वर्षीय रन्जित पण्डितलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषधसहित ३ जना पक्राउ
२०७९-१२-०५

पर्सा, वीरगंज महानगरपालिका-१६ ईनर्वागाउँबाट अवैध लागूऔषध गाँजा करिब १ सय ४९ केजीसहित भारतीय नागरिक  २७ वर्षीय ओम प्रकाश सिंहलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले सोही ठाउँस्थित रोकी राखेको बीआर ०७ जीए ९६९१ नम्बरको मिनिट्रकलाई जाँच गर्ने क्रममा मिनिट्रकमा लुकाई छिपाई राखेको अवस्थामा उक्त लागूऔषध फेला पारी चालक सिंहलाई पक्राउ गरेको हो ।  यसैगरी पर्सा, वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटबाट नियन्त्रित लागूऔषध ओनरेक्स १ सय एमएलको १ सय ७८ बोतलसहित सोही महानगरपालिका-१५ भिष्वा बस्ने २० वर्षीय बलजित यादवलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । काभ्रे, पाँचखाल नगरपालिका-२ देवीस्थान बस्ने ३० वर्षीय विश्व तामाङलाई अवैध लागूऔषध गाँजा १० केजीसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । तामाङले लागूऔषध गाँजा बिक्री वितरण गर्ने गरेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी पाँचखालबाट खटिएको प्रहरीले उनकै घरमा लुकाई छिपाई राखेको अवस्थामा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको  हो ।  सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका-१३ गोबरगाडा छतौनी एरियाबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५० केजी शनिबार राति प्रहरीले बरामद गरेको छ । २ वटा घोडामा उक्त गाँजा भारततर्फ लाँदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटिएको प्रहरीलाई देख्नासाथ उक्त घोडा र गाँजा छोडी मानिस फरार भएपश्चात प्रहरीले घोडा र गाँजा बरामद गरेको हो । हाल फरार रहेका मानिसको प्रहरीले खोजी गरिरहेको छ ।    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

मूर्ती चोरी गरेको अभियोगमा १ जना पक्राउ
२०७९-१२-०५

काठमाडौं महानगरपालिका-१५ स्वयम्भू नयाँबस्तीमा रहेको शिवशक्ति धाम मन्दिरबाट सत्य शक्ति देवी लेखिएको ढुंगाको मुर्ती चोरी गरेको अभियोगमा सोही महानगरपालिका-१७ ढल्कु पोडेटोल बस्ने दोलखा भिमसेनथान घर भएकी तेस्रो लिङ्गी २८ वर्षीया कुमारी तामाङलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  गत माघ १६ गते उक्त मूर्ती चोरी भएको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले तामाङको कोठा तलासी गर्ने क्रममा सो मन्दिरबाट चोरी भएको सत्य शक्ति देवी लेखिएको ढुंगाको मुर्ती १ थान,  विभिन्न देवी देवताको आकृती भएको ढुंगाको मूर्ती २४ थान, धातुको मूर्ती २९ थान र धातुको त्रिशुल १ थान फेला पारी उनलाई पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।