प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अवैध सुन कारोवारमा संलग्न रहेको अभियोगमा सात जना पक्राउ

२०८१-०१-१४

  • A
  • A-
  • A+
Share

काठमाडौं, अवैध सुनको कारोवारमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका-२४ स्थितबाट ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा दार्चुला महाकाली नगरपालिका-३ टाटे बस्ने ४७ वर्षीय गणेश दत्त बडु, २१ वर्षीय आयुष बडु, झापा बिर्तामोड नगरपालिका-३ बस्ने ३० वर्षीय दिनेश खरेल, २२ वर्षीय भरत राज खरेल, भारत महाराष्ट्र सांगली आटपाही थाना बस्ने ३७ वर्षीय अमोल विभुते र सोही ठाउँ बस्ने १८ वर्षीय २ जना किशोर रहेका छन् । 

अवैध सुनको कारोवार भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई  सुन जस्तो देखिने पहेलो धातु १७६८.२९ ग्राम  र नगद १ करोड ४३ लाख ६० हजार रूपैयाँसहित फेला पारी पक्राउ गरेको हो । 

उनीहरूलाई राजस्व छली समेतको कसूरमा आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोक ललितपुर पठाइएको छ ।




सम्बन्धित समाचार
ठगीमा संलग्न रहेको अभियोगमा पक्राउ
२०८१-०१-२६

काठमाडौं, कारागारमा रहेका व्यक्तिलाई छुटाई दिन्छु तथा अदालतमा मुद्दा मिलाई दिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ओखलढुंगा सुनकोशी गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-३२ पेप्सीकोला बस्ने ३७ वर्षीय कृष्ण कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।  भन्सार छलि मुद्दामा कारागारमा रहेका व्यक्तिलाई छुटाई दिन्छु भन्दै पीडितसँग ७ लाख रूपैयाँ र जिल्ला अदालत ललितपुरमा चलिरहेको जग्गा सम्बन्धी मुद्दा मिलाई दिन्छु भन्दै अर्का पीडितसँग २३ लाख रूपैयाँ ठगी गरी फरार रहेका कार्कीलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं सोल्टीमोडबाट पक्राउ गरेको हो ।   उनी उपर जिल्ला अदालत काठमाडौंबाट ठगी सम्बन्धी कसूर मुद्दामा ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । 

ज्यान मार्ने उद्योग मुद्दामा संलग्न रेष्टुरेन्ट संचालक पक्राउ
२०८१-०१-२६

कास्की, ज्यान मार्ने उद्योग मुद्दामा संलग्न रही फरार रहेका पोखरा महानगरपालिका-२७ तालचोकस्थित सातताल दोहोरी साँझ तथा रेष्टुरेन्टका संचालक सोही महानगरपालिका-३२ बडहरे घर भएका ३२ वर्षीय सुनिल बस्नेतलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । उक्त रेष्टुरेन्टमा वैशाख २२ गते राति आएका एक व्यक्तिलाई बस्नेतले कुटपिट गरी गम्भीर घाइते बनाई फरार रहेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय शिसुवा डाँडाकोनाकबाट खटिएको प्रहरीले उनलाई तालचोकबाट पक्राउ गरेको हो ।  उनी उपर कास्की जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग मुद्दामा ८ दिन म्याद थप अनुमति लिई गरी यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । 

चोरीमा संलग्न रहेको अभियोगमा पक्राउ
२०८१-०१-२६

काठमाडौं, चोरीमा संलग्न रहेको अभियोगमा शंखरापुर नगरपालिका-१२ बस्ने विवेक भन्ने ४० वर्षीय बिनोद थापा मगरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । कागेश्वरी मनोहरा नगरपालिका-७ हरहरमहादेव बस्ने रूपक बस्नेतको घरबाट गत चैत ३ गते मोवाइल, ल्यापटप लगायतको धनमाल तथा गोकर्णेश्वर नगरपालिका-५ बस्ने सृष्टी लामा समेतका घरबाट वैशाख २४ गते विभिन्न मोवाइल, ल्यापटप लगायतका धनमाल चोरी भएको घटनामा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट ल्यापटप १ थान, मोवाइल १० थान, आइप्याड १ थान र ट्याव १ थान बरामद भएको छ । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

युके पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ
२०८१-०१-२६

काठमाडौं, युके पठाईदिन्छु भन्दै ५ लाख रूपैयाँ ठगी गरेको अभियोगमा सर्लाही हरिपुर नगरपालिका-२ घर भई हाल काठमाडौं दक्षिणकाली नगरपालिका-७ बस्ने ३० वर्षीय बिधान कार्कीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । कार्कीले वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई युके पठाईदिन्छु भन्दै १ जना पीडितबाट उक्त रकम लिई सम्पर्क बिहीन भई ठगी गरेको खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं मिनभवनबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

सर्वसाधरण नागरिक तथा पर्यटकहरूलाई दु:ख हैरानी दिने पाँच जना पक्राउ
२०८१-०१-२५

कास्की, सर्वसाधरण नागरिक तथा पर्यटकहरूलाई दु:ख हैरानी दिएको अभियोगमा ५ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-६ डिहिकोपाटन बस्ने २६ वर्षीय सन्तोष श्रेष्ठ, सोही महानगरपालिका-६ लालुपाते मार्ग बस्ने २५ वर्षीय मिन प्रसाद पौडेल, ३१ वर्षीय धनदेउ क्षेत्री, सोही महानगरपालिका-६ खहरेचोक बस्ने २५ वर्षीय शुसान्त क्षेत्री र सोही महानगरपालिका-६ हल्लनचोक बस्ने २५ वर्षीय अमित भण्डारी रहेका छन् । पोखरा महानगरपालिका-५ जिरो किमी, सोही महानगरपालिका-६ लेकसाईड, हल्लनचोक क्षेत्रमा सर्वसाधरण नागरिक तथा विदेशी पर्यटकहरूलाई जबरजस्ती सवारी साधनबाट ओराल्ने, बाटो छेक्ने, राम्रो होटल मिलाईदिन्छु भनी झोलाहरू तान्ने तथा पैसाको बार्गेनिङ गरी अनावश्यक दु:ख हैरानी दिई अभद्र व्यवहार गरिरहेको अवस्थामा उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । उनीहरू उपर सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरूद्धको कसूरमा १० दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।