चाडपर्वको समयमा कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन विशेष सुरक्षा योजना अवलम्बन गर्दै नेपाल प्रहरी
२०८३-०७-१९
- A
- A-
- A+
काठमाडौं, नेपाली समुदायहरूको नजिकिँदै गरेको महान चाड दिपावली, नेपाल सम्वत् र छठपर्व लगायतका पर्वहरूलाई विशेष केन्द्रबिन्दुमा राखेर नेपाल प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना, २०८३ लागू गरी कार्य गरिरहेको छ । चाडपर्वको समयमा शान्ति, सुरक्षा र अमनचयन कायम राख्न तथा कुनै पनि किसिमका अवाञ्छित घटना हुन नदिन सुरक्षा योजना अवलम्बन गरी सोही अनुरूप प्रभावकारी रूपमा प्रहरी परिचालन भइरहेको छ ।
देउसी-भैलो कार्यक्रम रातको निश्चित समय (स्थानीय प्रशासनले तोकेको समय) भित्र मात्र मर्यादित रूपमा सञ्चालन गर्ने, तिहारमा बालिने दियो, बत्ती र पटकाका कारण हुनसक्ने आगलागीको जोखिमलाई ध्यानमा राखी दमकल एवम् विपद् व्यवस्थापन टोलीलाई २४ सै घण्टा तयारी अवस्थामा राखिएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहुन्छ, ‘सीमा नाका, भन्सार क्षेत्र, सार्वजनिक यातायात तथा मुख्य बजार क्षेत्रहरूमा विशेष अनुगमन र चेकिङ टोली खटाई पटका लगायत अन्य प्रज्ज्वलनशील/विष्फोटक पदार्थको गैर कानूनी ओसारपसार, भण्डारण र बिक्री वितरणलाई पुर्णरुपमा नियन्त्रण गर्न प्रहरी सक्रिय रूपमा क्रियाशील भइरहेको छ । पटका नपड्काउन, जुवा तास नखेल्न, मादक पदार्थ सेवन गरी होहल्ला नगर्न र शान्तिपूर्ण रूपमा पर्व मनाउन स्थानीय रेडियो, पत्रपत्रिका र सामाजिक सञ्जालहरू मार्फत सूचना प्रवाह गर्नुका साथै जुवातास, सट्टेबाजी र अवाञ्छित गतिविधि हुनसक्ने सम्भावित क्षेत्रहरूमा आवश्यकता अनुसार सादा पोशाकमा समेत प्रहरी परिचालन गरिएको छ । पटका र विस्फोटको सट्टा दीप प्रज्वलन, देउसी-भैलो, सांस्कृतिक कार्यक्रम तथा पारिवारिक भेटघाटमार्फत तिहारको खुसी साटासाट गरौँ । आफ्नो खुसीले अरूको सुरक्षा, स्वास्थ्य र वातावरणमा असर नपर्ने कुरामा सचेत बनौँ ।’
चाडपर्वका बेला निकालिने र्याली, जुलुस वा शोभायात्राको मार्ग र समयका कारण दुई समुदाय बीच हुनसक्ने विवाद वा झडपलाई न्यूनीकरण गर्न सुरक्षा व्यवस्थापन थप मजबुत पारिएको छ । चाडपर्व, पूजाआजा वा मेलाहरूमा राति अबेरसम्म चर्को आवाजमा डिजे र साउण्ड सिस्टम बजाउने, पटका पड्काउने, आतिशबाजीको भयानक आवाजले ध्वनि प्रदूषण हुने जस्ता गतिविधिले वृद्धवृद्धा, बालबालिका, बिरामीहरूमा नकारात्मक असर पर्न जान सक्ने सम्भावनालाई समेत मध्यनजर गरी सुरक्षा व्यवस्थापन चुस्त बनाइएको छ ।
चाडपर्वको नाममा अनियन्त्रित रूपमा मादक पदार्थ सेवन गर्ने र जुवातास खेल्ने प्रवृत्तिले गर्दा घरेलु हिंसा, कुटपिट र व्यक्तिगत झगडाहरू समेत हुने तथा मेला परिसर वा सार्वजनिक ठाउँहरूमा प्लाष्टिक, फूलमाला र पूजा सामग्रीहरूको अव्यवस्थित विसर्जनले जल र स्थल प्रदूषण हुन/गर्न नदिन सम्बद्ध पक्षहरूसँग समन्वय गरी सचेतना फैलाउने काम भइरहेको छ ।
तिहार पर्वमा पटका तथा आतिसबाजी नगर्न नेपाल प्रहरीको विशेष अनुरोध :
तिहार उज्यालो, खुसी, आपसी सद्भाव र भाइचाराको पर्व हो । यस पर्वलाई सुरक्षित, सभ्य र मर्यादित रूपमा मनाउनु हामी सबैको साझा दायित्व हो । पटका, आतिसबाजी तथा पटकाजन्य पदार्थको प्रयोगले आगलागी, मानवीय चोटपटक, अङ्गभङ्ग, घर तथा सम्पत्तिमा क्षति र वातावरणीय प्रदूषण निम्त्याउन सक्ने भएकाले नेपाल प्रहरी आम नागरिकहरूमा विशेष अनुरोध गर्दछ ।
पटका तथा विस्फोटक पदार्थको प्रयोगले गम्भीर दुर्घटना निम्त्याउन सक्ने हुनाले त्यसको प्रयोग नगर्न प्रहरीले विशेष अनुरोध गरेको छ । बालबालिकाको हातमा पटका तथा प्रज्वलनशील पदार्थ नदिन, उनीहरूलाई यस्ता वस्तुबाट टाढा राख्नुका साथै अभिभावकले विशेष निगरानी र सचेतना अपनाउनुपर्ने, आगलागीबाट बच्न आवश्यक सतर्कता अपनाउनुपर्ने, विद्युत सर्ट हुन सक्ने सम्भावनालाई ध्यानमा राखी घर तथा पसलको सुरक्षा गर्नुपर्ने, पटका तथा अन्य विस्फोटक पदार्थको आवाजबाट हुनसक्ने ध्वनि प्रदूषण नियन्त्रणमा सहयोग गर्न, सार्वजनिक स्थान तथा सडकमा पटका नपड्काउन, पटका तथा विस्फोटक पदार्थको अवैध कारोबार नगर्न एवम् मादक पदार्थ सेवन गरी यात्रा नगर्न समेत प्रहरीले विशेष अनुरोध गरेको छ ।
कुनै स्थानमा आगलागी, विस्फोट वा अन्य दुर्घटना भए तत्काल नजिकको प्रहरी कार्यालय, दमकल वा सम्बन्धित निकायमा खबर गर्न अनुरोध गर्दै घाइतेलाई यथाशीघ्र उद्दार गरी नजिकको स्वास्थ्य संस्थामा पुर्याउन सहयोग गर्न समेत प्रहरीले आग्रह गरेको छ । अवैध रूपमा पटका तथा विस्फोटक पदार्थको कारोबार, भण्डारण वा प्रयोग भएको देखेमा नजिकको प्रहरी कार्यालय वा प्रहरीको हटलाइन १०० मा जानकारी गराई सहयोग गर्ने समेत सबै नागरिकहरूलाई प्रहरीले आग्रह गरेको छ ।
कालोबजारी तथा कृत्रिम अभाव नियन्त्रणमा प्रहरीको सक्रियता :
चाडपर्वको समयमा खाद्यान्न, लत्ताकपडा, इन्धन, उपभोग्य वस्तु तथा दैनिक आवश्यकताका सामग्रीको माग बढ्ने हुँदा कृत्रिम अभाव सिर्जना गर्ने, अस्वाभाविक मूल्यवृद्धि गर्ने, म्याद गुज्रिएका तथा गुणस्तरहीन वस्तु बिक्री गर्ने र उपभोक्तालाई ठगी गर्ने गतिविधि हुन सक्ने भएकाले नेपाल प्रहरीले त्यस्तो गतिविधि नियन्त्रण गर्न विशेष सक्रियता अपनाएको छ ।
नेपाल प्रहरीले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र अन्य सरोकारवाला निकायसँग समन्वय गरी बजार अनुगमनमा सहकार्य गरिरहेको छ । कृत्रिम अभाव सिर्जना गर्ने, अस्वाभाविक मूल्यवृद्धि गर्ने तथा बढी मूल्य लिने व्यवसायीमाथि निगरानी र आवश्यक अनुसन्धान गर्ने, उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने म्याद गुज्रिएका, नक्कली तथा गुणस्तरहीन वस्तुको बिक्रीवितरण सम्बन्धी सूचनामा तत्काल कारबाहीका लागि सम्बन्धित निकायसँग समन्वय गर्नुका साथै ठूला व्यापारिक केन्द्र, गोदाम, डिपो, बजार क्षेत्र तथा आपूर्ति मार्गहरूमा आवश्यक सुरक्षा निगरानी र चेकजाँचलाई थप तीव्र बनाउँदै प्रहरीले कार्य गरिरहेको छ । कालोबजारी, मूल्यवृद्धि र उपभोक्ता ठगी सम्बन्धी सूचना संकलन गरी तत्काल प्रहरी परिचालन गर्ने तथा प्राप्त उजुरीमाथि अनुसन्धान गर्नुका साथै उपभोक्ताबाट प्राप्त गुनासो, सूचना तथा उजुरीलाई प्राथमिकताका साथ सम्बोधन गर्न प्रहरी कार्यालयहरूलाई सक्रिय बनाउनुका साथै आवश्यकता अनुसार संयुक्त अनुगमन टोली परिचालन गरिने छ । फूलमाला तथा पूजासामग्रीको बिक्रीवितरणमा उपभोक्ता नठगिऊन् भन्ने उद्देश्यले व्यवसायीलाई पारदर्शी मूल्यमा बिक्रीवितरण गर्न अनुरोध गर्दै फूलमाला तथा अन्य पूजासामग्रीको कृत्रिम अभाव सिर्जना गर्ने, अस्वाभाविक मूल्यवृद्धि गर्ने र उपभोक्तालाई ठगी गर्ने गतिविधि रोक्न सम्बन्धित निकायसँग समन्वय गरी बजार अनुगमन, मूल्यसूचीको पालना तथा उपभोक्ता हित संरक्षणमा निगरानी गर्ने कार्य समेत प्रहरीले गरिरहेको छ ।
चाडपर्वको अवधिमा देशभर समग्र सुरक्षा व्यवस्थालाई भरपर्दो, विश्वसनीय र सुदृढ बनाई आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन योजनाबद्ध रूपमा प्रहरी परिचालन, अनुगमन तथा सुरक्षा मापदण्ड समेतलाई लक्षित गरी विशेष सुरक्षा योजना अवलम्बन गरिएको छ । चाडपर्वमा हुन सक्ने ठगी, चोरी, डकैती, लुटपाट, जुवातास, अनलाइन ठगी, बेटिङ, नक्कली नोटको कारोबार, अवैध हुण्डी कारोबार लगायतका आपराधिक गतिविधिहरू नियन्त्रण तथा न्यूनीकरण गर्न प्रभवाकारी रूपमा प्रहरी परिचालित हुनेछन् । काठमाडौं उपत्यकाबाट बाहिरिने सवारी साधनहरूको सम्बन्धमा बाहिरिनु भन्दा अघि नै प्रत्येक चालकहरूको सवारी चालक अनुमति पत्र चेकजाँच, मादक पदार्थ एवम् लागूपदार्थ सेवन चेकजाँच, सिट क्षमता अनुसार यात्रु राखे नराखेको चेकजाँच, TCA (Traffic Communication Application) को प्रयोग गरी लामो दूरीको सवारी साधनहरूमा २ जना चालक भए नभएको चेकजाँच गर्ने र प्रत्येक सवारी साधनहरूको मेकानिकल चेकजाँच समेत गरिनेछ ।
नेपाल प्रहरी तिहार पर्वलाई शान्तिपूर्ण, सुरक्षित र मर्यादित बनाउन प्रतिबद्ध छ । यस अभियानमा आम नागरिक, अभिभावक, व्यवसायी, स्थानीय तह तथा सरोकारवाला सबैको सहयोग र सहकार्यको अपेक्षा गर्दछौँ । नेपाल प्रहरीले चाडपर्वको समयमा नागरिकको सुरक्षा, सहज आवागमन तथा शान्तिपूर्ण वातावरण कायम गर्न ‘सूचना-प्रविधि-प्रहरी परिचालन-नागरिक सहकार्य’ लाई मुख्य आधार बनाउँदै सुरक्षा व्यवस्था मिलाएको छ ।
“ढुक्क भएर चाडपर्व मनाउनुहोस्, नागरिकको सुरक्षा र शान्तिका लागि नेपाल प्रहरी सदैव तपाईहरूको साथमा छ ।”