प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
मानवश्रोत विकास विभाग - परिचय

क. पृष्ठभूमी:


मानवश्रोत हरेक संगठनको पहिलो र आधारभूत श्रोत हो । यस अन्तरगत मूलत: तीन वटा बिषय प्रधान रहने गरेको पाईन्छ: मानवश्रोत, वित्तीय श्रोत र भौतिक पूर्वाधार व्यवस्थापन ।

हाल नेपाल प्रहरीका २५ सय भन्दा बढी कार्यालयहरुमा जनशक्ति एवं आर्थिक प्रशासन सुचारु गर्ने, भौतिक पूर्वाधार व्यवस्थापन, बन्दोबस्तीका सामाग्रीहरु नियमानुसार वितरण, आवधिक रुपमा अनुगमन तथा मुल्यांकन समेत यस विभागको प्रमुख कार्य रही आएको छ । मानवश्रोत व्यवस्थापन तर्फ यस विभागले लोकसेवा आयोगसँग सहकार्य गरी जनशक्ति छनौट प्रकृया संचालन गर्दछ । नयाँ भर्ना भई सेवा प्रवेश गरेका प्रहरी कर्मचारीलाई आधारभूत तालिम प्रदान गरी कार्यक्षेत्रमा नयाँ पदस्थापना गरिन्छ । कार्यरत जनशक्तिलाई उन्नत तालिम प्रदान गर्ने, सम्पूर्ण प्रहरी कर्मचारीहरुको सरुवा, बढुवा देखि अवकाश सम्मको कार्य तथा कल्याणकारी कार्य समेत यसै विभागले सम्पन्न गर्दछ । त्यसैगरी वित्तीय प्रशासन कार्य तर्फ बार्षिक बजेट निर्माण गरी मन्त्रालयमा पेश गर्ने, प्रहरी प्रधान कार्यालय देखि नेपाल भरका प्रहरी कार्यालयहरुमा बजेट तथा राशन व्यवस्थापन, पोशाक, हातहतियार लगायतका जिन्सी सामाग्री खरिद तथा आपूर्ति र अन्त्यमा लेखापरिक्षण गराई वेरुजु फर्छ्यौट सम्मका सम्पूर्ण दायित्वहरु वहन गर्ने जिम्मेवारी यस विभागको रहेको छ ।
प्रहरी संगठनको प्रारंभिक चरणमा मिति २०४२ साल भाद्र १५ गते प्रशासन विभागको स्थापना भएको पाईन्छ । प्रहरीको सांगठनिक संरचना विस्तारको क्रममा नेपाल सरकार मन्त्रीपरिषदको मिति २०६१ साल वैशाख १७ गतेको निर्णयले मानवश्रोत विकास विभागको स्थापना समेत भएको पाईन्छ । नेपालको राजनीतिक व्यवस्था संघीयतामा प्रवेश गरे सँगै नेपाल प्रहरीको प्रारंभिक पुनर्संचना अनुरुप (मिति २०७५/०२/२७ गतेको नेपाल सरकार मन्त्रीपरिषदको निर्णयानुसार) साविक प्रशासन विभाग समेत यसै विभाग अन्तरगत समावेश गरी हाल मानवश्रोत एवं प्रशासन विभागको रुपमा रुपान्तरण गरिएको छ । 

ख. लक्ष्य:

  • नेपाल प्रहरीलाई दिईएको जिम्मेवारी तथा उत्तरदायित्व बहन गर्न सक्षम जनशक्ति छनौट, तालिम प्रदान एवं वृत्ति विकासको सम्पूर्ण कार्य गर्दै अवकाश निवृतिभरण सम्मको कार्य गर्ने ।
  • मुलुकभर अवस्थित नेपाल प्रहरीका सम्पूर्ण कार्यालयको लागि आवश्यक आर्थिक श्रोत जस्तै; वार्षिक बजेट, लत्ताकपडा, राशन, हातहतियार तथा असभावको व्यवस्था लगायत भौतिक पूर्वाधार आदिको योजना गरी तालुक मन्त्रालयमा पेश गर्ने, निकासा लिने, वितरण गर्ने साथै आवधिक रुपमा स्थलगत अनुगमन समेत गर्ने ।

 

 ग. उद्देश्यहरु:

  • विभिन्न कारणले रिक्त हुन आएका दरबन्दी पदपूर्ति गर्ने क्रममा नयाँ भर्ना छनौट कार्य गर्ने ।
  • वार्षिक तालिम क्यालेण्डर निर्माण गरी सम्पूर्ण प्रहरी कर्मचारीहरुका लागि आधारभूत तथा उन्नत तालिम सञ्चालन गर्ने ।
  • प्रहरी कर्मचारीको नियमित सरुवा, बढुवा कार्यलाई सहज एवं पारदर्शी ढंगबाट सम्पन्न गर्ने ।
  • स्वदेश र विदेश तालिमको पहिचान, छनौट, प्राप्ति समेत गरी उपयुक्त प्रहरी कर्मचारीलाई सो को अवसर प्रदान गर्ने ।
  • नेपाल प्रहरीमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीको वृत्ति विकासका लागि उच्चतम रणनीतिहरु विकास गरी सो को कार्यान्वयन गर्ने ।
  • मुलत: शिक्षा, स्वास्थ्य, खेलकुद क्षेत्रलाई लक्षित गरी प्रहरी कर्मचारी र तिनका परिवार सदस्य समेत लाभान्वित हुने गरी कल्याणकारी कार्यक्रमलाई संचालन गर्ने ।
  • नेपालभरका प्रहरी कार्यालय संचालन एवं प्रहरी परिचालनका लागि आवश्यक बजेटको कार्यान्वयन एवं अनुगमन गर्ने ।
  • नेपाल प्रहरीलाई आवश्यक प्रविधि पहिचान गर्ने, प्रहरी कर्मचारीलाई प्रदान गरिने पोशाक, राशन, प्रहरी परिचालनमा प्रयोग गरिने हातहतियार तथा असवाव आदि खरिद, भण्डारण, वितरण कार्यलाई प्रभावकारी ढंगबाट सम्पन्न गर्ने ।
  • देशभर स्थापित प्रहरी कार्यालयमा आवश्यक भौतिक पूर्वाधारको अवस्था स्थलगत रुपमा मुल्यांकन गर्ने, नयाँ निर्माणको प्राथमिकता निर्धारण गर्ने, गुणस्तरीय निर्माण कार्यको सुनिश्चितता गर्ने ।
  • आर्थिक प्रशासनलाई मीतव्ययी तथा पारदर्शी तुल्याउने साथै लेखापरिक्षण तथा वेरुजु फर्छ्यौट कार्यलाई चुस्त बनाउने ।

घ. मानवश्रोत एवं प्रशासन विभाग संगठनात्मक संरचना

Card image cap
सन्दिप भण्डारी

प्रहरी अतिरिक्त महानिरीक्षक