सामाजिक सञ्जालको दुरूपयोग गरी महिलाको चरित्र हत्या गर्ने दुई जना पक्राउ
२०८३-०७-२१
- A
- A-
- A+
काठमाडौं, सामाजिक सञ्जालको दुरूपयोग गरी महिलाको चरित्र हत्या गरेको अभियोगमा २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा इलाम माई नगरपालिका-१ घर भएका २९ वर्षीय विकल्प राई र सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका-५ घर भएका ३० वर्षीय सुजन पाण्डे रहेका छन् ।
पक्राउ मध्ये विकल्पले पीडित महिलासँग प्रेम सम्बन्धमा रहँदा खिचेका तस्विर तथा भिडियो सामाजिक सञ्जाल टेलिग्राम मार्फत सार्वजनिक गरी चरित्र हत्या गरेको र सुजनले सामाजिक सञ्जाल एक्स मार्फत पीडित महिलाको अश्लिल भिडियो र तस्विर आफुसँग रहेको तथा उक्त भिडियो र तस्विर सार्वजनिक गरी दिने भनी धम्की दिनुका साथै पीडितको चरित्र हत्या गरेको घटनाको अनुसन्धानको क्रममा साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले विकल्पलाई काठमाडौं ठमेलबाट र सुजनलाई तारकेश्वरबाट पक्राउ गरेको हो ।
उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।