सामाजिक सञ्जालको दुरूपयोग गरी चरित्र हत्या गर्ने ९ जना व्यक्तिहरू पक्राउ
२०८३-०८-१०
- A
- A-
- A+
काठमाडौं, सामाजिक सञ्जालको दुरूपयोग गरी नाबालिका र महिलाहरूको चरित्र हत्या गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयको विशेष सक्रियतामा साइबर ब्यूरो तथा विभिन्न प्रहरी कार्यालयहरूको सहकार्यमा सञ्चालन भएको “OPERATION DIGITAL HONOR- Respect Women and Children” (अप्रेसन डिजिटल स्वाभिमान- महिला तथा बालबालिकाको सम्मान) मार्फत पछिल्लो २४ घण्टाको अवधिमा उनीहरूलाई विभिन्न स्थानहरूबाट पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरूमा काठमाडौं टोखा नगरपालिका-१ बस्ने २६ वर्षीय आशिष तामाङ, ललितपुर, ललितपुर महानगरपालिका-१४ बस्ने ३७ वर्षीय रोहित विक्रम राणा, काठमाडौं नागार्जुन नगरपालिका-१ बस्ने भारत विहार घर भएका ३२ वर्षीय महमद फेसल एजाज, इलाम देउमाई नगरपालिका-९ घर भएका ३७ वर्षीय विमल दर्जी खत्री, म्याग्दी मंगला गाउँपालिका-५ अर्मन बस्ने ५६ वर्षीय दिल बहादुर मगर, उदयपुर चौदण्डीगढी नगरपालिका-९ चौदण्डीगढी घर भएका २५ वर्षीय सुवास कार्की, काठमाडौं महानगरपालिका-१० बस्ने सुर्खेत बीरेन्द्रनगर नगरपालिका-११ घर भएका ३२ वर्षीय चिरन्जिवी सापकोटा र १६ वर्षीय तथा १५ वर्षीय दुई जना बालकहरू रहेका छन् ।
साइबर ब्यूरोबाट खटिएको प्रहरीले आशिषलाई काठामडौं टोखाबाट, रोहितलाई ललितपुर सातदोबाटोबाट, महमद फेसललाई काठमाडौं न्यूरोडबाट, विमललाई काठमाडौं सिनामंगलबाट बुधबार तथा चिरन्जिवीलाई काठमाडौं बानेश्वरबाट बिहीबार पक्राउ गरेको हो । यस्तै दिल बहादुरलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले उनकै वतनबाट बुधबार, सुवासलाई जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनकै वतनबाट बुधबार तथा दुई जना बालकहरूलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले पोखराबाट बिहीबार पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा आशिषले सामाजिक सञ्जाल फेसबुकमा फेक आईडी बनाई अश्लील फोटो तथा भिडियो पीडित नाबालिकाको आफन्त तथा साथीहरूलाई पठाई दुःख हैरानी दिई चरित्र हत्या गरेको, रोहितले पीडित युवतीलाई सामाजिक सञ्जाल इमोमा अश्लील, अपमानजनक तथा अशोभनीय अभिव्यक्ति दिई दुर्व्यवहार गरी दुःख हैरानी दिई चरित्र हत्या गरेको, महमद फेसलले प्रेम सम्बन्ध टुटे पश्चात् पीडितको फोटो तथा भिडियोहरू सामाजिक सञ्जालमा पोष्ट गरी दुःख हैरानी दिई चरित्र हत्या गरेको, विमलले पीडितको गोप्य फोटो तथा भिडियोहरू फेक टिक टक आई डी मार्फत प्रसारण गरी चरित्र हत्या गरेको तथा दिलबहादुरले पीडितलाई फेसबुक मार्फत अश्लील गालीगलौज गरी चरित्र हत्या गरेको खुल्न आएको छ ।
यसैगरी सुवासले फेसबुकमा फेक आईडी बनाई पीडितलाई अश्लील फोटो तथा भिडियो पठाई ब्ल्याकमेलिङ तथा चरित्र हत्या गरेको, चिरन्जिवीले ह्वाटस् एप मार्फत पीडित महिलालाई अश्लील गालीगलौज गरी चरित्र हत्या गरेको तथा दुई जना बालकहरूले पीडितको सामाजिक सञ्जाल ह्याक गरी निजको अश्लील फोटो तथा भिडियो बनाई सामाजिक सञ्जालमा सार्वजनिक गरी दिने धाक धम्की दिई रकम समेत माग गरी मानसिक दुःख तथा हैरानी दिने कार्य गरेको समेत अनुसन्धानको क्रममा खुल्न आएको छ ।
उनीहरू उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा सम्मानित जिल्ला अदालतहरूबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको छ ।