प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

बहुआयमिक रूप र बहुपक्षीय असर बोकेको लैङ्गिक हिंसाको सम्बोधनको लागि थप क्रियाशील हुँदै नेपाल प्रहरी

२०८३-०८-११

  • A
  • A-
  • A+
Share

काठमाडौं, अपराधको रोकथाम, नियन्त्रण र अनुसन्धानको प्रमुख जिम्मेवारी बोकेको नेपाल प्रहरीले आफ्नो स्थापनाकाल देखिने लैंङ्गिक हिंसा जन्य घटना नियन्त्रण तथा न्यूनीकरणलाई उच्च प्राथमिकतामा राखेर संवेदनशीलताका साथ सम्बोधन गर्दै आइरहेको छ । लैंङ्गिक हिंसाबाट पीडित र प्रभावित महिला, बालबालिका तथा जेष्ठ नागरिकहरूमा न्यायको पहुँचको सुनिश्चितता, पीडितको उद्दार, पुन:स्थापनका साथै लैंङ्गिक हिंसा न्यूनीकरण गर्ने लक्ष्यका साथ नेपाल प्रहरी प्रधान कार्यालयदेखि ईलाका स्तर सम्मका कार्यालयहरूमा महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र स्थापना भई सेवा प्रवाह समेत हुँदै आइरहेको छ । 

लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान (२०८३ मंसिर ९ गते देखि मंसिर २४ गतेसम्म) अन्तर्गत नेपाल प्रहरीका सातै प्रदेश र ७७ जिल्लास्थित विभिन्न प्रहरी कार्यालयहरूद्वारा “लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता: पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता” भन्ने राष्ट्रिय नाराका साथ अभियानको शुभारम्भ गरिएको छ । १६ दिने अभियानले लैङ्गिक हिंसा न्यूनीकरणमा विशेष भूमिका निर्वाह गर्ने बताउँदै नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले भन्नुहुन्छ, ‘हिंसामुक्त समाज निर्माण गर्ने प्रतिबद्धता सहित सञ्चालन गरिएको यस अभियानमा आगामी १६ दिनसम्म लैङ्गिक हिंसा विरूद्ध जनचेतना अभिवृद्धि, पीडितको संरक्षण, हिंसाविरूद्ध आवाज उठाउन प्रोत्साहन तथा न्याय सुनिश्चितताका लागि विभिन्न सचेतनामूलक कार्यक्रमहरू आयोजना गरिनेछ । महिला बालबालिका तथा जेष्ठ नागरिक विरूद्ध हुने कुनै पनि प्रकारका हिंसा, विभेदप्रति नेपाल प्रहरीले अत्यन्तै संवेदनशील भई कार्यसम्पादन गरिरहेको छ । साथै लैंङ्गिक हिंसाजन्य कसूर सम्बोधनलाई शून्य सहनशीलताका साथ उच्च प्राथमिकतामा राखी पीडितको सेवामा नेपाल प्रहरी सदैव कटिवद्ध रहनेछ ।’ 

प्रविधिको विकास र आधुनिक समाजमा देखा परेका लैंङ्गिक हिंसाका स्वरूप तथा प्रवृत्तिमा भइरहेको परिवर्तनले थप चुनौती देखा परेका छन् । सामाजिक सञ्जाल तथा विद्युतीय सञ्चार माध्यमको बढ्दो प्रयोगसँगै यस्ता माध्यमको दुरूपयोग गरी महिला तथा बालबालिकालाई लक्षित गरेर अनलाइन दुर्व्यवहार गर्ने, अपमानजनक तथा अशोभनीय अभिव्यक्ति दिने, धम्की दिने, चरित्रहत्या गर्ने, व्यक्तिगत तस्विर तथा भिडियोको दुरूपयोग गर्ने, नक्कली खाता बनाई भ्रम सिर्जना गर्ने तथा सामाजिक प्रतिष्ठामा आँच पुर्‍याउने जस्ता घटनाहरू पछिल्लो समय बढ्दै गएको छ । यस्तै डिजिटल माध्यमको दुरूपयोग गरी हुने हिंसा जन्य गतिविधि नियन्त्रण गर्न नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयको विशेष सक्रियतामा साइबर ब्यूरो तथा विभिन्न प्रहरी कार्यालयहरूको सहकार्यमा “OPERATION DIGITAL HONOR- Respect Women and Children” (अप्रेसन डिजिटल स्वाभिमान-महिला तथा बालबालिकाको सम्मान) सञ्चालनमा ल्याइएको छ । सो अभियान मार्फत पछिल्लो २४ घण्टामा विभिन्न स्थानहरूबाट सामाजिक सञ्जालको दुरूपयोग गरी पीडित महिला तथा नाबालिकाहरूलाई दुःख हैरानी दिई चरित्र हत्या गर्ने कार्यमा संलग्न ९ जना व्यक्तिहरूलाई पक्राउ गरी विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा अनुसन्धान कार्य गरिरहेको छ । 

नेपाल प्रहरीले लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान अन्तर्गत देशभर विभिन्न जनचेतनामूलक कार्यक्रमहरू संचालन गरी महिला, बालबालिका विरूद्ध हुने अपराधहरू एवम् लैङ्गिक तथा घरेलु हिंसा न्यूनीकरणलाई प्राथमिकतामा राखेर कार्य गरिरहेको छ । नेपाल प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक निर्देशनालयबाट मातहतमा रहेका सम्पूर्ण सेवा केन्द्रहरूबाट लैङ्गिक हिंसा विरूद्ध १६ दिने अभियानको नारा सहित विभिन्न कार्ययोजनाहरू बनाई कार्यान्वयन गर्न परिपत्र गरिएको छ । निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक बिमल राज कंडेलले सम्पूर्ण सेवा केन्द्रको प्रमुखहरूलाई भिडियो कन्फेरेन्स मार्फत अभियानको प्रभावकारी कार्यान्वयनको लागि आवश्यक निर्देशन समेत दिनुभएको थियो । लैङ्गिक हिंसा सम्बन्धी पोड्काष्ट सञ्चालनको लागि आवश्यक तयारी गर्नुका साथै लैङ्गिक हिंसा नियन्त्रण सम्बन्धी विभिन्न तालिमहरू समेत सञ्चालन गरिनेछ । 

यस अभियानमा सामान्यतया: जनचेतनामूलक प्रभातफेरी कार्यक्रम, लैङ्गिक हिंसा विरूद्ध सेतो रिवन क्याम्पियन र दीप प्रज्वलन, घेरलु हिंसा, जबरजस्ती करणी, बाल यौन दुरूपयोग, बाल विवाह तथा बहुविवाह , मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी सचेतनामूलक कार्यक्रमहरू, विद्यालय तथा समुदायमा सचेतना अभियान, लैङ्गिक हिंसा सम्बन्धी कानुनी जानकारी प्रवाह, पीडित सहायता तथा परामर्श सेवा, पीडित सहायता तथा परामर्श सेवा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र मार्फत उजुरी व्यवस्थापन, हिंसा विरूद्ध शून्य सहनशीलताको सन्देश प्रवाह, साइबर अपराध रोकथाम तथा न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रमहरू एवम् लैङ्गिक हिंसा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम समेतका गतिविधि समेटिनेछन् । 

लैङ्गिक हिंसा न्यूनीकरणमा देखिएका जस्तोसुकै चुनौतीहरूलाई समाधान गरी पीडितलाई न्याय प्रदान गर्नका लागि केन्द्रीत भई नेपाल प्रहरीका प्रयासहरू सदैव जारी रहेको छ । बहुआयमिक रूप र बहुपक्षीय असर बोकेको लैंङ्गिक हिंसाको न्यूनीकरणलाई अझ प्रभावकारी बनाउन नेपाल प्रहरीले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय निकायहरू, स्थानीय निकायहरू र सरोकारवाला संघसंस्थाहरूसँग समन्वय तथा सहकार्य गरी कार्य गर्दै आइरहेको छ । 

१६ दिने अभियान प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने गरिन्छ । अभियानले लैङ्गिक हिंसा अन्त्यका लागि जनचेतना अभिवृद्धि गर्नुका साथै समानता, सम्मान र मानव अधिकारको प्रवर्द्धनमा जोड दिएको छ । 


सम्बन्धित समाचार
३० जना प्रहरी कर्मचारीहरूलाई सवारी चालक उन्नत तालिम प्रदान
२०८३-०८-०९

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले ३० जना प्रहरी कर्मचारीहरूलाई सवारी चालक (हेभी) उन्नत तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा उक्त महाशाखामा संचालित सवारी चालक (हेभी) उन्नत तालिम ३३ औं समूह अन्तर्गत उनीहरूलाई तालिम प्रदान गरिएको हो ।    तालिम समापनका अवसरमा सोही महाशाखामा बुधबार आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक बिनोद सिलवालले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो । सो अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक सिलवालले तालिमबाट प्राप्त ज्ञान सीपलाई आफ्नो कार्यक्षेत्रमा प्रभावकारी ढंगबाट प्रयोग गर्नुपर्ने बताउनुभयो ।   कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक भरत कुमार श्रेष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै १६ दिन कार्यअवधिको उक्त तालिममा प्रहरी हवल्दार ३ जना, प्रहरी सहायक हवल्दार १५ जना र प्रहरी जवान १२ जना गरी कुल ३० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो । 

नेपाल प्रहरी केनाईन कार्यालय महाराजगंजमा कुकुर पूजा सम्पन्न
२०८३-०७-२२

काठमाडौं, यमपञ्चकको दोस्रो दिन अर्थात कुकुर तिहारका अवसरमा नेपाल प्रहरी केनाईन कार्यालय महाराजगंजमा आइतबार आयोजित कार्यक्रमबीच कुकुर पूजा सम्पन्न भएको छ ।कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागका प्रहरी नायव महानिरीक्षक ओम बहादुर रानाले प्रहरी कुकुरको प्रतिमामा माल्यार्पण गर्नुका साथै कार्यालयमा रहेका विभिन्न जातका कुकुरहरूलाई पूजा गर्नुभयो । उहाँले यस वर्षको अपराध अनुसन्धान तथा खोज कार्यमा सर्वोत्कृष्ट प्रहरी कुकुर ‘लियो’, आज भएको दौड प्रतियोगितामा प्रथम हुन सफल प्रहरी कुकुर ‘तोजो’, बाधापार प्रतियोगितामा प्रथम हुन सफल प्रहरी कुकुर ‘रोज’ र आज्ञापालन प्रतियोगितामा प्रथम हुन सफल प्रहरी कुकुर ‘छुर्पी’ लाई पुरस्कृत समेत गर्नुभयो । साथै यस वर्ष उत्कृष्ट कार्य गर्ने सोही कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई समेत उहाँले पुरस्कार प्रदान गर्नुभयो ।उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी नायव महानिरीक्षक रानाले अपराध अनुसन्धान तथा सुरक्षा कार्यमा नेपाल प्रहरीको केनाईन सेवाले खेलेको महत्वपूर्ण भूमिकाको चर्चा गर्दै आगामी दिनमा केनाईन सेवालाई थप प्रभावकारी बनाउन व्यावसायिक जनशक्ति तथा भौतिक स्रोत साधनयुक्त बनाउँदै लैजानुपर्ने बताउनुभयो । केनाईनले केन्द्रमा मात्र नभई प्रदेशस्तरमा समेत उत्कृष्ट कार्य सम्पादन गर्दै आएको उहाँले उल्लेख गर्नुभयो ।कार्यक्रममा उक्त कार्यालयका प्रहरी कर्मचारीहरू र प्रहरी कुकुरहरूले पुष्प वर्षा, आज्ञापालन, बाधापार र दौड प्रतियोगिता लगायतका विभिन्न मनोरञ्जनात्मक प्रदर्शनीहरू गरेका थिए । प्राविधिक प्रहरी उपरीक्षक डा. रामचन्द्र सत्यालले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्राविधिक प्रहरी नायव उपरीक्षक डा. चेत नारायण ज्ञवालीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।नेपाल प्रहरीको अनुसन्धान प्रक्रियालाई तथ्यपरक र प्रमाणमूखी बनाउने उद्देश्यकासाथ विगत लामो समयदेखि अपराध अनुसन्धान तथा खोज कार्यमा तालिम प्राप्त कुकुरहरुको प्रयोग हुँदै आएको छ । कार्यक्रममा प्रहरी अधिकृत तथा जवानहरू लगायत  संचारकर्मीहरू तथा आमन्त्रित अतिथिहरूको उपस्थिति रहेको थियो ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेद्वारा मातहत प्रहरी कार्यालयका सुचना अधिकारीसँग छलफल एवम् अन्तरक्रिया
२०८३-०७-१७

काठमाडौं, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेले मातहत प्रहरी कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारीहरूसँग मंगलबार छलफल तथा अन्तरक्रिया गर्नुभएको छ । प्रहरी नायव महानिरीक्षक काफ्लेले नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा छलफल तथा अन्तरक्रिया गर्नुभएको हो । सो अवसरमा उहाँले नेपाल प्रहरीको सूचना सम्प्रेषण प्रकृया, सूचना सम्प्रेषणमा अपनाउनुपर्ने सतर्कता लगायत समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया समेत गर्नुभयो ।प्रहरी नायव महानिरीक्षक काफ्लेले नेपाल प्रहरीमा सञ्चार मध्यमको विकासक्रम, सूचनाको हक सम्बन्धमा संवैधानिक प्रावधान, सूचनाको हक सम्बन्धी ऐन,२०६४, सूचना सम्प्रेषणका लागि नेपाल प्रहरीका माध्यमहरू, नेपाल प्रहरीको सञ्चार माध्यम(मिडिया) सम्बन्धी नीति, २०६० र सामाजिक सञ्जालको प्रयोग सम्बन्धी अन्य व्यवस्थाहरू लगायतका विषयवस्तुहरूमा उपस्थित प्रहरी अधिकृतहरूलाई विस्तृत रूपमा जानकारी दिनुभयो । सो अवसरमा प्रहरी नायव महानिरीक्षक काफ्लेले गृह मन्त्रालयबाट सूचना उपलब्ध गराउने सम्बन्धी परिपत्र, नेपाल प्रहरी प्रधान कार्यालयबाट गरिएका परिपत्रहरू, सामाजिक सञ्जाल दुरूपयोग गर्ने प्रहरी कर्मचारी उपर विभागीय कारबाही संख्या, प्रहरी कर्मचारीले सामाजिक संजालहरूको व्यक्तिगत प्रयोग सम्बन्धमा समेत विस्तृत रूपमा जानकारी दिनुभयो । कार्यक्रममा प्रहरी नायव महानिरीक्षक काफ्लेले उपस्थित विभिन्न प्रहरी कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारीहरूले राखेका जिज्ञासाहरूको निरूपण गर्दै नेपाल प्रहरीले सञ्चारकर्मी तथा आम नागरिकलाई प्रवाह गर्ने सूचनाहरू सदैव सत्य, बस्तुनिष्ठ एवम् पारदर्शी हुनुपर्ने बताउनुभयो । सामाजिक सञ्जालको प्रयोगमा थप सतर्कता अपनाउनुपर्नेमा विशेष जोड दिँदै आम नागरिकमा सकारात्मक सोच, जनविश्वास र जनाधारमा वृद्धि गर्दै संगठनको श्रीवृद्धिमा समेत योगदान पुग्ने गरी सूचना सम्प्रेषण गर्न उहाँले निर्देशन दिनुभयो । कार्यक्रममा विभिन्न ब्यूरोहरू, काठमाडौं उपत्यका प्रहरी कार्यालय, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय तथा जिल्ला प्रहरी परिसरहरूका प्रवक्ता एवम् सूचना अधिकारीहरू लगायतको उपस्थितिको साथै ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, जिल्ला प्रहरी कार्यालयहरू एवम् मातहत कार्यालयका प्रहरी प्रवक्त एवम् सूचना अधिकारीहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

सवारी चालक उन्नत तालिम सुरू
२०८३-०७-११

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा संचालन हुने ३३ औं समूहको सवारी चालक (हेभी) उन्नत तालिम सुरू भएको छ । सोही महाशाखाका प्रहरी उपरीक्षक अनुप श्रेष्ठले बुधबार आयोजित कार्यक्रमबीच उक्त तालिमको उद्‌घाटन गर्नुभएको हो । कार्यक्रममा प्रहरी निरीक्षक भरत कुमार श्रेष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै कुल १६ कार्यदिन रहेको उक्त तालिममा प्रहरी हवल्दार ३ जना, प्रहरी सहायक हवल्दार १५ जना र प्रहरी जवान १२ जना गरी कुल ३० जना प्रहरी कर्मचारीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।  

नेपाल प्रहरीद्वारा नि:शुल्क बस संचालन
२०८३-०७-०३

काठमाडौं, बडा दसैंको अवसरमा काठमाडौं उपत्यकामा आम नागरिकको सुविधा र सहज आवागमनका लागि नेपाल प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले दसैंमा यात्रुको सहजताका लागि उपत्यकाका तीन रूटमा कात्तिक ३ र ४ गते नि:शुल्क बस सञ्चालन गरेको छ । रूट नम्बर १: यो रूट नक्सालबाट सुरू भई बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माईतीघर, पुतलीसडक, कृष्णपाउरोटी, जयनेपाल हल हुँदै पुनः नक्सालमा फर्किनेछ ।रूट नम्बर २: यो रूट नक्सालबाट सुरू भई रत्नपार्क, बानेश्वर, कोटेश्वर, सल्लाघारी, सूर्यविनायक चोक हुँदै कोटेश्वर, एयरपोर्ट, गौशाला, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै पुनः नक्सालमा फर्किनेछ । रूट नम्बर ३: यो रूट नक्सालबाट सुरू भई सोह्रखुट्टे, बालाजु चोक, नयाँ बसपार्क, नारायण गोपाल चोक चक्रपथ, सुकेधारा, गौशाला, एयरपोर्ट, कोटेश्वर, सातदोबाटो, एकान्त कुना, बल्खु, कलंकी, नयाँ बसपार्क, चक्रपथ, महाराजगंज हुँदै पुन: नक्सालमा फर्किनेछ ।निःशुल्क बस सेवाले विशेषगरी सार्वजनिक यातायातको अभावमा रहेका यात्रुहरूलाई ठूलो राहत मिल्ने अपेक्षा गरिएको   छ ।नि:शुल्क बस सेवा पहिलो सिफ्ट अन्तर्गत आज १६:०० बजेबाट तीन वटै रूटमा सञ्चालन हुनेछ । यसैगरी कात्तिक ४ गते पहिलो सिफ्ट बिहान ८:०० बजेबाट र दोस्रो सिफ्ट दिउँसो १५:३० बजे बाट उक्त रूटहरूमा सञ्चालन हुनेछ ।