नागरिकको अपेक्षा अनुरूप प्रहरी संगठनका काम कारबाहीहरू अगाडि बढ्नु नितान्त आवश्यक - प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसी
२०८३-०७-१८
- A
- A-
- A+
काठमाडौं, प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीले प्रहरी संगठनको श्रीवृद्धि, प्रतिष्ठा र नागरिकको विश्वासलाई केन्द्रमा राख्दै सबै प्रहरी कर्मचारीहरू एक ढिक्का भई विषम परिस्थितिमा नेपाल सरकार र आम नेपाली नागरिकको अपेक्षा अनुरूप संगठनका काम कारबाहीहरू अगाडि बढ्नु नितान्त आवश्यक रहेको बताउनुभएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित विशेष समारोहबीच प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक केसीले उक्त कुरा बताउनुभएको हो ।
प्रहरी महानिरीक्षक केसीले गौरवशाली इतिहास बोकेको नेपाल प्रहरी संगठनको सर्वोच्च एवम् गरिमामय प्रहरी महानिरीक्षक पदमा पदोन्नति गर्नु भएकोमा नेपाल सरकार प्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुका साथै संगठनको सर्वोच्च नेतृत्वसम्म पुग्न प्राप्त भएको साथ, सहयोग, सल्लाह, सहयात्रा, शुभेच्छा एवम् सद्भावका लागि सम्पूर्ण अग्रजहरू, मार्गदर्शन गर्नुहुने शुभेच्छुकहरू, सहकर्मीहरू, सकल दर्जाका प्रहरी कर्मचारीहरू, परिवारजन एवम् शुभ चिन्तकहरूमा हार्दिक आभार समेत व्यक्त गर्नुभयो ।
प्रहरी महानिरीक्षक केसीले बदलिँदो सामाजिक परिवेश र विकसित हुँदै गएका सुरक्षा चुनौतीसँगै नेपाल प्रहरीलाई अझ सक्षम, व्यावसायिक, प्रविधिमैत्री र नागरिक प्रति उत्तरदायी संगठनका रूपमा अघि बढाउनु प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै संगठनको गौरवशाली इतिहास, संस्थागत मूल्यमान्यता, प्रहरी कर्मचारीहरूको त्याग र वलिदान तथा आम नागरिकको नेपाल प्रहरी प्रतिको अपेक्षा, भरोसा र विश्वासलाई अझ अभिवृद्धि गर्दै कठिन परिस्थितिमा नेपाल सरकारले प्रदान गरेको जिम्मेवारीलाई गाम्भीर्यताका साथ ग्रहण गरेको बताउनुभयो । संगठनको मूल्य, मान्यता र प्रतिष्ठालाई मनन गर्दै सकारात्मक सोच, दृष्टिकोण, उच्च नैतिक चरित्र र व्यावसायिकता प्रदर्शन गर्दै मित्रता र सहकार्यका साथ सबै प्रहरी कर्मचारीहरूले आ-आफ्नो क्षेत्रबाट हर प्रकारले अटुट साथ दिनु हुनेछ भन्ने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो ।
प्रहरी महानिरीक्षक केसीले देशमा आएका राजनीतिक तथा सामाजिक परिवर्तन, प्राकृतिक विपद्, संकट तथा बद्लिँदो सुरक्षा चुनौतीका अनेकौँ कठिन घडीमा नेपाल प्रहरीले आफूलाई राष्ट्र र नागरिकको सेवामा अग्रपंक्तिमा उभ्याउँदै जनधनको रक्षा गर्दै आएको चर्चा गर्दै सांगठनिक सुदृढीकरणको लागि विभिन्न समयमा लागू गरिएका नीति, योजना, कार्यविधि तथा असल अभ्यासहरूलाई निरन्तरता दिँदै अझ प्रतिवद्धताका साथ आगामी दिनहरूमा देश र नागरिक प्रतिको आफ्नो उत्तरदायित्व र जिम्मेवारी प्रभावकारी र जबाफदेही ढंगबाट उच्च मनोवलका साथ निर्वाह गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो । प्रहरी संगठनका लागि सिर्जित तमाम चुनौतीहरूको सम्बोधन प्रहरी महानिरीक्षकको एकल प्रयास वा सीमित प्रहरी कर्मचारीहरूको प्रयासबाट मात्र सम्भव नहुने भएकोले प्रहरी अतिरिक्त महानिरीक्षक देखि प्रहरीका आधारभूत तहसम्मको सक्रियता, अग्रसरता र सृजनशीलताको आवश्यकता रहने उहाँले बताउनुभयो ।
प्रहरी महानिरीक्षक केसीले मुलुकको वर्तमान संवेदनशील सुरक्षा अवस्था, सञ्चार एवं सामाजिक सञ्जालको वर्तमान प्रवृत्ति तथा प्राविधिक जोखिमहरूलाई मध्यनजर गर्दै, प्रहरी कार्यसम्पादन, आन्तरिक रणनीति र संवेदनशील सूचनाहरूको पूर्ण गोपनीयता कायम गर्न र अनधिकृत सूचना चुहावटप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरिने बताउनुभयो । विधिको शासनको पालना गराउने क्रममा संगठनप्रति पूर्ण वफादार रही कुनै पनि प्रलोभन, प्रभाव वा दबाबबाट मुक्त भई नागरिकको हकहित र कानुनी राज्यको पालना सुनिश्चित गर्न उच्च नैतिक चरित्र र व्यावसायिक इमानदारी सबै प्रहरी कर्मचारीहरूबाट प्रर्दशन हुने अपेक्षा लिएको उहाँले व्यक्त गर्नुभयो ।
प्रहरी महानिरीक्षक केसीले राष्ट्रसेवक कर्मचारीबाट प्रवाह हुने सेवाको स्तर र आम नागरिकप्रति गरिने व्यवहार अहिलेको ज्वलन्त प्रश्न र सुधारको क्षेत्र रहेको उल्लेख गर्दै सांगठनिक र व्यक्तिगत रूपमा आम नागरिकप्रतिको व्यवहारलाई अझ जनउत्तरदायी बनाउँदै आपराधिक प्रवृत्तिसँग कठोर रूपमा तर आम नागरिकहरूसँग अपेक्षा अनुरूपको व्यवहार गरी सेवा प्रवाह गर्नु सबै प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउनका लागि नेपाल प्रहरीमा उपलब्ध साधनश्रोतको उच्चतम उपयोग गर्दै प्रहरी कल्याणकारी कार्यहरू र प्रहरी कर्मचारीहरूको कार्य वातावरणमा सुधारका प्रयासहरू निरन्तर गरिने समेत उहाँले उल्लेख गर्नुभयो ।
प्रहरी महानिरीक्षक केसीले प्रहरीको कार्यगत स्वायत्तता, सेवा विशिष्टीकरण, पारदर्शी, अनुमानयोग्य र क्षमतामा आधारित वृत्ति विकास प्रणालीको प्रवर्द्धन लगायतका विषयमा आवश्यक नीतिगत व्यवस्थाको लागि तालुक मन्त्रालय र नेपाल सरकारसँग सार्थक पहल गरिने बताउनुभयो । साथै विश्वव्यापी अपराध चुनौती तथा जोखिमहरूको न्यूनीकरण गर्न समयानुकूल प्रविधिको विकास, क्षमता अभिवृद्धि, सुदृढ नीतिगत तथा कानुनी व्यवस्था, स्रोत साधनको व्यवस्थाको सन्दर्भमा तालुक गृह मन्त्रालय तथा नेपाल सरकारबाट सदैव सहयोग र निरन्तर मार्गदर्शन हुने अपेक्षा र विश्वास लिएको समेत उहाँले बताउनुभयो ।
समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, नेपाल प्रहरी प्रधान कार्यालय तथा उपत्यकास्थित वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरूको उपस्थितिको साथै प्रदेश प्रहरी कार्यालयहरूका प्रमुखहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरूका प्रमुखहरू, शिक्षालयका प्राचार्यहरू, प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखहरू, जिल्ला प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी विशेष सुरक्षा गणका प्रमुखहरू, प्रदेश प्रहरी गणका प्रमुखहरूको समेत भर्चुअल रूपमा उपस्थिति रहेको थियो ।