प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीको प्रमुख आतिथ्यतामा प्राज्ञिक पदवी प्रदान तथा सम्मान समारोह सम्पन्न

२०८३-०७-२०

  • A
  • A-
  • A+
Share

काठमाडौं,  प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी अस्पताल महाराजगंजमा शुक्रबार आयोजित प्राज्ञिक पदवी प्रदान तथा सम्मान समारोह सम्पन्न भएको छ । 

सो अवसरमा प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीले नेपाल प्रहरी अस्पतालमा कार्यरत प्रहरी अधिकृतहरूलाई सह-प्राध्यापक र विशेष अतिथि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. विवेक आचार्यले सहायक प्राध्यापकको प्रमाणपत्र प्रदान गर्नुका साथै उहाँहरूलाई सम्मान समेत गर्नुभयो । 

स्वास्थ्य सम्बन्धी दक्ष जनशक्ति उत्पादन गरी स्वास्थ्य सेवा मार्फत जनताको सेवामा समर्पित हुने सोचका साथ नेपाल प्रहरीले नेपाल प्रहरी मेडिकल कलेजको परिकल्पना गरी अगाडि बढिरहेको छ । मेडिकल कलेजको आधार स्तम्भको रूपमा रहेको प्राविधिक जनशक्तिको प्राज्ञिक वृत्ति विकासलाई अगाडि बढाउने संगठनको नीति अनुरूप २०८१ फाल्गुण २७ गते नेपाल प्रहरी अस्पताल र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान बीच सम्झौता भएको थियो । यसै सन्दर्भमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान प्राज्ञिक परिषद्को २०८२ चैत्र ४ गतेको बैठकले नेपाल प्रहरी अस्पतालमा कार्यरत मापदण्ड पुरा गर्नुभएका १७ जना चिकित्सकलाई सहप्राध्यपक, १८ जना चिकित्सकलाई सहायक प्राध्यापक एवम् एक जना नर्सिङ अधिकृतलाई सहायक प्राध्यापकको पदवी प्रदान गरेको हो ।

सह-प्राध्यापकको प्राज्ञिक पदवी प्राप्त गर्नुहुनेहरूमा नेपाल प्रहरी अस्पतालका मेडिकल डाईरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक सुन्दर प्रसाद ह्योजु, प्राविधिक प्रहरी नायव महानिरीक्षकहरू डा. संजय विक्रम श्रेष्ठ र डा. मनोज कुमार यादव, प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकहरू डा. विपिन कुमार श्रेष्ठ, डा. अमिन कुमार श्रेष्ठ, डा. पवन कुमार राय र डा. सेवक श्रेष्ठ, प्राविधिक प्रहरी उपरीक्षकहरू डा. अच्युत विक्रम हमाल, डा. सन्तोष जोशी, डा. रोजिना मानन्धर, डा. ज्योती बाँस्तोला पौडेल, डा. अञ्जली तण्डुकार, डा. दीपा चुडाल र डा. सुवास थापा तथा प्राविधिक प्रहरी नायव उपरीक्षकहरू डा. अर्चना यादव र डा. निशेफ अधिकारी रहेका छन् । 

यसैगरी सहायक प्राध्यापकको प्राज्ञिक पदवी प्राप्त गर्नुहुनेहरूमा प्राविधिक प्रहरी नायव उपरीक्षकहरू डा. रोशन कुमार निराला, डा. सन्तोष कुमार ठाकुर, डा. शिरिषचन्द्र रेग्मी, डा. प्रशंसा शाक्य, डा. श्याम कृष्ण लौडारी, डा. राजन सुवेदी, डा. सन्देश लामिछाने, डा. आशिष मोहन भट्टराई, डा. विदुर प्रसाद आचार्य र डा. रजनी महर्जन तथा प्राविधिक प्रहरी निरीक्षकहरू डा. नितु भण्डारी, डा. विजय कुमार श्रेष्ठ र डा. आलोक सिंह रहेका छन् । 

समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीले सह-प्राध्यापक एवम् सहायक प्राध्यापकको प्राज्ञिक उपाधिहरू केवल व्यक्तिगत शैक्षिक उपलब्धी वा सम्मानका प्रमाणपत्र मात्र नभई वर्षौँ देखिको अध्ययन, अनुसन्धान, लगनशीलता र व्यावसायिक निष्ठाको जीवन्त प्रमाण भएको चर्चा गर्दै यी प्राज्ञिक उपाधि हासिल गर्न सफल हुनुभएका सम्पूर्ण चिकित्सक तथा नर्सिङ अधिकृतहरूलाई समग्र नेपाल प्रहरीको तर्फबाट हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । 

प्रहरी महानिरीक्षक केसीले नेपाल प्रहरीले स्वास्थ्य सेवालाई थप विशिष्टिकृत, गुणस्तरीय र अनुसन्धानमुखी बनाउँदै नेपाल प्रहरी अस्पताललाई एक सक्षम प्राज्ञिक तथा कार्यात्मक मेडिकल कलेजका रूपमा विकास गर्ने दीर्घकालीन यात्रामा अघि बढिरहेको उल्लेख गर्दै नेपाल प्रहरी मेडिकल कलेजको स्थापना तथा विकासको यात्रामा आज प्राज्ञिक उपाधि हासिल गर्नुभएका प्रहरी अधिकृतहरूले आर्जन गर्नुभएको ज्ञान, अनुभव र प्राज्ञिक क्षमतालाई संस्थाको सेवा प्रवाह सुधार, अनुसन्धान, अध्यापन र नवीनतम् चिकित्सा अभ्यासको विकासमा उपयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । 

कार्यक्रममा विशेष अतिथि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. विवेक आचार्यले प्राज्ञिक पदवी प्राप्त गर्नुहुने चिकित्सकहरूलाई बधाई तथा शुभकामना दिनुहुँदै प्राप्त जिम्मेवारीलाई उत्कृष्ट रूपमा बहन गर्नुपर्ने बताउनुभयो । 

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, नेपाल मेडिकल काउन्सिलका पदाधिकारीहरू लगायत अन्य आमन्त्रित महानुभावहरूको उपस्थिति रहेको थियो । 


सम्बन्धित समाचार
चाडपर्वको समयमा कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन थप क्रियाशील हुनुपर्ने - प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसी
२०८३-०७-२०

काठमाडौं, प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीले नजिकिँदै गरेको चाडपर्वहरूको समयमा कुनै पनि अवाञ्छित गतिविधि हुन नदिन चाडपर्वहरू लक्षित विशेष सुरक्षा योजना अवलम्बन गर्दै प्रहरी कर्मचारीहरू थप क्रियाशील हुनुपर्ने बताउनुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा नजिकिँदै गरेको महान चाडपर्व दिपावली, नेपाल सम्वत्, छठ लगायतका पर्वहरूको समयमा अपनाउनुपर्ने सुरक्षा संवेदनशीलता एवम् समसामयिक विषयवस्तुका सम्बन्धमा शुक्रबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक केसीले उक्त कुरा बताउनुभएको हो ।  प्रहरी महानिरीक्षक केसीले चाडपर्वहरूको समयमा हुन सक्ने लुटपाट, चोरी लगायत कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरूलाई समयमै सम्बोधन गर्न प्रभावकारी रूपमा प्रहरी परिचालन गर्नुपर्ने बताउनुभएको छ । विशेष गरी चाडपर्वहरूको समयमा पटका लगायतका विष्फोटक पदार्थको कारोबार नियन्त्रण गर्नुका साथै सामाजिक सद्भावमा खलल पार्न सक्ने कुनै पनि घटनाप्रति थप सचेत भई कार्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । प्रहरी महानिरीक्षक केसीले आ-आफ्नो जिम्मेवार क्षेत्रहरूमा सुरक्षा व्यवस्थापनको निम्ति आवश्यक सुरक्षा योजना निर्माणका साथै स्थानीय तह एवम् सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी व्यावसायिक, उत्तरदायी एवम् जवाफदेही प्रहरी सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो । साथै प्रदेश प्रहरी प्रमुख र जिल्ला प्रहरी प्रमुखहरूले आ-आफ्नो जिम्मेवार क्षेत्रको अनुगमन, सुपरीवेक्षण र निरीक्षण गरी भएका कमी कमजोरी र त्रुटीहरूलाई समयमै सुधार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थितिको साथै ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू, जिल्ला प्रहरी परिसरहरू र जिल्ला प्रहरी कार्यालयहरू एवम् मातहत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्रबाट सेवा प्रारम्भ
२०८३-०७-२०

काठमाडौं,  प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीको उपस्थितिमा साइबर ब्यूरोको कार्यालय सामाखुशीमा शुक्रबार आयोजित कार्यक्रम बीच एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र (IACSC) बाट सेवा प्रारम्भ भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीले साइबर, अनलाइन ठगी अहिलेको चुनौतीको रूपमा देखा परिरहेको अवस्थामा त्यसलाई उचित सम्बोधन गर्न त्यस क्षेत्रसँग सम्बन्धित सम्पूर्ण निकायहरूको आपसी सहयोग, समन्वय र सहकार्य अत्यन्तै महत्वपूर्ण रहेको बताउनुभयो । सबै सम्बन्धित निकायहरूको सहकार्यबाट प्रभावकारी अनुसन्धान हुने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो । नेपाल सरकार (मन्त्रीस्तर) को २०८३ असोज २३ गतेको निर्णयबाट स्वीकृत ‘एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र (IACSC) स्थापना र कार्यसञ्चालन सम्बन्धी दिग्दर्शन, २०८३’ बमोजिम स्थापना भएको यस केन्द्रमा नियामक निकाय, प्रहरी, बैंक, वालेट, दूरसञ्चार र इन्टरनेट सेवा प्रदायक संस्थाहरूले एउटै भौतिक कक्षबाट एकीकृत रूपमा कार्य गरी साइबर स्क्याम र ठगीहरूलाई यथाशीघ्र प्रतिकार्य गरी जोखिम घटाउँदै डिजिटल वित्तीय प्रणालीलाई सुरक्षित र विश्वसनीय बनाउने लक्ष्य राखेको   छ । साइबर ठगी सम्बन्धी उजुरी तथा सूचनाहरूलाई २४ सै घण्टा प्राप्त गर्नका लागि सम्पर्क अधिकृत तोकी १२४७ आकस्मिक फोन नम्बर समेतको व्यवस्था गरिएको छ । कार्यक्रममा केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्वेदी, साइबर ब्यूरोका प्रमुख प्राविधिक प्रहरी नायव महानिरीक्षक नवीन्द अर्याल, विभिन्न बैंक तथा वित्तीय संस्थाका पदाधिकारीहरू, डिजिटल वालेट/भुक्तानी सेवा प्रदायकका प्रतिनिधिहरू, दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायकहरूका प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो । 

प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसी दर्ज्यानी चिन्हबाट सुशोभित
२०८३-०७-१८

काठमाडौं, नेपाल सरकार मन्त्रिपरिषद्को २०८३ कात्तिक १८ गतेको निर्णयअनुसार प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएका डा. मनोज कुमार केसी दर्ज्यानी चिन्हबाट सुशोभित हुनुभएको छ । गृह मन्त्रालय सिंहदरबारमा बुधबार आयोजित विशेष समारोहबीच गृहमन्त्री सुधन गुरूङले प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीलाई दर्ज्यानी चिन्हबाट सुशोभन गर्नुभएको हो ।सुशोभन समारोहमा गृहमन्त्री सुधन गुरूङले नेपाल प्रहरी संगठनको प्रमुखको रूपमा नियुक्त हुनुभएका प्रहरी महानिरीक्षक केसीलाई हार्दिक बधाई दिनुहुँदै नेतृत्वकालको पूर्ण सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो । समाजमा शान्ति सुरक्षा कायम गर्ने, अपराध नियन्त्रण, विपद् व्यवस्थापन लगायतका क्षेत्रमा प्रभावकारी कार्यसम्पादन गर्नुपर्ने उल्लेख गर्दै नागरिकमैत्री सेवा प्रवाहलाई केन्द्रमा राखेर नवनियुक्त प्रहरी महानिरीक्षक केसीले आफ्नो जिम्मेवारी निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।  गृहमन्त्री गुरूङले प्रहरीले नागरिकसँग सहकार्य गर्दै निर्वाह गरेको भूमिकाले नागरिक र प्रहरी बीचको सम्बन्ध प्रगाढ हुँदै गएको चर्चा गर्दै त्यसको लागि सम्पूर्ण प्रहरी कर्मचारीहरूको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । नेपाल प्रहरीको सुदृढीकरणको साथसाथै गर्नुपर्ने सुधारका विषयहरू, देखापरेका चुनौति तथा भावी योजनाहरू लगायतका विषयहरूलाई सम्बोधन गर्न गृह मन्त्रालयले सदैव समन्वय, सहजीकरण र सहयोग गरिरहने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो । साथै नयाँ नेतृत्वले संगठनलाई थप मजबुद बनाउने र सम्पूर्ण प्रहरी कर्मचारीहरूको मनोबल उच्च राख्ने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो ।   कार्यक्रममा प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीले नेपाल प्रहरी संगठनको नेतृत्वको जिम्मेवारी सुम्पिनुभएकोमा नेपाल सरकार प्रति हृदयदेखि नै कृतज्ञता व्यक्त गर्नुभयो । साथै संविधान र कानुनप्रति अविचलित रही नागरिकको सुरक्षा र सम्मानलाई सर्वोपरी राख्दै संगठनको मर्यादा, निष्पक्षतामा कुनै सम्झौता नगर्ने र आफ्नो कार्यकालको मूल्याङ्कन नेपाली जनतालाई के दिन सके भन्नेमा आधारित रहने गरी प्राप्त जिम्मेवारी निर्वाह गर्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।  प्रहरी महानिरीक्षक केसीले साइबर ठगी, वित्तीय अपराध, क्रिप्टो कारोबार, डिपफेक एवम् भ्रामक सूचनाहरू गम्भीर चुनौतीको रूपमा देखा परेको र त्यसलाई सम्बोधन गर्नुपर्ने तथा विपद् व्यवस्थापनमा समेत सुदृढीकरण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । स्रोतसाधन, भवनको अभाव, लामो कार्य घण्टा, सरूवा बढुवामा निष्पक्षता लगायतका आन्तरिक चुनौतीहरू सम्बोधन गर्न प्रणालीगत रूपमा विकास गर्नुपर्ने जरूरी रहेको र यसलाई आफूले अवसरको रूपमा लिएको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘सशस्त्र द्वन्द्व, भूकम्प, कोभिडको महामारी तथा शान्ति मिसनहरूमा नेपाल प्रहरीले आफ्नो क्षमता प्रमाणित गरिसकेको छ ।  हामीसँग अनुभव छ, जनशक्ति छ, सेवा गर्ने इच्छाशक्ति पनि छ र यो सबै कामहरू गर्नको लागि हामीले हाम्रो जनशक्तिलाई विशिष्टकृत र मनोबल युक्त बनाउनुपर्नेछ ।’ प्रहरी कर्मचारीहरूको गुनासो सम्बोधनलाई प्राथमिकतामा राखेर तत्काल एउटा संयन्त्र कार्यान्वयनमा ल्याउने र अरू योजनाहरू क्रमश लागू गर्ने अवस्था बनाउँदै जाने उहाँले बताउनुभयो । आधुनिक प्रहरीमा जनतासँगको सम्बन्ध नै महत्वपूर्ण स्रोत भएको चर्चा गर्दै आवश्यक स्रोत साधन, कानुनी स्पष्टता, कार्यगत स्वायत्तता र प्रहरीलाई प्रभावबाट मुक्त राख्न उहाँले नेपाल सरकारसँग सहयोग तथा आग्रह समेत गर्नुभयो ।  कार्यक्रममा गृहसचिव केदारनाथ शर्मा, सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक टेकेन्द्र कार्की, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका उच्चपदस्थ अधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू एवम् संचारकर्मीहरूको उपस्थिति रहेको थियो ।  दर्ज्यानी चिन्हद्वारा सुशोभित भएपश्चात नवनियुक्त प्रहरी महानिरीक्षक केसीले बुधबार आफ्नो कार्यकक्षमा पदबहाली गर्नुभएको छ । प्रहरी महानिरीक्षक केसी नेपाल प्रहरी प्रधान कार्यालय प्रवेश गर्नुहुँदा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृतहरू तथा जवानहरूले हार्दिक स्वागत गर्नुभयो ।  प्रहरी महानिरीक्षक केसीले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्पहार चढाई अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण समेत गर्नुभयो । साथै प्रहरी महानिरीक्षक डा.मनोज कुमार केसीको उपस्थितिमा बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा बसेको नीति निर्माण समितिको बैठकमा नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकको निर्णयले प्रहरी महानिरीक्षक पदमा डा.मनोज कुमार केसीलाई नियुक्त गर्ने निर्णय भएको सुखद अवसरमा नेपाल सरकारलाई हार्दिक आभार एवम् कृतज्ञता व्यक्त गर्ने निर्णय गरिएको छ । यसैगरी देशमा शान्ति सुरक्षा व्यवस्थालाई थप मजबुत बनाउन विस्तृत सुरक्षा योजनाको प्रभावकारी रूपमा कार्यान्वयन गर्ने/गराउने सम्बन्धमा मातहतलाई निर्देशन दिने समेत नीति निर्माण समितिको बैठकमा निर्णय गरिएको छ ।प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीको सङ्क्षिप्त जीवनी :  प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसी नेपाल प्रहरीको ३४औं प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को २०८३ कात्तिक १८ गतेको निर्णयअनुसार उहाँ नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा पदोन्नति हुनुभएको हो ।  नुवाकोट जिल्लाको साविक तुप्चे-२ हाल बिदुर नगरपालिका वडा नम्बर ७ मा बुबा अशोक कुमार केसी र माता शान्ति केसीको कोखबाट वि.सं. २०३२ साउन २८ गते जन्मनु भएका प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीका श्रीमती सर्‌यू केसी र छोरा अंशुमन केसी हुनुहुन्छ । प्रहरी महानिरीक्षक केसीले वि.सं. २०५४ चैत १८ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवा प्रारम्भ गर्नुभएको हो । प्रहरी सेवामा साहसी प्रहरी अधिकृतको रूपमा पहिचान बनाउनुभएका प्रहरी महानिरीक्षक केसी २०६६ मंसिर २६ गते प्रहरी नायव उपरीक्षक, २०७४ साउन १९ गते प्रहरी उपरीक्षक, २०७९ साउन ३ गते प्रहरी वरिष्ठ उपरीक्षक, २०८१ जेठ १३ गते प्रहरी नायव महानिरीक्षक र २०८२ वैशाख ११ गते प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएको थियो ।  एप्लाइड कन्फ्लिक्ट ट्रान्सफर्मेसन स्टडिजमा विद्यावारिधी गर्नुभएका प्रहरी महानिरीक्षक केसीले पिसकिपिङ एण्ड इन्टरनेशनल कन्फ्लिक्ट रिजोलुसन, लजिस्टिक सपोर्ट टु युएन पिस किपिङ अपरेसन्स्, ग्लोबल टेरोरिजम, इन्टरनेशनल ह्युमेनेटेरियन ल एण्ड ल अफ आर्म्ड कन्फ्लिक्ट, सेक्युरीटि मेजर्स फर युएन पिसकिपर्स, हस्तक्षेप र व्यवस्थापनका सिद्धान्तहरू, इन्भेस्टिगेटिभ ईन्टरभ्यु ट्रेनिङ कोर्स, कोर्स अन ह्युमेनराइट्स एण्ड ल इन्फोर्समेन्ट, व्यवस्थापन र विकास तालिम, मास्टर ट्रेनिङ अफ ट्रेनर्स, स्ट्राटेजिक कमाण्ड एण्ड म्यानेजमेन्ट लगायत विभिन्न १५ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम हासिल गर्नुभएको   छ । प्रहरी महानिरीक्षक केसी प्रवल जनसेवा श्री, गोरखा दक्षिणबाहु चौथो, संयुक्त राष्ट्र संघ पदक, वीरेन्द्र ऐश्वर्य सेवा पदक लगायतका विभूषणबाट विभूषित हुनुहुन्छ । यसैगरी उहाँले उत्कृष्ट व्यावसायिक कार्य सम्पादन गरेबापत विभिन्न समयमा नगद पुरस्कार प्राप्त गर्नुको साथै विभिन्न प्रशंसापत्रद्वारा सम्मानित हुनुभएको छ ।  अब्बल एवम् कुशल नेतृत्त्वदायी भूमिकामा रहने प्रहरी महानिरीक्षक केसीले प्रहरी निरीक्षक र प्रहरी नायव उपरीक्षक हुँदा दंगा नियन्त्रण प्रहरी गण मुख्यालय बर्दिबास महोत्तरी, उपत्यका अपराध अनुसन्धान समूह काठमाडौं, जिल्ला प्रहरी कार्यालय जाजरकोट, जिल्ला प्रहरी कार्यालय बागलुङ, जिल्ला प्रहरी कार्यालय प्युठान, जिल्ला प्रहरी कार्यालय काठमाडौं, अञ्चल प्रहरी कार्यालय राप्ती, जिल्ला प्रहरी कार्यालय धादिङ, महानगरीय प्रहरी वृत्त बौद्ध, प्रहरी प्रधान कार्यालय, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज लगायतका युनिटमा खटिएर जिम्मेवारी पूरा गर्नुभएको थियो । प्रहरी उपरीक्षक भएपछि जिल्ला प्रहरी कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय रूपन्देही, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र प्रहरी प्रधान कार्यालय नक्साल लगायतका कार्यालयहरूमा आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएको थियो । प्रहरी वरिष्ठ उपरीक्षक भएपछि उहाँले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र नेपाल प्रहरी प्रधान कार्यालयमा आफ्नो जिम्मेवारी निर्वाह गर्नुभएको थियो । प्रहरी नायव महानिरीक्षकमा नेपाल प्रहरी प्रधान कार्यालय विशेष ब्यूरो र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा कमाण्ड गर्नुभएका केसी २०८२  वैशाख ११ मा प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति हुनुभएको हो । प्रहरी अतिरिक्त महानिरीक्षकमा उहाँले केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाट, नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग र नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको कमाण्ड समेत गर्नुभएको थियो । 

नागरिकको अपेक्षा अनुरूप प्रहरी संगठनका काम कारबाहीहरू अगाडि बढ्नु नितान्त आवश्यक - प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसी
२०८३-०७-१८

काठमाडौं, प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीले प्रहरी संगठनको श्रीवृद्धि, प्रतिष्ठा र नागरिकको विश्वासलाई केन्द्रमा राख्दै सबै प्रहरी कर्मचारीहरू एक ढिक्का भई विषम परिस्थितिमा नेपाल सरकार र आम नेपाली नागरिकको अपेक्षा अनुरूप संगठनका काम कारबाहीहरू अगाडि बढ्नु नितान्त आवश्यक रहेको बताउनुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित विशेष समारोहबीच प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक केसीले उक्त कुरा बताउनुभएको हो । प्रहरी महानिरीक्षक केसीले गौरवशाली इतिहास बोकेको नेपाल प्रहरी संगठनको सर्वोच्च एवम् गरिमामय प्रहरी महानिरीक्षक पदमा पदोन्नति गर्नु भएकोमा नेपाल सरकार प्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुका साथै संगठनको सर्वोच्च नेतृत्वसम्म पुग्न प्राप्त भएको साथ, सहयोग, सल्लाह, सहयात्रा, शुभेच्छा एवम् सद्‍भावका लागि सम्पूर्ण अग्रजहरू, मार्गदर्शन गर्नुहुने शुभेच्छुकहरू, सहकर्मीहरू, सकल दर्जाका प्रहरी कर्मचारीहरू, परिवारजन एवम् शुभ चिन्तकहरूमा हार्दिक आभार समेत व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक केसीले बदलिँदो सामाजिक परिवेश र विकसित हुँदै गएका सुरक्षा चुनौतीसँगै नेपाल प्रहरीलाई अझ सक्षम, व्यावसायिक, प्रविधिमैत्री र नागरिक प्रति उत्तरदायी संगठनका रूपमा अघि बढाउनु प्रमुख प्राथमिकता रहेको उल्लेख गर्दै संगठनको गौरवशाली इतिहास, संस्थागत मूल्यमान्यता, प्रहरी कर्मचारीहरूको त्याग र वलिदान तथा आम नागरिकको नेपाल प्रहरी प्रतिको अपेक्षा, भरोसा र विश्वासलाई अझ अभिवृद्धि गर्दै कठिन परिस्थितिमा नेपाल सरकारले प्रदान गरेको जिम्मेवारीलाई गाम्भीर्यताका साथ ग्रहण गरेको बताउनुभयो । संगठनको मूल्य, मान्यता र प्रतिष्ठालाई मनन गर्दै सकारात्मक सोच, दृष्टिकोण, उच्च नैतिक चरित्र र व्यावसायिकता प्रदर्शन गर्दै मित्रता र सहकार्यका साथ सबै प्रहरी कर्मचारीहरूले आ-आफ्नो क्षेत्रबाट हर प्रकारले अटुट साथ दिनु हुनेछ भन्ने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक केसीले देशमा आएका राजनीतिक तथा सामाजिक परिवर्तन, प्राकृतिक विपद्, संकट तथा बद्लिँदो सुरक्षा चुनौतीका अनेकौँ कठिन घडीमा नेपाल प्रहरीले आफूलाई राष्ट्र र नागरिकको सेवामा अग्रपंक्तिमा उभ्याउँदै जनधनको रक्षा गर्दै आएको चर्चा गर्दै सांगठनिक सुदृढीकरणको लागि विभिन्न समयमा लागू गरिएका नीति, योजना, कार्यविधि तथा असल अभ्यासहरूलाई निरन्तरता दिँदै अझ प्रतिवद्धताका साथ आगामी दिनहरूमा देश र नागरिक प्रतिको आफ्नो उत्तरदायित्व र जिम्मेवारी प्रभावकारी र जबाफदेही ढंगबाट उच्च मनोवलका साथ निर्वाह गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो । प्रहरी संगठनका लागि सिर्जित तमाम चुनौतीहरूको सम्बोधन प्रहरी महानिरीक्षकको एकल प्रयास वा सीमित प्रहरी कर्मचारीहरूको प्रयासबाट मात्र सम्भव नहुने भएकोले प्रहरी अतिरिक्त महानिरीक्षक देखि प्रहरीका आधारभूत तहसम्मको सक्रियता, अग्रसरता र सृजनशीलताको आवश्यकता रहने उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक केसीले मुलुकको वर्तमान संवेदनशील सुरक्षा अवस्था, सञ्चार एवं सामाजिक सञ्जालको वर्तमान प्रवृत्ति तथा प्राविधिक जोखिमहरूलाई मध्यनजर गर्दै, प्रहरी कार्यसम्पादन, आन्तरिक रणनीति र संवेदनशील सूचनाहरूको पूर्ण गोपनीयता कायम गर्न र अनधिकृत सूचना चुहावटप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरिने बताउनुभयो । विधिको शासनको पालना गराउने क्रममा संगठनप्रति पूर्ण वफादार रही कुनै पनि प्रलोभन, प्रभाव वा दबाबबाट मुक्त भई नागरिकको हकहित र कानुनी राज्यको पालना सुनिश्चित गर्न उच्च नैतिक चरित्र र व्यावसायिक इमानदारी सबै प्रहरी कर्मचारीहरूबाट प्रर्दशन हुने अपेक्षा लिएको उहाँले व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक केसीले राष्ट्रसेवक कर्मचारीबाट प्रवाह हुने सेवाको स्तर र आम नागरिकप्रति गरिने व्यवहार अहिलेको ज्वलन्त प्रश्न र सुधारको क्षेत्र रहेको उल्लेख गर्दै सांगठनिक र व्यक्तिगत रूपमा आम नागरिकप्रतिको व्यवहारलाई अझ जनउत्तरदायी बनाउँदै आपराधिक प्रवृत्तिसँग कठोर रूपमा तर आम नागरिकहरूसँग अपेक्षा अनुरूपको व्यवहार गरी सेवा प्रवाह गर्नु सबै प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउनका लागि नेपाल प्रहरीमा उपलब्ध साधनश्रोतको उच्चतम उपयोग गर्दै प्रहरी कल्याणकारी कार्यहरू र प्रहरी कर्मचारीहरूको कार्य वातावरणमा सुधारका प्रयासहरू निरन्तर गरिने समेत उहाँले उल्लेख गर्नुभयो । प्रहरी महानिरीक्षक केसीले प्रहरीको कार्यगत स्वायत्तता, सेवा विशिष्टीकरण, पारदर्शी, अनुमानयोग्य र क्षमतामा आधारित वृत्ति विकास प्रणालीको प्रवर्द्धन लगायतका विषयमा आवश्यक नीतिगत व्यवस्थाको लागि तालुक मन्त्रालय र नेपाल सरकारसँग सार्थक पहल गरिने बताउनुभयो । साथै विश्वव्यापी अपराध चुनौती तथा जोखिमहरूको न्यूनीकरण गर्न समयानुकूल प्रविधिको विकास, क्षमता अभिवृद्धि, सुदृढ नीतिगत तथा कानुनी व्यवस्था, स्रोत साधनको व्यवस्थाको सन्दर्भमा तालुक गृह मन्त्रालय तथा नेपाल सरकारबाट सदैव सहयोग र निरन्तर मार्गदर्शन हुने अपेक्षा र विश्वास लिएको समेत उहाँले बताउनुभयो । समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, नेपाल प्रहरी प्रधान कार्यालय तथा उपत्यकास्थित वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरूको उपस्थितिको साथै प्रदेश प्रहरी कार्यालयहरूका प्रमुखहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरूका प्रमुखहरू, शिक्षालयका प्राचार्यहरू, प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखहरू, जिल्ला प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी विशेष सुरक्षा गणका प्रमुखहरू, प्रदेश प्रहरी गणका प्रमुखहरूको समेत भर्चुअल रूपमा उपस्थिति रहेको थियो ।  

नागरिकको सेवामा पूर्णरूपमा समर्पित भई कार्यसम्पादन गर्नुपर्ने- प्रहरी महानिरीक्षक दान बहादुर कार्की
२०८३-०७-११

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले समाजमा देखिएका जस्तो सुकै चुनौतीहरूको सामना गर्दै शान्ति सुव्यवस्था कायम गर्न थप प्रभावकारी प्रहरी परिचालन गर्नुका साथै नागरिकहरूको गुनासोको उचित सम्बोधन गरी नागरिकको सेवामा पूर्णरूपमा समर्पित भई कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो ।  नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा नजिकिँदै गरेको महान चाडपर्व दिपावली, नेपाल सम्वत्, छठ लगायतका पर्वहरूको समयमा अपनाउनुपर्ने सुरक्षा संवेदनशीलता एवम् समसामयिक विषयवस्तुका सम्बन्धमा बुधबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कार्कीले उक्त कुरा बताउनुभएको हो ।  प्रहरी महानिरीक्षक कार्कीले चाडपर्वहरूको समयमा हुन सक्ने लुटपाट, चोरी लगायत कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरूलाई समयमै सम्बोधन गर्न चाडपर्वहरू लक्षित विशेष सुरक्षा योजना अवलम्बन गरी प्रभावकारी रूपमा प्रहरी परिचालन गर्नुपर्ने बताउनुभएको छ । विशेष गरी चाडपर्वहरूको समयमा सवारी दुर्घटना न्यूनीकरणको लागि सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी सवारी साधनको यान्त्रिक चेकजाँच, लापसे, मापसे, ओभरलोड लगायतको गतिविधि नियन्त्रणमा विशेष जोड दिँदै यात्रुहरूको सहज र सुरक्षित आवागमनको व्यवस्था मिलाउनुपर्ने उहाँले बताउनुभयो । ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारबाहीको साथसाथै ट्राफिक नियम सम्बन्धी चेतनामुलक सन्देश समेत प्रवाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । प्रहरी महानिरीक्षक कार्कीले सीमा नाकामा हुनसक्ने आपराधिक गतिविधि एवम् तस्करी नियन्त्रण र फरार प्रतिवादी पक्राउलाई समेत प्राथमिकतामा राखी थप सक्रिय भई कार्यसम्पादन गर्नका लागि सूचना संकलन तथा विश्लेषणमा प्रभावकारी प्रहरी परिचालन गर्नुपर्ने बताउनुभयो । चाडपर्वको समयमा जुवातास, पटका लगायतका विष्फोटक पदार्थको कारोबार तथा सामाजिक सद्भावमा खलल पार्न सक्ने कुनै पनि गतिविधि नियन्त्रण गर्न प्रहरी कर्मचारीहरू अझ सक्रिय रूपमा प्रस्तुत हुनुपर्ने उहाँले   बताउनुभयो । आ-आफ्नो जिम्मेवार क्षेत्रहरूमा सुरक्षा व्यवस्थापनको निम्ति आवश्यक सुरक्षा योजना निर्माणका साथै स्थानीय तह एवम् सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी व्यावसायिक, उत्तरदायी एवम् जवाफदेही प्रहरी सेवा प्रवाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।   प्रहरी महानिरीक्षक कार्कीले काठमाडौंमा सञ्चालन भइरहेको नेपाल प्रिमियर लिगको सुरक्षा व्यवस्थापनमा कुनै पनि त्रुटी नहुने गरी कार्य गर्नुपर्ने उल्लेख गर्दै उक्त प्रतियोगिता अवधिमा हुनसक्ने अनलाइन बेटिङ लगायतका गतिविधि नियन्त्रण गर्न उपलब्ध प्रविधिको उच्चतम् प्रयोग गर्दै संलग्नलाई ‍कानुनी दायरामा ल्याउन निर्देशन दिनुभयो । आगामी बिहीबार देखि देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी तथा भारी वर्षाको सम्भावनालाई मध्यनजर गरी सम्भावित जोखिम स्थलहरूको पहिचान गरी उच्च सतर्कता अपनाई पूर्वतयारी सहित प्रभावकारी रूपमा प्रहरी परिचालन गर्नुपर्ने उहाँले बताउनुभयो । विभिन्न स्थानमा रहेका होल्डिङ सेन्टरहरूमा रहेका महिला, बालबालिका तथा ज्येष्ट नागरिकहरू विरूद्ध हुनसक्ने आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न समेत संवेदनशील भई कार्य गर्नुपर्ने उहाँले बताउनुभयो ।प्रहरी महानिरीक्षक कार्कीले व्यावसायिक मर्यादा र अनुशासनको पूर्ण पालना गरी प्रहरी कर्मचारीहरूले सामाजिक सञ्जालको प्रयोगमा थप संवेदनशील हुनुपर्ने बताउनुभयो । व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सांगठनिक उद्देश्य एवम् लक्ष्य प्राप्तिको लागि सबै प्रहरी कर्मचारीहरू सामुहिक भावनाका साथ प्रतिवद्ध हुनुपर्ने बताउँदै गैरव्यावसायिक क्रियाकलापमा संलग्न प्रहरी कर्मचारीहरूलाई कानुनी दायरामा ल्याइने समेत उहाँले बताउनुभयो । साथै प्रदेश प्रहरी प्रमुख र जिल्ला प्रहरी प्रमुखहरूले आ-आफ्नो जिम्मेवार क्षेत्रको अनुगमन, सुपरीवेक्षण र निरीक्षण गरी भएका कमी कमजोरी र त्रुटीहरूलाई समयमै सुधार गर्नुपर्ने बताउँदै आफू मातहतका सबै प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउँदै उत्कृष्ट कार्यसम्पादन गर्न थप नवीनतम् कार्ययोजना ल्याउन समेत उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशिल सिंह राठौर एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयहरूका प्रमुखहरूले आ-आफ्नो क्षेत्रको शान्ति सुरक्षा सम्बन्धी जानकारी दिनुभएको थियो ।  कार्यक्रममा केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्ले, काठमाडौं उपत्यका प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू, जिल्ला प्रहरी परिसरहरू र जिल्ला प्रहरी कार्यालयहरू एवम् मातहत मुद्दा चल्ने इकाईसम्मका कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

प्रहरी महानिरीक्षक दान बहादुर कार्कीद्वारा टीका तथा प्रसाद प्रदान
२०८३-०७-०५

काठमाडौं, प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले बडा दसैं २०८३ को अवसरमा बिहीबार सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई टीका लगाइदिनुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको निवासमा उपस्थित महानुभावहरूलाई प्रहरी महानिरीक्षक कार्कीले टीका तथा जमरा लगाईदिनुका साथै सुख, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना समेत गर्नुभयो । उक्त अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती नविना खत्री कार्कीले टीका ग्रहणका लागि उपस्थित महानुभावहरूलाई जमरा र प्रसाद प्रदान गर्नुभएको थियो । ईच्छुक प्रहरी कर्मचारीहरूलाई टीका लगाउनको लागि बिहान १० बजे देखि दिउँसो १३:०० बजेसम्मको समय तोकिएको थियो । टीका तथा प्रसाद ग्रहणका लागि प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरू, पूर्व प्रहरी कर्मचारीहरू, प्रहरी अधिकृत तथा जवानहरू एवम् प्रहरीका परिवारहरू समेतको उपस्थिती रहेको थियो । टीका ग्रहण कार्यक्रममा विजया दशमीको शुभकामना समेत आदानप्रदान गरिएको थियो ।